काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्स) यो साताको ४ दिनमा १०३.२ अंकले घटेको छ । आइतबार, सोमबार र बुधबार लगातार बजार ३५ अंक भन्दा बढीको गिरावट आएको छ । तर, मंगलबार भने सामान्य (२.६) अंकको वृद्धि देखिएको थियो । नेप्सेमा वर्गिकृत १३ उपसमूह मध्ये म्युचअल फण्ड उपसूचक बाहेक सबै समूह सूचक घटेको असर नेप्से परिसूचकमा परेको हो ।
बजारले गत बिहीबार हालसम्मकै उच्च २७३५ अंकमा पुगेपछि करेक्सनको बाटो समाएको हो । पछिल्लो चैत २ गतेदेखि निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गरेको, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित हुने क्रम सुरु भएको र कतिपयको ऋणात्मक देखिएको, ब्याजदर बढ्ने हल्ला कायमै रहेको, बजारमा खेल्नका लागि बन्दाबन्दी (लकडाउन) को हल्ला कायम भएको र राजनीतिक अस्थिरताको मौका उपयोग गर्दा बजारमा लगानीकर्ताको मनोबल गिरेको छ ।
त्यसले अझ केही दिन लिने र यसअघिको उच्च फागुन ९ को २६४० अंकमा टेवा आशा राखिएकोमा त्यसले टेवा दिन सकेन र अन्तत बजार ओरालो लाग्यो । तेस्रो त्रैमाशिक वित्तीय विवरण प्रकाशित भएका कम्पनीहरुको नाफामा खासै गिरावट नआएको, व्यवसाय विस्तार भएको अवस्थामा पनि बजार घट्नुले लगानीकर्तामा अन्यौलता छाएको छ ।
विगतमा बजार बढ्दा जस्तै अहिले बजार घट्दा पनि सतहमा देखिने कुनै कारण छैन । त्यसैले लगानीकर्ताका समूहहरुले आफू अनुकुल बजार अघि बढाउन विगतको बढेको बजारबाट नाफा बुक गर्ने र घट्दो बजारबाट सेयर उठाउन दबाब राख्दा बजारले घट्ने यात्रा पच्छ्याएको हो ।
यद्यपी बुधबारको अन्तिम समयमा घटेको बजारमा पनि केही उचालिएर बन्द भएकाले बिहीबार सुरुवाती समयमा बजार बढ्ने र मध्यक्रममा बजार केही खस्कँदै सुधारसहित बन्द हुने संभावना भने छ ।
बजारमा नयाँ कुनै अस्त्र प्रहार नभएको स्थितीमा भने केही घट्ने र पुरानै विन्दुतिर फर्किने अवस्था पनि छ । अधिकाँश कम्पनीहरुको वित्तीय विवरण विगतमा हल्ला चलाएको जस्तो सुधार नभएकाले पनि लगानीकर्ताहरु केही त्रसित छन ।
खासगरी कोरोना भइरसको दोस्रो लहरसंगै रोकथाम गर्न विभिन्न क्षेत्रमा लकडाउनको अभ्यास सुरु भएको र यसले सूचिकृत कम्पनीहरुको व्यवसायमा बाधा पुग्दा कम्पनीको वृद्धि आगामी दिनमा खुम्चिने अनुमानका आधारमा लगानीकर्ताहरु हतोत्साहित भएका छन ।
यसले बजारलाई अझ तल झार्न सक्छ । तर, योसंगै लगानीका अन्य क्षेत्रहरु खुम्चिने हुनाले नयाँ लगानीकर्ताहरु सेयर बजारमा आर्कर्षित हुने संभावना उत्तिकै छ । यस्तो बेला लगानीकर्ताले सचेततापूर्वक लगानी गर्नुपर्ने आवश्यकता भने छ । कम्पनीको वास्तविक सूचकहरुलाई अध्ययन गरेर लगानी गरिसके पछि फर्कनु पर्दैन ।
बुधबार ५ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी कारोबार भएको छ । निफ्राको प्रतिकित्ता ५७१ मा २५ करोड ४५ लाख रपैयाँको सेयर किनबेच भएको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको १६८ मा २२ करोड र नागरिक लगानी कोषको ३८९२ मा १८ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।