सेयर बजारमा लगानी: भुइँको टिप्न खोज्दा खल्तीको गुम्ने अवस्था आउन दिनुहुँदैन 

account_box लोकबहादुर चापागाईं ,
प्रकाशित: २०७७ चैत १०, मङ्गलबार,०८:४५:AM  
सेयर बजारमा लगानी: भुइँको टिप्न खोज्दा खल्तीको गुम्ने अवस्था आउन दिनुहुँदैन 

२०७७ माघ १९ मा २४०८ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) सूचक १५ कार्यदिनमा अर्थात् फागुन ९ गते हालसम्मकै उच्च २६४० अंकमा पुग्यो । एक वर्षदेखि निरन्तर बढेको बजारले हालसम्मको उच्च अंक कायम गरेपछि भने बजार विस्तारै झरिरहेको छ र चैत १ गते आइपुग्दा फेरि २४०८ कै अंकमा आइपुगेको छ । अर्थात् उच्च विन्दुबाट बजार घट्दा १३ कार्यदिन लिएर २ सय ३३ अंकले ओरालो लागेको छ । सरसर्ती हेर्दा जुन रफ्तारमा बजार सूचक बढेको थियो त्यही रफ्तारमा घट्यो पनि । 

सेयर बजार जहिले पनि राजनीतिकसँग अन्तरसम्बन्धित हुन्छ । राजनीतिक माहौल के होला भनेर कतिपय लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । कतिपय लगानीकर्ता राजनीतिक परिवर्तनले बजार अझै घट्ने हो कि भन्ने डरले धमाधम सेयर बेचेर बाहिरिन खोजिरहेको आभाष मिल्छ । खासगरी अर्थ मन्त्रालयबाट डा.युुवराज खतिवडा बाहिरिएर विष्णुप्रसाद पौडेल भित्रिएसँगै बजारमा उछाल नै आएको मान्न सकिन्छ । 

गत पुस ५ को प्रतिनिधिसभा विघटनलगत्तै बजार झरे पनि त्यसपछि उचालिएको बजार प्रतिनिधिसभाको पुनस्र्थापना, नेकपा विवादलाई किनारा लगाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुुगेको सर्वोच्च अदालतले निर्णय सुनाएसँगै बजार धेरै तल झरिसकेको छ । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सेयर बजारप्रति सकारात्मक धारणा बनाएकाले ओली सरकार ढल्न लाग्यो भनेर हल्ला मच्चाएर सेयर बजार घटाउन कोसिस पनि गरिएको छ । 

कम्पनी विशेषको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण, वित्तीय सूचक, प्रतिसेयर आम्दानी, किताबी मूल्य, मूल्य आम्दानी अनुपात, सञ्चालक समिति, वृद्धिका अवस्थासँगै कम चुक्ता पुँजी भएको, सेयर कर्नरिङ गर्न सकिने, स–सानो अफवाहमै बजारमा चलखेल गर्न सकिने आधारभूत पक्षहरूलाई लगानीकर्ताले ख्याल गर्नुपर्छ ।

ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि उल्टो हुन्छ । केही समययता ब्याजदर बढ्ने हौवा व्यापक छ । तर, बैंकरहरू तत्काल ब्याजदर बढ्ने सम्भावना छैन भनिरहेका छन् । कोरोना कहरबाट विस्तारै छुटकारा मिल्ने वातावरण बनेसँगै बैंकहरूले आक्रामक ढंगले कर्जा लगानी गरिरहेका छन् ।

कर्जाको अनुपातमा निक्षेप संकलन सुस्त छ । यसले स्रोत व्यवस्थापनमा समस्या हुने र लगानीयोग्य रकम (तरलता संकट) आउने प्रक्षेपणहरू भइरहेका छन् । सामान्यतया नेपालमा तरलता संकट पुुसदेखि जेठसम्म हुने गरेको पाइन्छ । यसपटकलाई तरलता संकट अधिक हुने समय करिब सकिने रफ्तारमा छ । त्यसैले तरलता संकट हुुँदा पनि आगामी पुस लाग्नुपर्ने अवस्था छ । 

खासमा सेयर बजार अथाह गहिरो समुद्र हो । यसको मापन अंक हेरेर मात्र हुँदैन । घट्यो वा बढ्यो भन्ने शब्दावली दैनन्दिन रूपमा प्रयोग भए पनि सेयर बजारको मुख्य अंग भने त्यो होइन । घट्ने बढ्ने त एउटा प्रक्रिया मात्रै हो । त्यसैले त बजार घट्दा पनि स्मार्ट लगानीकर्ताले कमाई रहेका हुन्छन् भने कतिपय लगानीकर्ताले बढ्दो बजारमा पनि गुमाइरहेका हुन्छन् । बजार घटबढभन्दा पनि सेयर बजारको मन्त्र लगानीकर्ताको प्रकृति र सेयर होल्ड गर्न सक्ने क्षमता पहिल्याउनु हो ।

अल्पकालीन लगानीकर्ता (कतिपयले लगानीकर्ता नमानेर ‘टे«डर’ भन्ने गर्छन्) बजारमा हुने उतारचढावबाटै नाफा सिर्जना गर्न खोज्छ । वास्तविक ट्रेडरले थोरै नाफामै पनि चित्त बुुझाउँछन् र धेरै नाफा आउँछ भनेर कुर्ने गर्दैनन् । यस्ता लगानीकर्तालाई घट्दो बजारले समस्यामा पारेको हुन सक्छ । तर, दीर्घकालीन लगानी लिएर बजार प्रवेश गरेका लगानीकर्ताहरू बजार घट्दा वा बढ्दा पनि सेयर बिक्री नगरी ‘होल्ड गर्ने क्षमता राख्छन् । यस्ता लगानीकर्ताहरू नआत्तिकन कम्पनीहरूबाट आउने लाभांश खाएर बस्ने गर्छन् । 

तीब्र उतारचढाव हुने वा बढ्दो बजारमा फस्ने सामान्य र साना लगानीकर्ता बढी हुन्छन् । पुराना र अनुभवी लगानीहरूले आफूलाई जसरी पनि सुरक्षित अवतरण गराउँछन् । लगानीकर्तासँग लगानीको आफ्नै ‘ट्रिक’, इतिहासका घटनाको सम्झना गर्दै धैर्य गर्न सक्ने क्षमता, उचित समयको पर्खाइ तथा पहिचान गर्न सक्ने क्षमता विकास गरेमा सेयर बजारबाट मनग्गे आम्दानी प्राप्त गर्न सकिन्छ । सँगै कम्पनीको वास्तविक अवस्था अध्ययन र उक्साहटमा नभई आफ्नो क्षमताअनुकूल लगानीको ‘ब्यारोमिटर’ बनाउनु हो । अन्यथा सेयर बजार पनि जुवा वा लंगुरबुर्जाभन्दा फरक हुँदैन । 

भनिन्छ, अन्तिम सास रहुञ्जेल आश रहन्छ । सेयर बजारको अवस्था पनि त्यस्तै हो । बजार हुुरुरु घटे पनि अन्तिम समयमा भए पनि बढ्छ कि भन्ने आशा पालेर बेच्ने पर्खिरहेको भेटिन्छ भने कतिपय बेला अझै मूल्य घट्छ भनेर पर्खिँदा–पर्खिँदै मूल्यले नेटो काटिसकेको हुन्छ । सेयर बजार होस् वा अन्य क्षेत्र लगानीकर्ताले आफ्नो गल्ती भन्दैनन् वा लुकाउँछन् । तर, पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न किसिमका उपद्रवहरू उरालेको पाइन्छ । कतिपय लगानीकर्ता तिनै उपद्रवहरूको पछि लागेर फसेको पनि देखिन्छ ।  

लगानीकर्तासँग लगानीको आफ्नै ‘ट्रिक’, इतिहासका घटनाको सम्झना गर्दै धैर्य गर्न सक्ने क्षमता, उचित समयको पर्खाइ तथा पहिचान गर्न सक्ने क्षमता विकास गरेमा सेयर बजारबाट मनग्गे आम्दानी प्राप्त गर्न सकिन्छ ।

कम्पनी विशेषको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण, वित्तीय सूचक, प्रतिसेयर आम्दानी, किताबी मूल्य, मूल्य आम्दानी अनुपात, सञ्चालक समिति, वृद्धिको अवस्था हेर्नुपर्छ । तर, सबै कुराको निर्धारण वित्तीय विवरणले मात्रै गर्दैन । कतिपय कम्पनीका सतहमा देखिने वित्तीय विवरणले कम्पनीको वास्तविक अवस्था चित्रण गर्दैन ।

वास्तविक स्थिति जान्न थप विवरणहरू हेर्नुपर्ने आवश्यकता हुन्छ । यसका अतिरिक्त लगानीकर्ताले कम चुक्ता पुँजी भएको, सेयर कर्नरिङ गर्न सकिने, स–सानो अफवाहमै बजारमा चलखेल गर्न सकिने कम्पनी अर्को प्राथमिकताको विषय हो । सेयर बजारमा जसले चलखेल गर्न सक्छ, उसैले कमाउँछ । स्वार्थ समूह हाबी भएको बजारमा सोझो ढंगले लगानी गरेर कमाउँछु भन्ने सपना नदेखे पनि हुन्छ । 

अहिले सेयर बजारमा क्रियाशील लगानीकर्ताका नाममा आधादर्जन संघ–संगठन बनेका छन् । ती संगठनहरू र तिनका नेता भनिएकाहरू पनि बजार प्रभावित हुने गरी हल्ला मच्चाउन तल्लिन छन् । यी संगठनहरू सेलीब्रेटी बन्न, सरकार, नियामक र ब्रोकरहरूसँग नजिक बन्ने धुनमा केन्द्रित छन्  । कतिपय बेला तिनै संगठनलाई उल्झाएर नियामकहरूले लगानीकर्तालाई लोप्पा खुवाइरहेको पाइन्छ ।

अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, लगानीकर्ता नेता तथा ब्रोकर सबै आ–आफ्नो स्वार्थ पूर्तिमै सक्रिय रहेका कारण साना लगानीकर्ता अन्यौलको अवस्थामा रहने र सेयर बजारको उतारचढावमा छिटो हौसिने÷आतंकित (प्यानिक) हुने गरेको पनि भेटिन्छ । अधिक बजार बढ्दा वा घट्दा (तीब्र चलखेल हुँदा) बढी सक्रिय देखिनुपर्ने लगानीकर्ता संगठन र नियामकहरू लुप्त प्रायः हुन्छन् । केही लगानीकर्ताका नेता र ब्रोकरको कब्जामा भएको बजारमा उनीहरूको हिस्सा बन्न सके सेयरबाट कमाउन सकिन्छ, नभए गुमाउने मात्रै हो । 

घटाउन चाहनेहरूले अनेक जुक्ति लगाइरहेकै हुन्छन् । सेयर खरिद बिक्री रोकेर बसेका हुन्छन् । सेयर बजार उठाउन चाहनेहरू पनि अनेक तिकडम गरिरहेका छन् । पछिल्लो समयको कारोबार रकमले यसको पुष्टि पनि गर्छ । तर, सफलता हात लागिरहेको देखिँदैन । एकथरी लगानीकर्ता आफ्नो विवेकमा भर नपरी सुनेको र हल्लाको पछि लागेर सेयर खरिद बिक्रीमा सहभागी भएका हुन्छन् ।

कम्पनीहरूको वास्तविक अध्ययन नगरी लहैलहैमा लागेर वा हल्लाको भरमा सेयर किन्ने लगानीकर्तालाई धेरै पटक समस्या भएको छ । जब सेयर बजारमा कारोबार र सूचकमा छलाङ मार्न थाल्छ, त्यतिबेला अनेकन अफवाह ल्याइन्छ । बजारमा आउने अफवाहरू चिर्ने क्षमता भएका लगानीकर्ताले नै सेयर बजारमा बाजी मार्छन् । 

एकथरी लगानीकर्तालाई घट्दो बजारमा थप दबाब सिर्जना हुन्छ, जसले ऋण लिएर सेयर किनेका हुन्छन् । त्यस्ता लगानीकर्तालाई बैंक ब्याजदेखि थप सुरक्षण दिनुुपर्नेसम्मको अवस्था आउने भएकाले ती लगानीकर्तालाई घटेको बजारमा पनि बिक्री गर्नुपर्ने दबाब हुनसक्छ । तर, जसले आफ्नै पैसा प्रयोग गरेको हुन्छ उनीहरूलाई कुनै प्रकारको समस्या हुँदैन । बिनाऋण सेयर बजारमा क्रियाशील लगानीकर्ताको पोर्टफोलियोको अधिकांश कम्पनीहरूको वृद्धि राम्रै भइरहेको देखिन्छ र कम्पनीहरूले दिने वार्षिक लाभांश पनि निक्षेपको वार्षिक औसत ब्याजदरभन्दा धेरै छ । यसले बजार घट्दा पनि घाटा बढाउन दिएको छैन । 

