बुधबार, असार २ २०७८ ०७:२३ PM

×

अनुपम र रिसभ, जसले रेष्टुराँको मेनुलाई बनाए डिजिटल

images

काठमाडौं । प्रविधिको विकासका कारण पछिल्लो समय नेपालमा पनि हरेक क्षेत्रको डिजिटल कारोबार हुन थालेको छ । तरकारी बजार, सार्वजनिक यातायातका साथै मन्दिरमा भेटी चढाउनसमेत क्युआर कोड राखिएको छ । अब, वित्तीय कारोबार मात्र होइन, रेष्टुराँ र होटलमा आफूलाई मनपर्ने परिकारहरू अर्डर गर्नसमेत क्युआर कोड नै प्रयोग गर्न सकिने भएको छ ।

क्युआर कोडमार्फत अर्डर गर्न सक्ने डिजिटल मेनु बनाउने दुई युवा हुन अनुपम गोयल र रिसभ जैन । केही वर्षअघि विदेशमा जाँदा त्यहाँका रेष्टुराँ र होटलमा क्युआर कोडमार्फत अर्डर लिन सक्ने देखेपछि उनीहरूमा नेपालमा पनि यो सम्भव छ भन्ने सोच पलाएको थियो । दुवै जना विद्यार्थी भएकाले उनीहरूले तत्कालै यो काम गर्न सक्ने अवस्था थिएन । तर, कोभिड–१९ पछि भएको लकडाउनमा भने उनीहरूले आफ्नो आइडियालाई प्रयोग गर्ने अवसर पाए । 

लकडाउनलाई अवसरका रूपमा बदलेर उनीहरूले रेष्टुराँ र होटलको मेनुलाई डिजिटल बनाउने सपना साकार बनाए ‘सजिलो डाइन’ । हुन, त उनीहरू दुवै व्यावसायिक पृष्ठभूमिका हुन् । अनुपम सिवम् सिमेन्ट उद्योगका अध्यक्ष सुरेन्द्रकुमार गोयलका छोरा हुन भने रिसभका बुबा मुनिस जैन कस्मेटिक सामान आयातकर्ता हुन् ।

बुबाको व्यावसायिक विरासत कायम राख्दै नयाँ काम गर्ने सोचका साथ क्युआर कोडको सुरुवात गरिएको उनीहरूको भनाइ छ । बुबाको व्यवसायलाई साथ दिँदै आफ्नै केही नयाँ काम गर्ने सोच बोकेका दुई युवाले अहिले त्रिपुरेश्वरको राधा भवनमा कार्यालय सञ्चालनमा ल्याएका छन् ।
क्युआर कोड राखेका रेष्टुराँमा अब वेटर आएन भनेर पर्खिनु पर्दैन । हतार हुने र छिटो अर्डर चाहिनेहरूको लागि सजिलो डाइन गज्जबको माध्यम बनेको छ ।

‘हामी सबैले होटल गएर आफ्नो अर्डर आइपुग्दासम्म धेरै समय पर्खिएको अनुभव गरेका छौं, सञ्चालक गोयलले भने, कति पटक काम पनि छुटेको हुन्छ, भेट्न बोलाएको मान्छे रिसाएर हिँड्छन्, त्यही समस्यालाई समाधान गर्न सजिलो डाइन ल्याएका हौं ।’

सजिलो डाइनमार्फत खाजा खानाको विवरण हेर्न र अर्डर गर्न मोबाइलबाटै सकिन्छ । ‘होटल तथा रेष्टुराँमा कुन–कुन परिकार छ, कसको मूल्य कति भनेर थाहा पाउन वेटरलाई पर्खिनु पर्दैन ।’ सजिलो डाएनको फाइदाबारे बताउँदै रिसभ भन्छन्, ‘कतिपय अवस्थामा वेटर नहुँदा थप खाना नखाइ ग्राहक हिँड्नु पर्ने तथा पैसा तिर्न पनि पर्खिनु पर्ने समयको बचत हुन्छ ।’ 

हाल काठमाडौंसहित पोखरा, बुटवललगायत नेपाल भरिका पेपे पिजामा सजिलो डाइनको प्रयोग भएको उनिहरू बताउँछन् । त्यस्तै अन्य रेष्टुराँ र होटलहरूमा समेत सजिलो डाइनको क्युआर कोड राखिएको छ । जुनसुकै क्युआर कोडबाट स्क्यान गरेर प्रयोग गर्न सकिन्छ । होटल तथा रेस्टुराँले सजिलो डाएनको प्रयोग बढाएमा एप नै बनाउने उनीहरूको योजना छ ।

यसको प्रयोग खासै महँगो पनि छैन । कुनै पनि होटल तथा रेस्टुराँले सजिलो डाइन प्रयोग गर्न चाहेमा वार्षिक ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । अहिले होटल सब्रिना, वसन्तपुरको हिमालयन जाबा, एलिस, ग्रीन भ्याली रिसोर्ट, मेलालगायत ठाउँमा स्क्यानर मेन्युको प्रयोग भइरहेको छ । नेपालभरि ३५ भन्दा बढी होटल तथा रेस्टुराँमा प्रयोग भइरहेको डिजिटल ई मेन्युको प्रभावकारिता बढ्दो क्रममा छ । साथै युवा पुस्ताले यसको प्रयोगमा सकारात्मक प्रतिक्रिया दिएको अनुपम र रिसभ बताउँछन् । 

विद्यार्थी जीवनमा पैसाको अभाव सबैलाई हुन्छ । आफू रोजगारीमा संलग्न नभएसम्म मन लागेको जति खर्च पाइँदैन । अनुपम र रिसभलाई पनि यस्तो समस्या नभएको त होइन, उनीहरूले आफ्नो विद्यार्थी जीवनको स्मरण गरे । तर, घरपरिवारले साथ दिएको कारण आर्थिक लगानी गर्न समस्या भएन । उनीहरूले धेरै लगानी गरेर जोखिम मोल्न पनि चाहेनन् । सीमित पुँजीबाट सुरु गरेर विस्तारै लागत र प्रयोग बढाउँदै जाने योजना रहेको उनीहरू बताउँछन् ।

२२ वर्षका अनुपम र २४ वर्षका रिसभ बच्चा देखिकै मिल्ने साथी हुन । दुवै जना म्यानेजमेन्टका विद्यार्थी हुन् । अनुपले दिल्ली र रिसभले ब्याङ्लोरमा अध्ययन गरेका हुन । दुवै जना स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

‘विदेशमा पढ्नु भएको मान्छे नेपालमा किन काम गर्नु भयो ? उतै बस्ने मन भएन र ?’ भन्ने क्यापिटल नेपालको प्रश्नको जवाफ दिँदै अनुपम भन्छन् ‘आफ्नै देशमा केही गरौं भन्ने लाग्छ त्यसैले ‘सजिलो डाइन सञ्चालनमा ल्याएका हौं । अर्काको देशमा बसेर के गर्नु छ र ?’

 

शुक्रबार​ २७ चैत २०७७ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया