×

नगरकोट र धुलिखेलको विकल्प चन्द्रागिरिको इन्द्रस्थानः थपिँदै संरचना, झुम्मिँदै पर्यटक

images

काठमाडौं । उपत्यकाबाट घुम्न जानेहरुको मानिसको पहिलो रोजाइमा धुलिखेल, नगरकोट, ककनी, चित्लाङजस्ता ठाउँहरु पर्छन् । तर, यी सबै ठाउँ उपत्यकाबाहिरै पर्छन् । उपत्यकाभित्रै रहेको र काठमाडौंको मनोरम दृश्यावलोकनसमेत गर्न पाइने ठाउँ हो, चन्द्रागिरिको इन्द्रस्थान । 

कोभिडपछि उपत्यकानजिकैका डाँडाकाँडामा सुविधासम्पन्न होटल तथा रिसोर्टहरु निर्माण भइरहेका छन् । ग्राहकको रोजाइ पनि सहरभन्दा टाढा र खुला ठाउँमा छ । पछिल्लो समयमा यस्ता क्षेत्रमा लगानीकर्ताहरु पनि आकर्षित भएको पाइन्छ । कोभिडकै बीचमा जन्मेको एउटा नयाँ गन्तव्य हो, चन्द्रागिरि नगरपालिकाको– दहचोक इन्द्रस्थान ।

हरित पर्यावरण, त्यसमाथि काठमाडौं उपत्यकालाई नजिकैबाट नियाल्न पाइने । खुला आकाशमुनि बसेर प्रकृतिमा रमाउन, वरपरका मनमोहक दृष्य अवलोकन गर्न यो गन्तव्य उपयुक्त छ । 

दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको समाधिस्थल, दुई ओडारलगायत पर्यटकीयस्थल यहाँका प्रमुख आकर्षण हुन् । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदहमा इन्द्रदह स्नान मेला लाग्छ । मेला भर्न टाढा–टाढाबाट हजारौं श्रद्धालु भक्तजन आउँछन् ।

यति हुँदाहुँदै पनि सो क्षेत्रमा सुविधासम्पन्न होटल, रिसोट तथा रेष्टुराँ सञ्चालनमा थिएनन् । तर, पछिल्लो दुई वर्षयता (कोभिड संक्रमण) अवधिमा भने सो क्षेत्रमा सुविधासम्पन्न होटल–रिसोर्टहरु धमाधम बन्दैछन् । यसले पनि पर्यटकलाई तानिरहेको छ । 

‘वान नाइट स्टे गर्न आउनेहरुको संख्या अहिले बढिरहेको छ’, विगत ९ वर्षदेखि त्यस क्षेत्रमा रेष्टुराँ चलाउँदै आएका हरिश्याम राना मगर सुनाउँछन् । 

‘मैले सुरु गर्दा यहाँ फाट्टफुट्ट मात्र रेष्टुराँ थिए । विस्तारै पर्यटकहरुको संख्या बढ्दै गएपछि होटल÷रेष्टुराँहरुको पनि संख्या बढ्दै गएको छ‘, सञ्चालक मगरले भने । 

कोभिडकै बीच पर्यटकहरुको रोजाइ बन्न थालेपछि यति बेला लगानीकर्ताहरुको आँखा त्यस क्षेत्रमा छ । ‘दुई वर्षको बीचमा ५ देखि ७ वटा होटलहरु सञ्चालनमा आइसकेका छन्, जसमा ६० देखि ७० वटा कोठाहरु छन् । यी संरचना निर्माणमा २० करोडसम्म लगानी भइसकेको छ’, इन्द्रस्थान हिमालय रिसोर्टका सञ्चालक एवं सोही वडाका वडाअध्यक्षसमेत रहेका हरिश्याम राना मगर भन्छन्, ‘बिदाका दिन त्यहाँ पुग्ने पर्यटकको संख्या २ सयसम्म पुग्छ ।’

कलंकीबाट ५ किलोमिटरको दूरीमा रहेको यो गन्तव्यमा पुग्ने बाटो पनि कालोपत्रे छ । यसले पनि पर्यटकलाई सहज बनाएको छ । 

दहचोकबाट काठमाडौं उपत्यकालगायत भक्तपुर, ललितपुर, नुवाकोट र धादिङ जिल्लाका विभिन्न भूभागसहित गोरखा मनकामना मन्दिरसमेत देख्न सकिन्छ । यस्तै उत्तरतर्फ माछापुच्छ्रे, सगरमाथासहित सूर्योदय र सूर्यास्त अवलोकन गर्न पनि दहचोक उपयुक्त स्थल हो ।

रेस्टुराँ चलाउँदा चलाउँदै करोडौंकाे लगानीमा रिसोर्ट
हरिश्याम राना मगर त्यहीँका स्थानीय हुन् । उनले विगत ९ वर्षदेखि रेस्टुराँ चलाउँदै आएका थिए । उनको रेस्टुराँ नै त्यस क्षेत्रको पहिलो हो । अहिले सोही रेष्टुँरालाई ५ रोपनी क्षेत्रफलमा ‘इन्द्रस्थान हिमालय रिसोर्ट’ मा परिणत गरेका छन् । 

जग्गाबाहेक सो रिसोर्ट निर्माणमा ३ करोड ५० लाखभन्दा बढी खर्च भइसकेको उनले बताए । भविष्यमा पर्यटन विभागबाट स्तरीकरण गर्ने खालका संरचना निर्माण गरिरहेको उनको भनाइ छ ।

राजनीतिसँगै व्यवसायलाई पनि अघि बढाएका वडाध्यक्ष मगरले पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिँदै आएका छन् । ‘यहाँ गगनचुम्बी भवनभन्दा साना–साना तर टिपिकल रिसोर्टहरु सञ्चालन गर्ने सोच छ’, उनले भने, ‘आफ्नो पहिचान र संस्कृति झल्किने संरचना निर्माणमा जोड दिइरहेका छौं ।’

जग्गाको मूल्यले आकाश छोयो 
पर्यटकीय गन्तव्य बनेसँगै अहिले सो क्षेत्रमा जग्गाको मूल्य अकासिएको छ । ९ वर्षअघि आनाको १ लाख रुपैयाँ पर्ने जग्गा अहिले प्रतिआना २५ देखि ३० लाख  पुगिसकेको स्थानीय बताउँछन् । 

 

आइतबार​ १९ असार २०७९ ०७:४४ AM मा प्रकाशित

प्रतिक्रिया