काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्रगतिमा फैलिएको भन्दै सेवा सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हाल नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ७ सय ३५ जना संक्रिय संक्रमित भएकाले बिरामीले अस्पताल भरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रकोे ७ गते बसेकोे बैठकको विश्लेषण तथा सिफारिसको आधारमा नेपालगञ्जमा एकहप्ता लकडाउन गरिएको हो ।
उक्त समयमा स्वास्थ्य, शान्ति सुरक्षा, खाद्यान्न, दुग्ध पदार्थ, सञ्चार, खानेपानी, बैंकको एटीएम, पूर्वनिर्धारित परीक्षा, हवाई सेवा, औषधी पसललगायत अत्यावश्य सेवा सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै एम्बुलेन्स, दमकल, शवबाहान, कूटनीतिक व्यक्तिका गाडी तथा सवारी पास भएका गाडीलयागत साधनलाई सञ्चालनमा रोक नभएको बाँकेले जनाएको छ ।
साथै दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दुग्ध पदार्थ, तरकारी)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने जनाइएको छ । जुनसुकै कार्य गर्दा पनि मास्क, सेनिटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने बताइएको छ ।