मर्जर नीतिले अब्बल बनेको ग्लोबल आईएमई बैंकको लोभलाग्दो प्रगति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २१, शनिबार,०९:५८:AM  
मर्जर नीतिले अब्बल बनेको ग्लोबल आईएमई बैंकको लोभलाग्दो प्रगति 

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको एकआपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्वायर) नीतिलाई पूर्ण सहयोग गर्दै आएको ग्लोबल आईएमई बैंकले विगतमा जस्तै चालू आर्थिक वर्षमा पनि लोभलाग्दो नाफा हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरस महामारीका बीचमा पनि वित्तीय सूचकलाई सबल बनाई अब्बल बैंक बन्ने सोचका साथ ग्लोबल आईएमई अघि बढेको छ ।

जनता बैंकलाई आफूमा समाहित गरेपछि चुक्ता पुँजी, निक्षेप परिचालन, कर्जा लगानी, सञ्चित कोष, नाफा र सेयरधनीलाई दिने प्रतिफलका आधारमा ग्लोबल आईएमई सबल बैंक भएको छ । जनता बैंकलाई आफूमा समाहित गरेपछि ग्लोबल आईएमईको बजार हिस्सा पनि बढ्दै गएको छ ।

गत असारसम्म २७ वटा वाणिज्य बैंकमध्ये ग्लोबलको निक्षेप परिचालनमा बजार हिस्सा बढेर ५.७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष २०७६ असारमा निक्षेप परिचालनको हिस्सा ३.७१ प्रतिशत थियो । यस्तै कर्जा लगानीको हिस्सा दोब्बर बढेर ६.११ प्रतिशत पुगेको छ । २०७६ को असारसम्म कर्जा लगानीको हिस्सा ३.९१ प्रतिशत मात्र थियो । बैंकले विस्तारै पहुँच र क्षमता दुवै बढाउँदै लगेको तथ्यांकले देखाउँछ । यसबीचमा बैंकले लगानीकर्ताको विश्वास पनि जित्दै गएको छ ।

कोरोना महामारीका बीचमा पनि बैंकले लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएको छ । गत आर्थिक वर्ष ०७६/०७७ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश वितरण गरिसकेको छ । १४ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । सबल बन्दै गएको ग्लोबल आईएमईले  यो वर्ष खुदनाफा ५८.९० प्रतिशत बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । नाफा बढेपछि बैंकले सेयरधनीलाई दिने लाभांशमा पनि निश्चय नै वृद्धि हुनेछ । चालू आर्थिक वर्ष ०७७/०७८ मा ५ अर्ब ७८ करोड ९५ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण बैंकले गरेको छ ।

कोरोना कहरका बीचमा गत आर्थिक वर्ष ०७६/०७७ मा बैंकले ३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले २ अर्ब ६६ करोड रुपैयाँ बढी खुदनाफा हुने अनुमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । महामारीले  गर्दा व्यवसाय अझै विस्तार हुन नसकेको र कोभिडको जोखिम कायम रहेका कारण बैंकले प्रक्षेपण गरेको वित्तीय विवरणमा हेरफेर हुने संभावना छ । यद्यपि बैंकले यो वर्ष  राम्रो प्रगति गर्ने देखिएको छ । 

बैंकले ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्ष ०७८/०७९ मा खुदनाफा १६.६० प्रतिशतले बढेर ६ अर्ब ७५ करोड रुपैयाँ हुने अनुमान गरेको छ । यस्तै आर्थिक वर्ष ०७९/०८० मा नाफा १६.२८ प्रतिशतले बढेर ७ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । माथि उल्लेखित नाफाको लक्ष्य पूरा गर्न बैंकले चालू आर्थिक वर्षमा ११ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी हुने अनुमान गरेको छ । यस्तै आव ०७८/०७९ मा १२ अर्ब ७३ करोड र आव ०७९/०८० मा १४ अर्ब २६ करोड रुपैयाँ ब्याज आम्दानी पुग्ने प्रक्षेपण बैंकको छ ।  बैंकले निक्षेप परिचालन, कर्जा सापटी, लगानी र सञ्चालन नाफा वृद्धि हुने आधारमा यो प्रक्षेपण गरेको जनाएको छ ।

