काठमाडौं । इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्दै गरेका सुमन पौडेल गत वर्षको बन्दाबन्दीमा दिदी मञ्जुकुमारी पौडेलसँग केही समय सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा बिताए ।
त्यहाँ बस्दा उनले कोरोना भाइरसको संक्रमितहरूको उपचारमा संलग्न चिकित्सकहरू पीपीई लगाएर श्वास फेर्न समस्या भएर असहज भएको देखेँ । उनकै आँखा अगाडि धेरै नर्सहरू श्वास फेर्न समस्या भएर बिरामी भएको समेत देखेका थिए ।
त्यो देख्दा उनले मनमनै यो पीपीई लगाएर उपचार गर्नेहरूका लागि सहज रूपमा श्वास फेर्न सक्ने केही उपकरण बनाउन सकिन्छ कि भन्ने सोच बनाए । तर, उनीसँग आवश्यक उपकरणहरू थिएन । त्यतिकैमा कोभिडको अवस्थामा सामान्य हुँदै गएपछि त्यसलाई बिर्सिएको थिएँ । तर, विस्तारै फेरि दोस्रो चरणको लहर सुरु भयो र धेरै संक्रमितहरू भएपछि भने उनले गत वर्ष बनाएको योजनालाई साकार अहिले बनाए ।
पीपीई लगाएर घण्टौंसम्म बिरामीको उपचार गर्दा उल्टै चिकित्सकहरू बिरामी पर्दा झनै समस्या उत्पन्न हुने भएकाले सहज रूपमा श्वास फेर्न सक्ने प्रोटोकल माइक्रो भेन्टिलेटर पौडेलले निर्माण गरेका छन् ।
श्वास नाम दिइएको उक्त उपकरण कोभिड महामारीका बेला फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीका लागि निर्माण गरिएको हो । पीपीई लगाएर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई स्पच्छ हावा मुखसम्म पुर्याउन मद्दत गर्छ । यो उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा लाग्न सहयोग गर्ने उनको भनाइ छ ।
ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि ४ देखि ६ घण्टासम्म प्रयोग गर्न सकिन्छ । ३ देखि ४ भोल्टको ब्याट्री प्रयोग हुन्छ । ३ भोल्टको पम्प रहन्छ । यसले अक्सिजन भने दिने होइन । स्वच्छ हावा मुखसम्म पुर्याउने भएकोले पनि श्वास–प्रश्वासमा सहजता दिलाउँछ । एयरपम्पमा एन ९५ मास्क प्रयोग गरिएको हुन्छ । हावा तान्दा स्वच्छ हावा तान्नुपर्ने भएकाले सो मास्कलाई डबल बनाएर फिल्टर प्रयोग गरिएको हुन्छ ।
अहिले धेरै ठाउँबाट माग बढेको छ । सबै ठाउँमा एकै पटक उपलब्ध गराउन नसकिने भएकाले प्रयोग गर्ने तरिका सिकाउँदै र सँगै उपलब्ध गराउँदै आएको पौडेल बताउँछन् । अहिले श्वासले काठमाडौं, नेपालगन्ज, सुर्खेतमा उत्पादन गरिरहेको छ ।
‘स्थानीय स्तरमै उपलब्ध स्रोत र साधानलाई प्रयोग गरी पीपीई लगाएका स्वास्थ्यकर्मीहरूका लागि सहज बनाउन लागि परेको छ । हामीले नाफाभन्दा कोभिडको बेलामा कसरी सहज बनाउने भन्ने विषयमा ध्यान केन्द्रित गरेका छौं’, उनले भने । पौडेल आइडिया स्टुडियोले सञ्चालन गरेको सिजन ५ का आइडिएटरसमेत हुन् ।
यसको मूल्य ८ हजार रुपैयाँसम्म पर्छ । तर, त्यसका लागि आवश्यक सामानहरू सहज रूपमा उपलब्ध हुने हो भने ५ हजारसम्ममा बनाउन सकिने बताउँछन् । यसका लागि अति आवश्यक भनेको एयर पम्प हो । यो महँगो पर्ने र काठमाडौंमा मात्र पाइने भएकोले मूल्यमा केही वृद्धि भएको हो । यदि, सरल सुपथ मूल्यमा सामग्रीहरू उपलब्ध गराउने हो भने धेरै उत्पादन अर्थात बनाउन हामी तयार छौं ।
माग धान्न सकिरहेको छैन । अहिले निजी अस्पतालबाट धेरै माग आएको छ । बन्दको कारण सामान पाउन मुस्किल छ । यसका लागि सरकारले नै सहयोग गरिदिने हो भने धेरै उत्पादन गर्न सक्छौं । सुरुमा ५ पिस बनाएका थियौं । त्यसको माग बढेपछि १२ वटा बनाएर पठाएका छौं । तर, हामीसँग भएको मोटर सकिएकाले उत्पादन गर्न सकेका छैनौं । सामान नपाएर यो बनाउन सकिएको छैन ।
कैंचो ग्रुपका अध्यक्षसमेत रहेका पौडेलले यो सँगै विभिन्न प्रविधिको आविस्कार समेत गर्दै आएका छन् । उनले यसअघि पोथी नामक उपकरण सार्वजनिक गरेका थिए । उनलाई २०७६ मा सरकारले राष्ट्रिय युवा प्रतिभा पुरस्कारसमेत दिइएको थियो ।