×

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटलको लाइसेन्स, ८ वटालाई पूर्वाधार तयार गर्न बोर्डको निर्देशन 

images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई भेन्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र (लाइसेन्स दिएको छ । बोर्डले भेन्चर क्यापिटल सञ्चालनका लागि दरखास्त दिने अन्य ८ कम्पनीहरुलाई लाइसेन्स दिनुअघि पूर्वाधार तयार गर्न भनेको छ। 

एनएमबी क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, अवसर फण्ड लिमिटेड र आध्यान्त फण्ड लिमिटेडले सञ्चालन लाइसेन्सका लागि बोर्डमा दरखास्त दिएका छन्। कम्पनीहरुले भेन्चर क्यापिटल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरिसकेपछि मात्र नयाँ लाइसेन्स दिने बोर्डले जनाएको छ । 

बोर्डको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रमेशकुमार हमालले भेन्चर क्यापिटलको लाइसेन्स वितरण कार्य अन्तिम चरणमा पुगेको बताएका थिए। बोर्डले भेन्चर क्यापिटलको लाइसेन्स दिने तयारी गरेका कम्पनीहरुमा अधिकांश मर्चेन्ट बैंकरहरु रहेका छन् । त्यस्तै २ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) छन् । 

बोर्डले भेन्चर क्यापिटलको लागि एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेन्ट, एनआईबीएल एस क्यापिटललाई लाइसेन्स दिने गरी तयारी गरेको छ । साथै म्युचुअल फन्डहरुमा अवसर फण्ड र आध्यान्त फण्ड छन् । मर्चेन्ट बैंकहरुले नयाँ लाइसेन्स पाएसँगै कम्पनीहरुले एसेट्स म्यानेजमेन्टको समेत काम गर्न पाउनेछन् । 

भेन्चर क्यापिटलले बैंक तथा वित्तीय संस्थाको पहुँच नभएको क्षेत्रमा रहेर नवप्रवर्तक (स्टार्टअप) कम्पनीहरुमा लगानी गर्नेछन । भेन्चर क्यापिटलको जोखिम (रिस्क) वहन गर्न सक्ने क्षमता राख्दछन् । स्टार्टअपमा लगानी र प्रोजेक्टमाथि रिसर्च पनि गर्नेछन । छिमेकी मुलुक भारतमा भेन्चर क्यापिटलले थुप्रै स्टार्टअप जन्माइसकेको छ । उनीहरुले ती कम्पनीहरुमा लगानीसमेत गरेका छन् । 

अन्य मुलुक जस्तै नेपालमा पनि वैधानिक रुपमा भेन्चर क्यापिटलले स्टार्टअपमा लगानी गर्न पाउने बाटो खुल्नेछ । धितोपत्र निष्कासन तथा बिक्री वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्थानै मर्चेन्ट बैंक हो । 

वित्तीय बजार र पुँजीबजार गरी दुई किसिमबाट कार्यरत क्षेत्र हो । जसअनुसार वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त बैंकहरु वित्तीय बजारअन्तर्गत पर्छन् भने मर्चेन्ट बैंक पुँजी बजार अन्तर्गतको शाखा हो । मर्चेन्ट बैंक आफैंमा अलग प्राइभेट बैंक होइनन्, यिनीहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन् । 

बोर्डले दिएको कार्यअधिकार तथा क्षेत्रअनुसार मर्चेन्ट बैंकहरुले काम गर्छन। जसअनुसार मर्चेन्ट बैंकहरुले आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, दोस्रो बजारमा सेयर किनबेच, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने र म्युचुअल फन्डको मामिलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्ने तथा सेयर लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा सञ्चालन गर्ने जस्ता कामहरु गर्छन् । 

म्युचुअल फन्डले के काम गर्छ ? 

सेयर बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।

सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार सामूहिक लगानी कोष योजनालाई दुई किसिमको अवधारणामा व्याख्या गरिएको छ । एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । 

शुक्रबार​ २० साउन २०७९ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया