प्रदेश २ ले २० वर्षसम्म उद्योगलाई कर छुट दिने निर्णयको परिसङ्घद्वारा स्वागत

प्रदेश सरकारले गरेको निर्णयको स्वागत गर्दै परिसङ्घले लगानीको वातावरण बनाएकोमा खुसी व्यक्त गरेको छ । परिसङ्घले केही समयअघि जनकपुरमा परिसङ्घ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा ‘प्रदेश २ को समृद्धिको मार्गचित्र’ विषयमा अन्तरक्रियाको आयोजना गरेको जनाएको छ ।

काठमाडौं । नेपाल उद्योग परिसङ्घले प्रदेश २ ले उद्योग खोल्नेलाई २० वर्षसम्म सबै कर छुट दिने निर्णय स्वागत योग्य भएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लगानी भित्र्याउनका लागि २० वर्षसम्म सबै कर छुट दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले गरेको निर्णयको स्वागत गर्दै परिसङ्घले लगानीको वातावरण बनाएकोमा खुसी व्यक्त गरेको छ । परिसङ्घले केही समयअघि जनकपुरमा परिसङ्घ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा ‘प्रदेश २ को समृद्धिको मार्गचित्र’ विषयमा अन्तरक्रियाको आयोजना गरेको जनाएको छ ।

अन्तरक्रियामा उद्योग र कृषिबीचको अन्तरसम्बन्धलाई प्रदेश सरकारबाट जोड दिई लगानीमैत्री वातावरण तयार गर्न परिसङ्घले अनुरोध गरेको थियो । परिसङ्घले आफूहरुले उठाएको एजेन्डा प्रदेश सरकारले स्वीकार गरेको भन्दै खुसी व्यक्त गरेको छ ।

प्रदेश २ को समृद्धिका लागि लगानी विस्तार गर्ने उद्देश्यले उक्त प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट यो कदमलाई तदारुकता साथ विद्यमान ऐन कानुनमा आवश्यक परिमार्जन, संशोधन, पुनर्लेखन गरी उद्योग र लगानीमैत्री वातावरण तयार गर्नसमेत परिसङ्घले आह्वान गरेको छ । साथै उद्योगमैत्री वातावरण, भूमी बैङ्कको व्यवस्था गरी उद्योगलाई चाहिने जग्गा सहज रुपमा उपलब्ध गराइदिने, ३ घण्टामै उद्योग दर्ताको काम सम्पन्न गर्ने र उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्ने निर्णय र सोको व्यवस्था अन्य प्रदेशहरुका लागिसमेत अनुकरणीय भएको परिसङ्घको ठहर छ ।