मङ्गलबार, जेठ ४ २०७८ ०९:३८ AM

×

लम्की करदाता सेवा कार्यालयले गर्याे, ९ महिनामा झण्डै १४ करोडकाे राजस्व वृद्धि 

images

काठमाडौं । लम्की करदाता सेवा कार्यालयले अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । 

गत वर्षको तुलनामा  १३ करोड ८४ लाख १ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आवको यस अवधिमा ३९ करोड २० लाख राजश्व संकलन गरेको हो । आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष संकलन  नभएको कर यस वर्ष संकलन  भएका कारण प्रगति देखिएको हो ।
 
आव २०७६र७७ को सो अवधिमा रु २५ करोड, ३६ लाख, ६७ हजार राजश्व संकलन  भएको थियो । “गत वर्षको तुलनामा यस वर्ष राजश्व संकलनमा प्रगति देखिएको छ”, करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाही भने, “कोराेनाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ । 

यसका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ । यसले राजश्व वृद्धिमा सघाएको छ ।”

कार्यालय प्रमुख शाहीकाअनुसार सबैभन्दा बढी आयकर शीर्षकबाट २० करोड ८७ लाख १ हजार रुपैयाँ राजश्व संकलन  भएको छ । मूल्य अभिवृद्धि कर शीर्षकमा १२ करोड ९९ लाख १३ हजार रुपैयाँ राजश्व संकलन  हुँदा अन्तः शुल्क शीर्षकमा ३ करोड ६८ लाख २० हजार संकलन जम्मा भएको छ । उनले भने, “करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौँ । 

यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ ।” सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन् । 

शुक्रबार​ १७ बैशाख २०७८ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया