काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन पनि उच्च अंकले घटेर कारोबार रोकिएको छ । सोमबार कारोबार खुल्नासाथ २७१६ अंकमा रहेको सूचक २० मिनेटभित्रै बजार घटेर २६७२ अंकमा झरेको थियो ।
त्यसपछि बढेर २७०३ छोएको बजारले त्यसपछि भने निरन्तर घट्दो क्रममा देखियो र २६५७ अंकसम्म झर्यो । यद्यपि,कारोबारको अन्तिम मिनेटमा सूचक २६६१.९३ मा रोकिएको छ । सोमबार कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।
६ अर्ब ७६ करोडको कारोबार भएको बजारमा चन्द्रागिरी हिल्सको ९.८ प्रतिशतले घटेर २१७३ मा रोकिएको छ । चन्द्रागिरीको कारोबार रकम उच्च छैटौं छ र त्यो भनेको २१ करोड ७९ लाख हो ।
सोमबार सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषको २८ करोड ३४ लाख मात्र छ । त्यसलाई पच्छाएको हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलम्पेन्ट कम्पनी(एचआईडीसीएल)को २४ करोड ५७ लाख छ ।
सोमबार जलविद्युत समूह र वित्त समूह बाहेक सबै समूह सूचकको सेयर मूल्य घट्दा नेप्सेमा प्रभाव परेको हो । गत बिहीबार हालसम्मकै उच्च २७३५.४ अंकमा पुगेको नेप्से सूचक आइतबार पनि ३६ अंकले घटेको थियो ।
तर, त्यसदिनमा ८ अर्ब ८० करोड १८ लाखको कारोबार भएको थियो । कारोबार रकम उच्च हुँदा लगानीकर्तामा उच्च मनोबल रहन्छ । सोमबार कारोबार रकममा पनि भारी गिरावट आएको कारण शसंकित हुने ठाउँ देखिएको छ ।
यद्यपि,पछिल्लो चैत २ गतेदेखि निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गरेको, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित हुने क्रम सुरु भएको र कतिपयको ऋणात्मक देखिएको, ब्याजदर बढ्ने हल्ला कायमै रहेको, बजारमा खेल्नका लागि बन्दाबन्दी(लकडाउन)को हल्ला कायम भएको र राजनीतिक अस्थिरताको मौका उपयोग गर्दा बजारमा लगानीकर्ताको मनोबल गिरेको छ । त्यसले अझ केही दिन लिने र यसअघिको उच्च (फागुन ९)को २६४० अंकमा टेवा पाएर बजार फर्किने सम्भावना छ ।
घटेको बजारमा पनि ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको भने ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । अन्य केही कम्पनीहरुको ५ प्रतिशतभन्दा कम मात्रै मूल्य बढेको छ ।
घट्ने कम्पनीहरुको मूल्य पनि सप्तकोसी डेभलप्मेन्ट बैंकको ५.५ प्रतिशत घटेकोमा अन्य कम्पनीहरुको घट्ने दर ४ प्रतिशतभन्दा कम छ ।