बुधबार, असार २ २०७८ ०८:३६ PM

×

व्यवसायी मल्होत्राले २२ सय थान अक्सिजन सिलिण्डर ल्याउँदै, एक सातापछि नेपाल आइपुग्ने

images

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा व्यवसायी दिपक मल्होत्राले २२ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने भएका छन् ।

मुलुकमा कोभिड संक्रमित बिरामीहरु अक्सिजन अभावले मृत्यु हुने क्रम बढ्न थालेपछि उनले चीनमा २२ सय ५० थान अक्सिजन सिलिण्डर आयातका लागि अर्डर गरेका हुन् ।

आइएमएस ग्रुपका अध्यक्षसमेत रहेका मल्होत्राले यसअघि कोभिडको पहिलो लहरमा एक वर्षअघि मुलुकमा मास्क अभाव हुँदा उद्योग स्थापना गरेर मास्क उत्पादन थालेका थिए ।

१५ दिनभित्रमा उद्योग स्थापना गरेर मास्क उत्पादन गरेपछि सरकारी निकाय र गैरसकारी संस्थालाई निःशुल्क र न्यूनतम मूल्यमा मल्होत्राले मास्क उपलब्ध गराएका थिए । अहिले मुलुकमा अक्सिजनको अभाव हुँदा उनले चीनबाट सिलिण्डर झिकाएका हुन् ।

‘मुलुकमा यतिखेर अक्सिजन सिलिण्डरको अभाव देखिएकाले तत्काललाई २२ सय ५० थान सिलिण्डर नेपाल ल्याउन अर्डर भैसकेको छ,’ मल्होत्राले भने । संकटमा मानवीय नाताले अतिआवश्यक सामान झिकाएर अस्पताललाई दिने र केही थान विभिन्न संघ-संस्थासँग मिलेर निःशुल्क वितरण गर्ने योजना रहेको उनले बताए ।

हरेक दिन अक्सिजन अभावले बिरामीको मृत्यु भैरहेको छ, सबैले केही न केही पलह गर्ने हो भने अब क्षति कम गराउन सकिने भएकाले आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने मल्होत्रा बताउँछन् ।

मल्होत्रा नेपाल चेम्बर अफ कमर्सअन्तर्गत विपद व्यवस्थापनको सभापति पनि हुन् । चेम्बरले कोभिडसँग सम्बन्धित टास्कफोर्सको जिम्मा पनि मल्होत्रालाई दिएको छ ।

 

बिहीबार ३० बैशाख २०७८ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया