बजारमा नयाँ लगानीकर्ता भित्र्याउनु पर्छः धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्की

अध्यक्ष कार्कीले बजारलाई सक्रिय बनाउन बजारमा नयाँ लगानीकर्ता भित्र्याउने मुख्य उद्देश्य भएको बताउँदै यसलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजारलाई सक्रिय बनाउने काम लगानीकर्ताको भएको बताएका छन् । अध्यक्ष कार्कीले बजारलाई सक्रिय बनाउन बजारमा नयाँ लगानीकर्ता भित्र्याउने मुख्य उद्देश्य भएको बताउँदै यसलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । लगानीकर्ताबिना पूँजी बजार अपूर्ण रहने उनको भनाई थियो ।

लगानीकर्तालाई सूचित गराउने र पुँजी बजारमा विदेशी लगानी भित्र्याउने काम बोर्डको भएको उनले बताए । पुँजी बजारको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको भन्दै उनले पुँजी बजार सुधार र आधुनिकीबरणको चरणमा रहेको बताए ।

अबका दिनमा पुँजी बजारलाई प्रादेशिक र जिल्लागत रुपमा विस्तार गरिनुपर्छ भन्दै बोर्ड अध्यक्ष कार्कीले पूँजीबजारलाई सङ्घीय संरचनामा लैजान यसै वर्षभित्र प्रदेश १ मा बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्ने जानकारी दिए । केन्द्रमा सीमित पुँजी बजारलाई सङ्घीय संरचनाअनुसार प्रत्येक प्रदेशमा पुर्याएर लगानीकर्तालाई पुँजी बजारमा भित्र्याउने बोर्डको उद्देश्य रहेको प्रष्ट पारे ।

हाल बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाइरहेको छ । यस अवसरमा बोर्डले आफ्नो नयाँ वेबसाइट तथा विभिन्न प्रकाशनहरु सार्वजनिक गरेको छ ।