काठमाडौं । नेपालमा पूर्वाधार , उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्ड लिमिटेडको स्थापना भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फण्डको औपचारिक शुभारम्भ गरेका छन ।
अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी उपेन्द्र महतो अध्यक्ष छन ।
यस्तै अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक सदस्यको रुपमा चयन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा कुमार लम्साल, जीवा लामिछाने, डा बद्री केसी, सोनाम लामा, महेश श्रेष्ठ, गौरी जोशी रहेका छन् ।
शनिबार मात्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा पूर्वबैंकर अनलराज भट्टराईलाई चयन गरिएको थियो । अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन ।
गैरआवासीय नेपालीले प्रवद्र्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उनले पूँजी र प्रविधि भित्र्याउने दूतको रुपमा क्रियाशील हुन आग्रह गरे।
उनले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गरे । अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गरे ।
हाल कम्पनीले संस्थापकबाट रकम जुटाउने काम गरिरहेको छ । एनआरएनएका अनुसार हालसम्म करिब ३ अर्ब रुपैयाँ बराबरको रकम जम्मा भइसकेको छ । सो कम्पनीमा १०० बढी संस्थापक सदस्य रहनेछन् । कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले सरकारले लगानीका लागि सबै प्रकारको सहजीकरण गरेको र केही टुङ्गो लगाउनुपर्ने विषय भए त्यसलाई सम्बोधन गरिने बताए।
सो कम्पनीले गैरआवासीय नेपालीका लागि प्राथमिक सेयर आईपीओ बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १० डलरका दरमा सेयर बिक्री गर्ने कम्पनीको योजना छ । साढे ८ अर्ब रुपैयाँ बराबरको रकम जुटाउन फण्डले विदेशमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रुपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने जानकारी दिए ।