काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरूलाई भेटेर दर्ता प्रक्रियाका झन्झट अन्त्य गर्न आग्रह गरेका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित छलफलमा चेम्बर प्रतिनिधिहरूले उद्योग तथा वाणिज्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार तथा सहजीकरण गर्न आवश्यक रहेको जनाएका हुन् ।
उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्यका लागि पहल हुनु आवश्यक छ ।’
‘उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका फरक–फरक निकायमा दर्ता गर्न दौडनुपर्ने अवस्था अन्त्य नगरी औद्योगिकरण तथा उद्यमशीलताको विकास हुँदैन’, चेम्बरका अध्यक्ष श्रेष्ठले भने ।
विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने सरकारको निर्णयमा आसातीत प्रगति नहुँदा उद्योगी व्यवसायीहरूलाई यसले उत्साही बनाउन नसकेको उनले बताए । रुग्ण उद्योगहरू सञ्चालन तथा व्यवस्थापनमा पनि गम्भीरतापूर्वक कार्य गर्न उनले आग्रह गरे ।
‘उद्योग व्यवसायको दर्ता प्रक्रियालाई छोट्याएर सरल बनाउन हामी लागिरहेका छौँ’, उद्योग सचिव पोखरेलले भने । विशेष आर्थिक क्षेत्र (सेज) सरकारको महत्वाकांक्षी कार्यक्रम भएको सचिव पोखरेलले दाबी गरे । यस्तै, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेट्दै चेम्बरका अध्यक्ष श्रेष्ठले आयात निर्यातको प्रक्रियालाई सजिलो बनाउन आग्रह गरे ।
छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेशकुमार अग्रवाल लगायतको उपस्थिति थियो ।