यो नाफाका आधारमा बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ पुग्ने अनुमान छ । यद्यपि आगामी २ वर्षमा बैंकको प्रतिसेयर आम्दानी केही खुम्चिने देखिएको छ । आगामी वर्ष २६.२३ र तेस्रो वर्षमा केही बढेर २६.५३ रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १७.९९ रुपैयाँ थियो । यसैगरी प्रतिसेयर खुद सम्पत्ति बढेर १६२.७४ रुपैयाँ पुग्नेछ । यद्यपि आगामी वर्षमा घटेर १५६ रुपैयाँमा झर्नेछ । आर्थिक वर्ष ०७९०८० मा बढेर १५७.५८ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा खुद नेटवर्थ १५१.९५ रुपैयाँ थियो ।

बैंकको जगेडा कोषको आकार बढेर चालू आर्थिक वर्षमा ७ अर्ब ४० करोड, आगामी वर्ष ९ अर्ब १० करोड र ०७९/०८० मा ११ अर्ब २४ करोड रुपैयाँ पुने अनुमान बैंकको छ । विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १४.१६ प्रतिशत रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ । 
यसैगरी चालू आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन १२ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब ६० करोड, आगामी वर्ष १६ प्रतिशतले बढेर २ खर्ब ७६ अर्ब ७८ करोड र आव ०७९/०८० मा पनि १६ प्रतिशतले बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ पुग्ने अनुमान बैंकले गरेको छ ।

यसबीचमा कर्जाको वृद्धि औसतमा १५ प्रतिशतले हुने प्रक्षेपण बैंकको छ । जसअनुसार चालू आर्थिक वर्षमा २ खर्ब २० अर्ब ६३ करोड, आगामी वर्ष २ खर्ब ५३ अर्ब ३१ करोड र आर्थिक वर्ष ०७९/०८० मा २ खर्ब ९१ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । उल्लेखित वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरू हालको वित्तीय बजारको स्थिति, दक्षता र बैंकले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा प्रक्षेपण गरेको लक्ष्य भेट्ने अनुमान ग्लोबलको छ । 

प्रक्षेपित वित्तीय विवरण तयार गर्दा बैंकको भावी योजना, विगतका वर्षहरूको कारोबारमा वृद्धि, बैंकले गरेको आम्दानी, शाखा सञ्जाल विस्तार गर्ने रणनीति, चालू वर्षको प्रगति तथा सरकारद्वारा प्रक्षेपित वित्तीय आँकडालाई आधार मानेको छ ।  बैंकले प्रक्षेपित वित्तीय विवरण तयार गर्दा तलका बुँदाका आधारमा गरेको छ 

१.  बैंकको भावी योजना, विगतका वर्षहरूको कारोबारमा वृद्धि, बैंकले गरेको आम्दानी, शाखा सञ्जाल विस्तार र चालू वर्षको प्रगति तथा सरकारद्वारा प्रक्षेपित वित्तीय आँकडालाई आधार मानेको छ । 

२. बैंकले कर्जा निक्षेप अनुपात, ब्याजदर अन्तर, बैधानिक तरलता अनुपात, अनिवार्य नगद मौज्दात, पुँजीकोष अनुपात तथा निष्क्रिय कर्जा प्रतिशत नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुरूप कायम हुने । 

३. संभावित जोखिम सहज रूपमा बहन गर्न पर्याप्त पुँजी कोष कायम गरिएको तथा मजबुत ग्राहक आधार र व्यवसायमा हासिल गरिएको निरन्तर प्रगतिबाट बैंकिङ उद्योगमा दीर्घकालीन उपस्थिति सुनिश्चित देखिने आधार मानेको छ । 

२०६३ पुस १८ गतेदेखि नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त संस्थाका रूपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । सुरुमा ग्लोबल बैंकको नाममा कारोबार गरेकोमा पछि आईएमई फाइनान्सियल इस्न्टिच्युसन लिमिटेडलाई समाहित गर्दा ग्लोबल आईएमई बैंक बनेको हो । बैंकमा संस्थापक सेयरधनीको ५१.४१ र  बाँकी ४८.५९ प्रतिशत सेयर सर्वसाधारणको स्वामित्व रहेको छ । हाल बैंकले आफ्ना २६९ शाखा, २३ वटा राजस्व संकलन काउन्टर, २४२ एटीएम, २४ वटा एक्सटेन्सन काउन्टर तथा २४५ वटा शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालयमापर्mत सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकिङ वातावरण अत्यन्त प्रतिस्पर्धात्मक छ । देशले अपनाएको खुला आर्थिक नीतिले लगानीकर्ताहरूलाई विभिन्न क्षेत्रमा लगानी गर्ने अवसरहरू प्राप्त भएका छन् । देशको बैंकिङ व्यवसायबीचको प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र हाल सम्मका दिनहरूमा बैंकिङ क्षेत्रले उत्साहजनक सफलता पाइरहेको छ । 

मर्जरका नायक चन्द्र ढकाल

व्यवसायी चन्द्रप्रसाद ढकालले मर्ज र प्राप्ति नीति अवलम्बन गरेर बैंकलाई आज अब्बल बनाएका हुन् । यसको श्रेय पनि उनैलाई  जान्छ । उनी बैंकको अध्यक्ष पनि हुन् । राष्ट्र बैंकले २०७२ सालमा मर्जर नीति लिनु अगावै उनले बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबललाई ठूलो बैंक बनाउन लागेका थिए । २०६९ असार २५ गते अध्यक्ष ढकालले दुईवटा वित्तीय संस्थालाई ग्लोबलमा मर्ज गराए । ढकालले आफ्नै लगानी भएको आईएमई फाइनान्सियल इस्न्टिच्युसन र लर्डबुद्ध फाइनान्सियल इस्न्टिच्युसनलाई मर्ज गराएका थिए । यो नै  ग्लोबलको पहिलो मर्जर थियो । मर्जपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको थियो ।

यसैगरी २०७० असार ३० गते ग्लोबल आईएमईले सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई गाभ्यो । यसपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ पुग्यो । २०७० चैत २६ गते कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेको थियो । बैंकलाई गाभेपछि चुक्तापुँजी बढेर ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ पुगेको थियो ।

ग्लोबल आईएमईले २०७३ फागुन १ गते प्यासेफिक डेभलपमेन्ट बैंकलाई गाभेको थियो । २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक, २०७६ भदौ १८ गते हाथवे फाइनान्स र २०७६ मंसिर २० गते जनता बैंकलाई गाभेको थियो । जनतालाई गाभेपछि ग्लोबल आइएमईको चुक्तापुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ पुगेको थियो । १४ औं वार्षिक साधारणसभाबाट १४ प्रतिशत बोनस सेयर पारित भएपछि बैंकको चुक्तापुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ पुगेको छ । 

ग्लोबल आईएमईमा समाहित भएको रिलायबल डेभलपमेन्ट बैंकले कन्जुमर डेभलपमेन्ट बैंक र शुभलक्ष्मी विकास बैंकलाई गाभेको थियो ।
यस्तै ग्लोबलसँग मर्ज हुनुअघि जनता बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको थियो । जनताले त्रिवेणी विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता डेभलपमेन्ट बैंक र नेपाल आवास फाइनान्स लिमिटेडलाई समाहित गरेको थियो । रिलायबल र जनतामा मर्ज भएका समेत गरी १७ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा गाभिएका छन् । 

तत्कालीन गभर्नर डा. चिरन्जिीवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति लिएपछि ढकालले ‘बिग मर्जर’ गराएर सफल बनाए । २०७२ सालको मौद्रिक नीतिबाट केन्द्रीय बैंकले चुक्ता पुँजी बढाएर वाणिज्य बैंकको ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैयाँ पुर्याएको थियो । त्यसबेला मर्जरमा जानलाई केन्द्रीय बैंकले घुमाउरो बाटोबाट दबाब दिएको थियो । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन र साना वित्तीय संस्थालाई एक्वायर गरेर न्यूनतम चुक्ता पुँजी पुर्याएका थिए ।

तर, ग्लोबल आईएमईले मर्ज र प्राप्तिबाटै चुक्तापुँजी बढाएको छ । ढकालले धेरै बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति प्रक्रियामा सामेल गराएर आज पुँजीगत रूपमा ग्लोबल आईएमईलाई देशकै ठूलो वाणिज्य बैंक बनाए । यस अर्थमा उनी मर्जरका नायक हुन् । चुक्ता पुँजीमा मात्र होइन मर्ज र प्राप्तिमा पनि ग्लोबल आईएमई अग्रपंक्तिमा छ । साना तथा ठूला बैंक तथा वित्तीय संस्थालाई गाभेर ढकालले आज ग्लोबल आइएमईको साम्राज्य खडा गर्न सफल भएका छन् । 

बैंक दर्ता हुँदा ५१ करोड रुपैयाँ चुक्ता पुँजी थियो । त्यसपछि संस्थापकबाट फर्दर कल गरेर १९ करोड थप भई ७० करोड रुपैयाँ पुग्यो । आर्थिक वर्ष ०६५/०६६ मा ३० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासनपछि बैंकको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्यो । आर्थिक वर्ष ०६६०६७ मा २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासनपछि बैैंकको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्यो । 

 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top