बिनाऋण सेयर बजारमा क्रियाशील लगानीकर्ताको पोर्टफोलियोको अधिकांश कम्पनीहरूको वृद्धि राम्रै भइरहेको देखिन्छ र कम्पनीहरूले दिने वार्षिक लाभांश पनि निक्षेपको वार्षिक औसत ब्याजदरभन्दा धेरै छ । यसले बजार घट्दा पनि घाटा बढाउन दिएको हुँदैन । 

लगानीकर्ताले सधंै प्रतिफलको आशा गरेका हुन्छन् । लगानीकर्ताले प्रतिफलको आशा गर्नु अन्यथा पनि होइन । तर, सधंै नाफा आउँछ भन्ने हुँदैहुँदैन । त्यसमाथि सेयर बजारमा त झनै हुँदैन । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट नियमित दिन मिल्ने/सकिने अधिक कम्पनीले लाभांश दिइसकेका छन् । त्यसैले ती कम्पनीहरूले फेरि चालू वर्षको नाफाबाट अर्को वर्षमा लाभांश दिने हुन् । सूचीकृत कम्पनीहरूले गत वर्षको तुलनामा चालू वर्ष राम्रो आम्दानी गर्न खोजिरहेको देखिन्छ र त्यसको संकेतहरू देखिइरहेका छन् । कोरोना कहरबाट उठ्दै गरेका कम्पनीहरूको आम्दानीमा वृद्धि हुनुु भनेको कुनै न कुनै रूपमा लगानीकर्ताले पनि लाभ हासिल गर्नु हो ।  

पछिल्लो समय सेयर बजारमा केही लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरू मिलेर संस्थागत लगानीको स्थिति बनिरहेको छ । यस्तो लगानीले बजार आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको छ र तिनै लगानीकर्ताले आफू आफूमा सट्टेबाजी गर्ने प्रवृत्ति अधिक छ । यस्ता लगानीकर्ता सट्टेबाजी गर्ने प्रक्रियामा कहिलेकाहीँ विभिन्न सञ्चारमाध्यमको पनि प्रयोग गर्ने गर्छन् ।

कोरोना (कोभिड–१९)का कारण लगानीका अन्य क्षेत्रहरू खुम्चिएपछि कोरोनाकालपछि खुलेको बजारमा थप लगानीकर्ताहरू सेयर बजारप्रति आकर्षित भएको पाइन्छ । त्यसैले चालू वर्षको सुरुदेखि नै बजार निरन्तर बढेकै हो । तर, अवस्था सामान्य हुँदै गएपछि मानिसहरू आ–आफ्ना पूर्ववत् व्यवसायहरू पनि सुचारु भएका छन् । अन्य पेशा÷व्यवसाय सुचारु भएसँगै लगानीकर्ताहरूको मनोभाव बजार घट्छ कि भन्ने भावनाले पनि काम गरेको छ । यद्यपि अहिलेको अधिक कारोबार अनलाइनमार्फत र विश्वका जुुनसुकै ठाउँमा बसेर पनि कारोबार गर्न सकिने भएकाले अत्यासिलो अवस्था भने होइन ।

लगानी व्यवस्थापनको काम धेरै जटिल र कठिन हुन्छ । यसका लागि ठूलो टिम, साधन र स्रोत पनि चाहिन्छ । खासगरी साना लगानीकर्ताले आफू एक्लैले लगानी व्यवस्थापन गर्नुभन्दा व्यावसायिक व्यक्ति÷संस्थाहरूलाई जिम्मा दिनु उपयुक्त हुन्छ । त्यही भएर सेयरका सामान्य लगानीकर्ताका लागि सामूहिक लगानी कोषको अवधारणा अघि सारिएको हो । तर, अलि–अलि बजारबाट लाभ लिन थाले भने सेयर बजारका लगानीकर्ताहरूमा आफू मात्र सही र सक्षम भएको घमण्ड पलाउँछ । जसले कालान्तरमा स्रोतविहीन बन्ने अवस्था सिर्जना गरी दिन्छ ।

(क्यापिटल म्यागजिनबाट) 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top