भ्रमण वर्ष २०२० ले समन्वयको भूमिका निर्वाह गर्छ : पर्यटनमन्त्री अधिकारी

भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र यो अभियान सफल हुने भएकाले सबैलाई समन्वयका लागि अनुरोध गरेका छन् ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० का कारण तीनै तहमा समन्वयको प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र यो अभियान सफल हुने भएकाले सबैलाई समन्वयका लागि अनुरोध गरेका छन् ।

उनले सबै प्रदेशमा पर्यटनमन्त्रीको अध्यक्षतामा समिति गठन गर्न अनुरोध गरेका छन् । यस्तै भ्रमण वर्षको कार्यक्रम संयोजक सबै प्रदेशमा तत्काल तोक्न संयोजक सुरज वैद्यलाई निर्देशन दिएका छन् । उपसमितिको संयोजक निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गर्ने भएकाले ती संयोजकलाई समितिलाई सहयोग पु¥याउने गरी जिम्मेवारी दिन आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकमा तीन नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले भ्रमण वर्ष २०२० मा नयाँ गन्तव्यको खोजी गर्नुभन्दा पुरानै गन्तव्यलाई प्रचारप्रसार गर्ने बताएका छन् । भएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण सरकारले तत्काल गर्न नस्कने र निजी क्षेत्रलाई दिइहाल्न पनि विभिन्न कानुनी अड्चन रहेका कारण समस्या परेको उनको भनाइ छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनाका साथ भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यले सरकारी संयन्त्रबाट खर्च गराउन निकै समस्या भएको बताए । यसअघिका संयोजकले पनि रकम खर्च गर्न नसकी करिब २० करोड रुपैयाँ फ्रिज भएको स्मरण गराउँदै खर्च गर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले भ्रमण वर्षलाई सफल बनाउन विभिन्न योजनाहरु तयार पार्दै कार्यान्वयन तर्फ आफूहरु लागि परेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत दीपकराज जोशीले भ्रमण वर्ष २०२० कार्यक्रम सञ्चालन कार्यविधिलाई पास गर्न मन्त्रिपरिषदको बैठकमा पेस गर्ने निर्णय गरिएको जानकारी दिए ।