काठमाडौं । गत बिहीबार ९० अंकले उछालिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरी ओरालो लागेको छ । गतसाता ३ दिन ओरालो र २ दिन उकालो चढेर सातामा ४७ अंकले घटेको बजार आइतबार झनै ओरालो लागेको छ ।
त्यसअघिको सातामा आइतबार हालसम्मै उच्च २६४० अंकमा पुगेको बजार आइतबार आइपुग्दा १६५ अंकको गिरावट देखिएको छ । गत दुई साता नै बजार सूचक निकै अस्थिर देखिएको छ । ह्वात्तै घट्ने र ह्वात्तै बढ्ने प्रक्रियाले निरन्तरता पाएको छ । खासगरी, राजनीतिक अस्थिरताको मौकालाई चौका हान्ने दाउमा रहेका धितोपत्र दलाल व्यवसायी (ब्रोकर) केही ठूला लगानीकर्ताहरुले बजारलाई घुमाउन खोजिरहेका छन् ।
तर, सर्वसाधरणको पहुँचमा भएको अहिलेको बजारमा उनीहरुले चाहेजस्तो पनि भएको छैन् । गत बिहीबारदेखि बजार बढ्ने र नयाँ उचाइ लिएर २८०० देखि ३००० सम्म पुग्ने पक्षेपणहरु र प्राविधिक विश्लेषणहरु एक पछि अर्को गर्दै सतहमा आए पनि बजार भने आरालो लागेको छ ।
यसले अहिले केही सीमित खेलाडीले चाहेर मात्रै बजार घट्ने वा बढ्ने हुँदैन भन्ने देखाउँछ । यद्यपि, पछिल्ला दिनहरुमा कारोबार रकम घट्नुले सेयर सूचक अझै घट्छ कि भन्ने आंशकाहरु आम लगानीकर्ताहरुमा छ । र त्यसैको प्रभाव बजारमा पनि देखिन्छ । यस्तो बेलामा साना लगानीकर्ता प्यानिक सेलमा उत्रिन्छन् । र बजार झनै खच्किन्छ ।
आइतबार पनि सुरुमा बजारमा तीब्र उतार चढाव देखिन्छ । तर, पछि विस्तारै निरन्तर घटेको बजार अन्तिम समयमा केही सम्हालिएर बन्द भएको छ । गत बिहीबार २५०६ बन्द भएको सूचक आइतबार बजार खुल्नासाथ २५२६ सम्म पुगेको थियो । तर, १५ मिनेट भित्रै बजार घटेर २४८२ मा झर्यो । फेरी लगत्तै बजार बढ्न थाल्यो र आधा घण्टामै २५१४ सम्म पुग्यो । त्यसपछि फेरी बजार घटेर सामान्य उतार चढाव लिँदै अन्तिमसम्म २०७३ मा कारोबार भए पनि अन्तिम मिनेटमा भने २०८५ मा चढेर बजार बन्द भयो । यसले लगानीकर्ताहरुमा बेच्ने र किन्नेबीच अन्यौल रहेको र पर्ख र हेर को अवस्थामा राखेको बुझ्न सकिन्छ ।
खासगरी, सरकार परिवर्तनको मुद्दालाई लगानीकर्ताहरुले कसरी सम्बोधन हुन्छ भनेर पर्खिरहेका छन् । यद्यपि, राजनीति बाहेक अहिले बजार बढ्ने वा घट्ने कुनै कारण छैन । बरु तेस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याजको आधारदर (बेसरेट) झनै घट्ने र त्यसले समग्रमा ब्याजदर घटाउने प्रक्षेपण भइरहेका छन । लगानीयोग्य रकमको अभाव अझै एक वर्षलाई हुने सम्भावना छैन ।
राजनीतिक अन्यौलताकै कारणले लगानीका अन्य क्षेत्रहरुमा पनि पर्याप्त वातावरण पनिसकेको छैन । सूचीकृत कम्पनीहरुको नाफामा तुलनात्मक रुपमा घट्ने स्थिति पनि छैन् र अधिकांश क्षेत्रको व्यवसाय बढि नै रहेको छ । तर, लगानीको प्रतिफल प्राप्त गर्ने हिसावले भने यो समय सेयर लगानीकर्ताका लागि थारो गाइ पालेजस्तै हो । किनभने, लाभांश लिन भदौ कुर्नुपर्छ । सामान्यतय यो समय बजार सुस्ताउने समय हो ।
आइतबार ५ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जबकि, कुनै समय पौने १० अर्बसम्म कारोबार भएको थियो । २१ अंकले बजार घटे पनि चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभ्लपर्स, रैराङ हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन् । यद्यपि, घट्ने कम्पनीको सेयर मूल्य भने अधिकतम साढे ५ प्रतिशतले गिरावट आएको छ । र सबैभन्दा धेरै सेयर मूल्य नेसनल हाइड्रोपावरको ५.२१ घटेको छ । आइतबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्टक्चर बैंकको ४२ करोड ७८ लाखको कारोबार भएको छ भने त्यसलाई पछ्याउँदै नेपाल बैंकले ३९ करोड ७० लाखको कारोबार गरेको छ ।