काठमाडौं । बृहत् ग्रुपले स्यानिटरी तथा बाथ फिटिङ्समा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ’मिलानो’लाई नेपाल भित्र्याएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुमसम्बन्धी प्रिमियम रेन्जका उत्पादनहरूका लागि परिचित छ ।
साथै बृहत्ले कलंकीमा मिलानोको एक्सक्लुसिभ शोरुम आगामी डिसेम्बरबाट सञ्चालनमा ल्याउने भएको छ । सो कम्पनीले यसअघि दुवैको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्राण्ड ’डेन्युब होम’ नेपाल भित्र्याएको थियो ।
बृहत् ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डीले भने, ‘कोभिड–१९ महामारीको समयमा हामीले डेन्युबलाई नेपालमा सहकार्यका लागि प्रस्ताव गरेको ८ महिनाभित्र शोरुम नै खोल्न सक्यौं । अब मिलानोलाई पनि नेपाल भित्र्याउँदै छौं ।
यो डिसेम्बरभित्रै यसको पहिलो एक्सक्लुसिभ आउटलेट कलंकीमा खुल्छ । डिसेम्बरभित्रै काठमाडौंको डिल्लीबजारमा डेन्युब होमको दोस्रो शाखा सञ्चालन गर्ने तायरी गरेका छौं ।’
साथै डेन्युब होम र मिलानो दुवैका आउटलेटहरू राजधानी बाहिरका प्रमुख सहरहरूमा पनि विस्तार गर्ने योजना कम्पनीको रहेको उनले बताए । आइतबारबाट उक्त कम्पनी १५औं वर्ष प्रवेश गरेको छ ।
बृहत् ग्रुपअन्तर्गत बृहत् इन्भेष्टमेन्ट, बृहत् प्रोपर्टी सोलुसन्स, बृहत् डेभलपर्स एन्ड बिल्डर्स र स्वयम्भू होटल एन्ड अपार्टमेन्ट्सलगायतका रियल इस्टेटसँग सम्बन्धित कम्पनीहरू र उद्यमशीलता विकास तथा प्रवर्द्धनमा
केन्द्रित अन्तरप्रेरणा प्रालि नामका कम्पनीहरू सञ्चालनमा छन् । १४औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कम्पनीले राम्रो कार्य सम्पादन गर्ने १६ जना कर्मचारीलाई विभिन्न पदमा पदोन्नति गर्नुका साथै वर्षकै उत्कृष्ट कार्य सम्पादन गर्ने एक जनालाई ’इम्प्लोइ अफ दि इयर’ बाट सम्मानित गरेको छ ।