बुधबार, असार २ २०७८ ०६:४४ PM

×

कोरियाको कमाइ नेपालमा लगानी, २ करोडको लागतमा बाख्रापालन

images

काठमाडौं । बिहान सबेरैदेखि राति अबेरसम्म काम धन्दामा व्यस्त रहने महेन्द्र बानियाँ म्याग्दीका बाख्रापालक किसान हुन् । वि.स. २०३२ साल भदौ २३ गते म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा जन्मिएका बानियाँले २३ वर्ष परदेशमा पसिना बगाएका छन् । 

२०५२ सालमा बाध्यताभन्दा बढी रहरले उनलाई साउदी अरबमा पाइला टेकायो । साउदीको ७ वर्षको कर्मले पनि बानियाँलाई नेपाल बस्ने रहर लागेन । फेरि उनी कतार गएर ६ वर्ष बिताए । 

उनले विगत सम्झिँदै भने, ‘सामान्य जीवनयापन गर्नका लागि विदेश नै जानुपर्ने बाध्यता थिएन । तर, त्यो समय विदेश जानी लहर नै चलेको थियो, त्यसैको पछि लागेर विदेशी भएँ ।’ त्यसो त नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या अहिले पनि उत्तिकै छ । 

समय सधैं एकनास हुँदैन भने झैं खाडी मुलुकको बसाइलाई टुङ्ग्याएर बानियाँ २०६५ सालमा दक्षिण कोरिया रोजगारीका लागि गए । कोरियालीले संघर्ष गरेर नै कोरियालाई अहिलेको स्थानमा ल्याएको पनि उनले बुझेँ । 

‘कोरिया उसै त्यस्तो भएको होइन रहेछ त्यहाँ कोरियनहरूले धेरै दुःख गरेका छन् । वर्षमा जम्मा ६ महिनामात्रै काम गर्न सकिन्छ बाँकी ६ महिना हिउँ परेर केही गर्न सकिँदैन । अनि बाह्रै महिना राम्रोसँग काम गर्न सकिने हाम्रो देशमा त्यति मिहिनेत गर्ने हो भने कति विकास गर्न सम्भव छ ?’ उनले भने, ‘४० वर्षसम्म त विदेशमै कमाएर सहरमा जग्गाजमिन किनेर घर बनाउने रहर लाग्दो रहेछ तर, उमेर ढल्किदै गएपछि भने देशको मायाले सताउँदो रहेछ ।’

उनी त्यहाँ एक्लै थिएनन् । उनका साथी ध्रुव कुँवर, रामजी कुँवर र रेशम कुँवर कोरियामा गएका र साउदी अरब गएका पनि फर्किएर व्यवसायमा संग्लन भएका छन् । समूहको नेतृत्व भने महेन्द्रले गरिरहेका छन् । उनीहरूले त्यहाँ काम मात्रै गरेनन्, देशमा केही गर्ने योजनासमेत बनाए तर के गर्ने भनेर निश्चित भने भएको थिएन । 

देश प्रेमले गाउँ फर्किएका उनलाई विगत १५–१६ वर्षदेखि बेनी बजारमा बस्दै आएको परिवारमै बसेर काम गर्ने मन पनि भएन । उनी भन्छन्, ‘काम गर्ने युवा सबै विदेश वा सहर बसे गाउँ कस्तो होला ? मलाई चिन्ता लागि रहनथ्यो । सपनामा पनि गाउँमा नै काम गरेको देख्थ्ये, त्यसले गर्दा पनि मलाई विदेश र सहरभन्दा पनि गाउँ नै बस्न मन लागेको हो ।’ 

‘जननी जन्मभूमिस्च स्वर्ग दपी गरिएसी’ उसै भनिएको होइन । बानियाँलाई सपनामा समेत जन्मभूमिले छोडेन । उनीहरूको ५ जनाको समूहले करिब २ करोड १५ लाखको लगानीमा २०७६ सालको भदौबाट सञ्चालनमा ल्याएका हुन्, म्याग्दीमा ‘एकता एग्रो रिसर्च एण्ड रिसोर्ट’ । 
उनीहरू सबैले बराबरी लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् । विगत १२ वर्ष पहिलादेखि क्रमशः थोरै–थोरै जग्गा किन्दै अहिले ८० रोपनी बनाएका छन् । 

त्यसबाहेक पुख्र्यौली २० रोपनी जग्गासमेत उनले बाख्रा पालनमा प्रयोग गरेका छन् । जग्गामा मात्रै उनीहरूको १ करोड बढी लगानी भएको छ । जग्गा किन्नुको कारण बताउँदै उनले भने, ‘हामीले किनेको जग्गामा पानीको मुहान छ, त्यो जग्गा अरूले किनेभने हाम्रो मुहान नहुन सक्छ भनेर किनेको हो । अरू योजना र उद्देश्य थिएन तर, पानी भएको जग्गा भएकाले विस्तारै टाउट माछा पालन गर्ने सोच रहेको थियो ।’ 

मोटर बाटो नपुगेको उक्त जग्गामा माछा पालनका लागि पोखरी बनाउन तथा अन्य व्यवस्था मिलाउन समस्या भयो । साथै टाउट माछा पालन गर्न पैसा पनि धेरै लगानी गर्नुपर्ने हुन्छ । त्यसैले बानियाँ नेतृत्वको उक्त समूहले माछा पालन भने अझ गर्न सकेको छैन ।

माछाभन्दा कम लगानीमा गर्न सकिने भएपछि उनीहरूले बाख्रा पालन गर्न थाले । अहिले सो फार्ममा १ सय ७५ वटा बाख्रा छन् । जसमा १८ वटा लोकल खसी छन् भने, बाँकी सबै बोयर जातका हुन् । 

उनले सुरुमा बोयर जातका १६ वटा पाठी र १ वटा बोका पालेर फर्म सञ्चालन गरेका थिए । उनीहरूले चितवनबाट बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सञ्चालनका लागि २०७५ साल फागुन २५ गते कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा दर्ता गराएका हुन् । 

त्यस्तो गाउँमा २ करोड बढी पैसा लगानी गर्दा गाउँलेले उनीहरूलाई मानसिक सन्तुलन ठीक नभएकोसम्म भन्न पछि परेनन् । नभनुन पनि कसरी ? मान्छेको जीवनको महत्वपूर्ण समय विदेशमा पसिना बगाएर कमाएको पैसा विकासमा पछिपरेको ठाउँमा लगानी गरेपछि । ‘सुरुमा त हामीलाई पागल भएछन् भने गाउँकाले तर, हामी कृषिकर्म गर्ने योजनाले हिँडेका थियौं केही प्रतिक्रिया जनाएनौं ।’ उनी भन्छन्, ‘अहिले त राम्रो गरेका रहेछन् भन्ने सोच्नुहुन्छ । विदेशबाट फर्किएका र नेपालमै पनि बाख्रा पालन गर्न चाहानीहरू परामर्श लिन आइरहेका हुन्छन् । हामी पनि खुसी छौं ।’ 

त्यसो त कोरोनाको संक्रमण फैलिने डरले अहिले भने उनले भेटघाटलाई कम गरेका छन् । कतिपय अवस्थामा फोनमार्फत पनि सल्लाहा दिने गर्छ उनी । बोयरका बोका, बाख्रा किन्न तथा नयाँ व्यवसाय सञ्चालनका लागि परामर्श लिनको उनलाई धेरैले सम्पर्क गर्छन् ।  उनको खोरबाट मासुको लागिभन्दा बढी बीउ (ब्याड)का लागि खसी–बोका बिक्री हुन्छन् । मासुको बजार भाउ लोकल र बोयरमा धेरै फरक हुँदैन तर पाल्न वा ब्याडका लागि भने मूल्यमा धेरै भिन्नता रहन्छ । ४०/४५ केजिको बोयर जातको खसी–बोकालाई दुई अढाइ लाखसम्म पर्ने उनी बताउँछन् । बानियाँको एकता एग्रो फार्मबाट करिब ५० केजिको बोका ३ लाख रुपैयाँँसम्म बिक्री भएको छ । 

उनले प्रत्यक्ष रूपमा काम गर्नका लागि २ जना मान्छे राखेका छन् । त्यसबाहेक कामको सिजन बढी भएको समयमा अन्य मान्छेले पनि रोजगारी पाइरहेका छन् । उनको अनुभवमा बोयर बाख्राका लागि छुट्टै घाँसको आवश्यकता पर्दैन । 

लोकल बाख्रालाई जस्तै घाँस भए हुन्छ । ‘घाँस चै धेरै नै चाहिने रहेछ । हाम्रो बाख्राका लागि घाँसको खोजी गर्न वनमा जानु पर्दैन आफ्नै जग्गामा प्रसस्त छ ।’ उनले भने, ‘५ सय बाख्रा पालन गर्ने योजना रहेको छ, भर्खरै सुरु गरेको भएर धेरै राम्रो आम्दानी लिन सकेका छैनौं । विस्तारै बाख्राको संख्या बढाउँछौं ।’ 

बाख्रा सामान्य बिरामी हुँदा आफैंले उपचार गरे पनि पशुचिकित्सकलाई नै देखाउनुपर्ने अवस्था हुँदा नगरपालिका र जिल्लाका भेटेनरी शाखाबाट सहयोग तथा उपचार गर्ने गर्छन् । उक्त फार्मका सबै बाख्राको बीमासमेत गरिएको छ ।

उनीहरूले भैंसी पनि पाल्नी योजना बनाएका छन् तर, कोरोना भाइरसको कारण त्यसलाई भने तत्काल सुरु गर्न नसकिएको बानियाँ बताउँछन् । बेनी बजार नजिकै भएकाले बेच्नका लागि समस्या नहुने उनको भनाइ छ ।

विदेशमा रहेका साथीहरू नेपाल आएपछि र कोरोनाको संक्रमण क्रमशः घटेपछि माछा पालन, भैंसी पालनलगायत कृषिका अन्य क्षेत्रलाई पनि जोड्दै जाने उनले बताए । 

करिब २ वर्षको यो दौरानमा उनीहरूले खाब्रापालनबाट नाफा गर्न सकेका छैनन् । यद्यपि अहिलेका लागि खर्च पनि अन्य ठाउँमा कमाएको लगानी गर्नुपर्दैन । सुरुको लगानी ऋण खोजेर नभई विदेशमा कमाएको पैसा रहेकाले छिटो फाइदा नभएकोमा उनीहरूलाई कुनै गुनासो छैन । 

त्यसो त छोरो विदेशमा बस्दा चिन्तित रहने आमा–बुबाको मुहारमा पनि अहिले खुसी ल्याउन सफल भएका छन् । स्वदेशमा बसेर काम गर्दै परिवारको मुहारमा देखिने खुसीले बानियाँ सन्तुष्ट छन् । 

उनीहरूले बाख्रा खरिद र खोर बनाउनका लागि मात्रै १ करोड १० लाख जति लगानी गरेका छन् । बानियाँ भन्छन्, ‘खोर बनाउन धेरै खर्च भयो, राम्रो व्यवस्थित पनि छ । 

बार, जाली, ढलान गर्दा पैसा बढी लागेको हो ।’ उनलाई अब बाख्रापालन छोडेर अन्य पेसा गर्ने रहर छैन । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘काम गर्न सक्दासम्म कृषि कर्म नै गर्छु, आफ्नो देश जस्तो अरूको देश नहुने रहेछ ।’  


 

बिहीबार ३० बैशाख २०७८ ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया