काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना अलपत्र परेको छ । प्राधिकरणको नयाँ व्यवस्थापनले चासो नदिएपछि आईपीओ निष्कासनको योजना अघि नबढेको हो ।
यसअघि जारी पुँजीको २५ प्रतिशतसम्म आईपीओ निष्कासन गर्ने कुरा चले पनि प्राधिकरणले यस विषयमा प्रक्रिया अघि नबढाएको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । ‘त्यसबेला कुरा भएको थियो, अहिले यस विषयमा कुनै काम अघि बढाएका छैनौं’ उनले भने ।
याे पनि पढ्नुहाेस, विद्युत प्राधिकरणले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने, ऐन परिमार्जन हुँदै
अर्बाैं रुपैयाँ सञ्चित नोक्सानमा रहेको प्राधिकरण नाफामा जान थालेपछि सरकारले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारी गरेको थियो । अघिल्लो आर्थिक वर्षमा विद्युत् प्राधिकरणले ११ अर्ब रुपैयाँ हाराहारीमा नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।
२०७६ साउन २८ गते विद्युत् प्राधिकरणले एक वर्षमा गरेका कामको प्रगति सार्वजनिक गर्दै तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पूर्ण स्वामित्वको प्राधिकरणलाई पुनर्संरचना गरेर सर्वसाधारणलाई सेयर निष्कासन गर्ने बताएका थिए ।
उनले आईपीओ निष्कासन गर्न विद्युत् प्राधिकरण ऐन नै परिमार्जन गर्ने आश्वासनसमेत दिएका थिए । सर्वसाधारणलाई सेयर निष्कासन गर्नका लागि सरकारले विद्युत् प्राधिकरण ऐनमा परिमार्जन गरी संरचनामा परिवर्तन गर्न निर्देशन दिएका थिए ।
त्यसबेला उनले सर्वसाधारणलाई सेयर बिक्री नगर्दासम्म सरकारको स्वामित्व हुने भएकाले घटाउन लागेको उनले जानकारी गराएका थिए । यस्तै, तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आईपीओ निष्कासन गर्ने बताउँदै आएका थिए ।
अहिले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत २१ वटा जलविद्युत् आयोजना छनोट गरी अघि बढाएको छ । ती जलविद्युत् आयोजनामा सर्वसाधारण जनताको सेयर लगानी जुटाइने सरकारको लक्ष्य छ ।
यस्तै प्राधिकरणले स्थापना गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत् कम्पनी लिमिटेड, मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनीलगायत अन्यले सेयर निष्कासन गरिसकेका छन् ।