×

गण्डकीमा बजेटमाथिको छलफल जारी

images

पाेखरा । गण्डकी प्रदेशसभामा बजेटमाथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउनेजस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएकाले यसले  इच्छा र चाहना पूरा नहुने उनकाे भनाइ थियाे ।

मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरिन् ।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको भन्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

धनमाया पोखरेल लामाले संघीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याइन् ।

यस्तै सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको र योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनकाे टिप्पणी थियाे । 

मङ्गलबार २१ असार २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया