पशु र कृषि बिमा गर्नेलाई ७५ प्रतिशत प्रिमियम

बिमाको प्रिमियम शुल्क, बाली, पशु, माछा, कुखुरामा फरक–फरक छ । बालीमा उत्पादन लागतको पाँच प्रतिशत, माछाको दुई प्रतिशत, माछा पोखरीको एक प्रतिशत, पशुको पाँच प्रतिशत र ब्रोइलर कुखुराको १.२५ प्रतिशत प्रिमियम लाग्छ । बिमा गरिएको कृषिजन्य वस्तु तथा पशुपक्षीहरु पूर्ण रुपमा क्षति भएमा बिमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा त्यसको मूल्याङ्कन तथा बिमा लेखमा उल्लेख भए अनुसार रकम पाउने व्यवस्था छ ।

सरकारले कृषि र पशुपालनलाई व्यवसायीकरण गर्न बाली र पशु बिमा गर्ने किसानलाई अनुदान उपलब्ध गराएको छ । किसानको जोखिम न्यूनीकरण गरी उत्पादन बढाउन टेवा पुगोस् भनेर पशु र कृषि बिमामा लाग्ने प्रिमियम शुल्कमा ७५ प्रतिशतसम्म अनुदान दिएको हो ।

कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७४/७५मा प्रिमियममा अनुदान दिनका लागि ३५ करोड रुपैयाँ छुट्टाएका छन् । पशुधनको बिमा गर्न पशुपक्षी विकास मन्त्रालयले २५ करोड र बालीनालीको बिमा गर्न कृषि विकास मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
किसानलाई बीमा गर्न प्रोत्साहित गर्दै आएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द कार्कीले बताए । ‘बिमा गर्दा लाग्ने प्रिमियममा ७५ प्रतिशत अनुदान दिएका छौं,’ कार्कीले भने, ‘किसान जोखिमबाट मुक्त होऊन् भन्ने ध्येय हो ।’ बीमा गरेपछि दुर्घटना वा प्राकृतिक विपत्तिले क्षति भएमा किसानले बिमा बापतको रकम पाउँछन् ।

किसानले गाईभैंसी, बाख्रा, बङ्गुर, माछा, बालीनालीको बिमा गर्ने गरेका छन् । बिमा गर्दा एक सय रुपैयाँ लाग्यो भने किसानले २५ रुपैयाँ लगानी गर्ने र सरकारले किसानलाई ७५ रुपैयाँ उपलब्ध गराउँछ । आर्थिक वर्ष ०७३÷७४ मा मुलुकभरका किसानले करिब ८५ हजार गाईभैंसी, १ लाख ३० हजार पंक्षीको बिमा गरेको सरकारी तथ्याङ्कले देखाउँछ । १७ बिमा कम्पनीले बाली तथा पशु बिमाका लागि बिमा समितिबाट अनुमति पाएका छन् । पशुधनको दुर्घटना वा रोग प्रकोपले मृत्यु भएमा तथा कृषिबालीमा उत्पादन नभएमा बिमा मागदाबी गरेपछि सम्बन्धित कम्पनीले मूल्याङ्कन गरेर किसानलाई बिमा रकम दिने गर्छन् । सरकारले किसानलाई प्रदान गर्ने अनुदानका लागि अनिवार्य सर्त बनाएको छ । बाली तथा पशुको उत्पादन लागतको आधारमा बिमाङ्क रकम निकालेर बिमा गर्ने व्यवस्था मिलाइन्छ ।

बिमाको प्रिमियम शुल्क, बाली, पशु, माछा, कुखुरामा फरक–फरक छ । बालीमा उत्पादन लागतको पाँच प्रतिशत, माछाको दुई प्रतिशत, माछा पोखरीको एक प्रतिशत, पशुको पाँच प्रतिशत र ब्रोइलर कुखुराको १.२५ प्रतिशत प्रिमियम लाग्छ । बिमा गरिएको कृषिजन्य वस्तु तथा पशुपक्षीहरु पूर्ण रुपमा क्षति भएमा बिमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा त्यसको मूल्याङ्कन तथा बिमा लेखमा उल्लेख भए अनुसार रकम पाउने व्यवस्था छ । किसानले खेती गरेका खाद्यान्न बाली, दलहन, तेलहन, फलफूल, तरकारी, च्याउ बाली, मसला, पशुपक्षी, मौरी, तथा माछाको बिमा गर्दै आएका छन् । किसानलाई बिमाको बारेमा जानकारी गराउन जिल्लाका कृषि कार्यालय, पशु कार्यालय र मातहतका केन्द्रले सहजीकरण गर्ने पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौड्यालले बताए ।