रितुङ पुस्तकालयका लागि अमेरिकाबाट ५१ हजार सहयोग

रघुगङ्गा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि उदयपुर घर भएका शेर्पाले सो रकम सहयोग गरेका हुन् ।

म्याग्दीको रितुङ पुस्तकालयका लागि अमेरिकाबाट आङजम्बु शेर्पाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । रघुगङ्गा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि उदयपुर घर भएका शेर्पाले सो रकम सहयोग गरेका हुन् ।

सदरमुकाम बेनीदेखि एकदिनको यात्रापछि पुगिने कुईने मँगलेस्थित दुलेखर्कमा मावि तहको विद्यालय सञ्चालन भएपछि त्यस क्षेत्रका ३ सयभन्दा बढी विद्यार्थी घण्टौं लगाएर चिमखोला आउनुपर्ने बाध्यता हटेको छ । गत जेठ महिनामा प्रवासी नेपाली र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख रुपैयाँको लागतमा पुस्तकालय समेत सञ्चालनमा आएको छ ।

पुस्तकालय व्यवस्थापन उपसमितिका संयोजक गोपाल छन्त्यालले पुस्तकालयको व्यवस्थित तरिकाले सञ्चालन गर्न स्थायी स्रोतको रुपमा अक्षयकोष बनाउने योजना अनुरुप अभियान सञ्चालन गरिएको बताए । अक्षयकोषमार्फत् प्राप्त ब्याजले नयाँ पुस्तक खरिद र कर्मचारी व्यवस्थापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । पुस्तकालयको दीर्घकालीन सञ्चालनका लागि विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिदिन एक रुपैयाँ अभियान पनि सञ्चालन गर्दै आएका छन् ।