सेयर लगानीकर्ता संरक्षण कोष स्थापना, कर्मचारी संंचय, नागरिक लगानी र सामाजिक सुरक्षा कोषले  बजार निर्माताको काम गर्न पाउने

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताको संरक्षणका लागि लगानी संरक्षण कोष स्थापना हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कोष स्थापनको काम अघि बढाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ ।

आगामी चैतसम्म कोष कार्यन्वयमा ल्याउने गरी प्रस्ताव पेश गर्न बोर्डले नेप्सेलाई भनेको छ । सेयर बजार घटेर लगानीकर्ताले गुमाउनु पर्ने अवस्था आएपछि बोर्डले लगानीकर्ता सुरक्षण कोष स्थापनाको तयारी थालेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले दिएको सुझावका आधारमा कोष स्थापनाका लागि बोर्डले पहल सुरु गरेको हो । यस्तै कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि बजार निर्माता/डिलरको रुपमा काम गर्न दिने भएको छ । बजार निर्मातका काम गर्न दिन अध्ययन गरी शिफारिश गर्न बोर्डले नेप्सलाई निर्देशन दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

यस्तै वाणिज्य बैंकलाई सेयर दलालको काम गर्न दिन र राजधानी बाहेक आर्थिक रुपमा सक्रिय जिल्लामा धितोपत्र दलाल व्यवसायको अनुमति प्रदान गर्नका लागि नियमावली बमोजिम शिफारिश गर्न बोर्डले भनेको छ ।

नेप्से सुचकाँकमा लाग्ने गरेको सर्किट ब्रेकरलाई समसाययिक परिवर्तन गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन नेप्सलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।

धितोपत्रको दोस्रो बजार कारोबारको भुत्तानी सुनिश्चितताका लागि भुत्तानी सुनिश्चित कोष सञ्चालनमा ल्याउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ ।