रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको सेयर निष्कासन

निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सेयर निष्काशन गरिएको छ । बुधबार रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेङ र साञ्जेन जलविद्युत कम्पनी लिमिटेङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका स्थानीय तह) का कर्मचारीहरुका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था कर्मचारीका लागि १ प्रतिशत गरी २४ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।
कर्मचारी सञ्चयकोष सञ्चयकर्ता कर्मचारीका लागि प्रतिसेयर एक सयका दरले कुल १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि आवेदन खुल्ला रहेको कम्पनीले जनाएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले कुल ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर निष्कासन गरिएको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजारका १ सय कित्ता सेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्काशन गर्ने प्रेश विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तैगरी कम्पनीको अधिकृत पुँजी ७ अर्व रुपैया तथा जारी पुँजी ६ अर्व ८४ करोड २१ लाख रहेको छ । संस्थापक सेयरधनीले कबोल गरेको ५१ प्रतिशत अर्थात १ सय रुपैयाँ अङ्कित दरले ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता सेयर चुक्ता गरिसकेका छन । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत र रसुवाका सम्वन्धित स्थानीय तहको ०.२१ प्रतिशत सेयर रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजना अन्र्तगतका ३ आयोजनाहरु यो बर्षभित्र प्रशारण लाइनमा जोडिने बताए । उनले बार्षिक २ अर्ब राजस्व उठ्ने महत्वपूर्ण आयोजना भएको भन्दै यसलाई अगाडी बढाउनु पर्ने बताए । ‘अहिले चिलिमे जस्तै १ हजार देखि माथिका प्रोजेक्टलाई अगाडी बढाउनु पर्छ ।’ उनले भने, ‘तामाकोशी र मध्य भोटेकोशी विद्युत आयोजना पनि यसै बर्ष सम्पन्न हुन्छ ।’

निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत खरिद सम्झौता(पीपीए) बमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको जनाइएको छ । महाभुकम्प, बाढीपहिरो, नाकाबन्दीका कारण आयोजनाको निर्माण कार्यमा ढिलाई भएको जनाइएको छ ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका स्थानीय तह) का कर्मचारीहरुका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था कर्मचारीका लागि १ प्रतिशत गरी २४ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । उक्त २४ प्रतिशत अर्थात प्रति सेयर एक सयका दरले ८७ करोड ६० लाख रुपैया बराबरको सेयर पहिलो चरणमा निष्काशन गर्ने निर्णय गरेको छ । सञ्जयकर्ताहरुका लागि छुट्याइएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको न्युनतम ५० कित्ता र सोभन्दा बढी ३ सय कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

सान्जेन जलविद्यत कम्पनीको अधिकृत पुँजी ३ अर्ब ७५ करोड तथा जारी पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत आयोजनाले ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणले १०.३६ प्रतिशत र रसुवाका सम्वन्धित स्थानीय तहको १. २८ प्रतिशत संस्थापक सेयर छ ।

माथिल्लो सान्जेनबाट १४.८ र तल्लो सान्जेनबाट ४२.५ मेगावाट जलविद्युत उत्पादन हुनेछ । दुवै आयोजनाहरुको औसत प्रतिमेगावाट लागत १२ करोड ६४ लाख रुपैयाँ रहेको छ । हाल माथिल्लो सान्जेन आयोजनाको ६८ प्रतिशत र तल्लो सान्जेन आयोजनाका ५८ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । तल्लो सान्जेनको नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव—त्रिशुली ३ बी २२० केभी प्रशारण लाइनसँग समन्वय गरी निर्माणको काम अगाडी बढाएको छ । सान्जेन माथिल्लोबाट बार्षिक ८ करोड २४ लाख र तल्लो सान्जेनबाट बार्षिक २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुने अयोजनाले जनाएको छ ।

दुवै आयोजनामा कम्पनी र कर्मचारी कोषबीच ऋण सम्झौता भइ बहाल रहेका र नेपाल धितोपत्र बोर्डबाट वितरणपत्र स्वीकृत थप भएका सञ्चयकर्ता, संस्थापक, कर्मचारी र ऋणदाता संस्थाहरुका कर्मचारीहरुले सेयर आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिँदा अनिवार्य रुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको सिद्धार्थ क्यापिटलका प्रमुख धु्रव पराजुलीले बताए ।