×

नेपालमा ‘स्टार्टअप’ व्यवसायको आवश्यकता र तत्काल गर्नुपर्ने काम

images

नवप्रवर्तन (स्टार्टअप) व्यवसायमा सरकारी पहलकदमीः
युवा अवस्था समग्र मानव जीवनकै सर्वाधिक ऊर्जाशील समयभित्र पर्छ । यही समयभित्र व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । कुनै पनि व्यक्ति युवा उमेरमै आफ्नो फरक पहिचान निर्माण गरी समाजमा अब्बल साबित गर्न क्रियाशील/संघर्षरत रहन्छ । 

नेपालको राष्ट्रिय युवा नीति २०६६ मा १६–४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । २०६८ को जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको ४०.३४ (१६–४० वर्ष) प्रतिशत युवा छन् भने १५–२४ वर्ष उमेर समूहका युवाको जनसंख्या १९.९६ प्रतिशत अर्थात् ५२ लाख ९० हजार देखिन्छ । यस आधारमा हेर्दा कुल जनसंख्याको करिब आधा संख्या युवाहरुको छ । 

वैदेशिक श्रमबजारमा सस्तो र दुःखको काम गर्ने कामदारका रुपमा परिचित छन् नेपाली । देश छाडेदेखि नफर्किंदासम्म सबै समय उसका लागि पीडादायी, भय र त्रासबीच बिताउनुपर्ने हुन्छ । विदेश पलायनको क्रम रोकिनेभन्दा झन् बढ्दो छ ।

युवाको संख्या बढी हुनुलाई राष्ट्र विकासका लागि राम्रो सूचकांक तथा स्वर्णिम समयका रुपमा लिने गरिन्छ । तर, जनसंख्याको ठूलो हिस्सा युवाको हुँदा पनि राज्यले उनीहरुलाई परिचालन गर्न कुनै ठोस र प्रभावकारी कार्यक्रम बनाउन सकेको छैन । युवाहरुलाई राज्यको मूलधारमा ल्याउन, राज्यप्रति जिम्मेवार तथा उत्तरदायी बनाउन युवा लक्षित कार्यक्रमको अभावमा प्रायः जीवनयापनकै खोजीमा बिदेसिने लर्को देखिन्छ ।

वास्तवमा युवा बेरोजगारी नेपालको ठूलो समस्या हो । बेरोजगारीले बढाएको युवा पलायन डरलाग्दो छ । विभिन्न तथ्यांकअनुसार बर्सेनि ५ लाख युवा नेपालको श्रमबजारमा आउँछन् । तर, ५ प्रतिशतले मात्र रोजगारी पाउँछन् । त्यसमध्ये पनि आफ्नो क्षमता र योग्यताअनुसार रोजगारी पाउनेहरु अत्यन्तै न्यून छन् । 

देशभित्र बेरोजगारीको भयावह स्थितिले युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । दैनिक १ हजारदेखि पन्ध्र सय युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियालगायत खाडी मुलुकमा आफ्नो श्रम बेच्न विवश छन् । भारतमा रहेका नेपालीबाहेक करिब ४५ लाख नेपाली युवा कामदारका रुपमा मध्यपूर्वलगायतका देशमा छन् । 

वैदेशिक श्रमबजारमा सस्तो र दुःखको काम गर्ने कामदारका रुपमा परिचित छन् नेपाली । देश छाडेदेखि नफर्किंदासम्म सबै समय उसका लागि पीडादायी, भय र त्रासबीच बिताउनुपर्ने हुन्छ । विदेश पलायनको क्रम रोकिनेभन्दा झन् बढ्दो छ । 

अर्कोतर्फ उच्चशिक्षाका नाममा विदेश पलायन हुनेहरुको संख्या पनि कम छैन । राष्ट्र विकासको मेरूदण्ड मानिने युवाले आफ्नै देशभित्र आफ्नो भविष्य असुरक्षित र अनिश्चित देखिरहेका छन् । तत्कालका लागि विप्रेषणमार्फत आउने रकमले राज्य सञ्चालनमा केही टेवा पुर्याए पनि यसले दीर्घकालीन रुपमा पार्न सक्ने असरबारे राज्य बेखबर छ । राज्य यसरी अनुत्तरदायी हुन पाउँदैन । युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।

स्वदेशमै रोजगारी सिर्जना गर्न युवा उद्यमशीलता प्रवद्र्धन गर्नु जरूरी छ । पारिवारिक विरासत, पुँजी र धितो राख्ने सम्पत्ति नहुनेलाई नयाँ उद्यम फलामको चिउरासरह छ । पुँजीमा पहुँचको अभावकै कारण उद्यमशीलता फस्टाउन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले व्यावसायिक परियोजनालाई धितो नमान्दा सिर्जनशील उद्यमीहरु हात बाँधेर बस्न बाध्य छन् । 

उद्यमशीलता बढाउने उत्पे्ररणामा सरकारको पहलकदमी बिल्कुलै अपुग छ । नवउद्यमीहरुको व्यावसायिक सिर्जनशीलता जोगाउन सरकारले नै सुरूवाती सहयोग गर्ने चलन संसारभरि छ । त्यसका लागि स्टार्टअप फन्ड मात्र होइन, व्यवसायलाई सफल बनाउन परामर्श, दिशानिर्देशसमेत दिइन्छ ।

नेपालमा स्टार्टअप व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७१/७२ को बजेटमा स्टार्टअपहरुलाई सहयोग गर्न ५० करोड रूपैयाँको कोष व्यवस्था ग¥यो । कोषको उद्देश्य स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई बीउपुँजी उपलब्ध गराउने थियो । त्यसयता हरेक बजेटमा कुनै न कुनै रुपमा स्टार्टअपका कार्यक्रम समावेश हुँदै आएको छ । 

बजेटमा स्टार्टअपसम्बन्धी कार्यक्रम आए पनि स्पष्ट कार्यविधि नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ । साथै स्टार्टअपको स्पष्ट परिभाषा नहुँदा केलाई स्टार्टअप मान्ने/नमान्ने, कुनलाई स्टार्टअपको कोटामा राख्ने/नराख्ने भन्ने अन्योलता देखिन्छ ।

बीउपुँजी, च्यालेन्ज फन्ड, अनुदान, सहुलियत कर्जा वा विभिन्न शीर्षकमा कार्यक्रम घोषणा भइरहेका छन् । तर, झन्डै एक दशक हुन लाग्दा पनि सरकारले दिने भनेको सहयोग कुनै पनि स्टार्टअपले पाउन सकेका छैनन् । हरेक बजेटमा राखिए पनि कार्यान्वयन गर्न चाहिने नीतिगत संरचना नबन्दा स्टार्टअपलाई सहयोग गर्ने कार्यक्रम कागजमै सीमित भएको छ ।

कानुनी तथा नीतिगत रुपमा स्टार्टअपको परिभाषा प्रष्ट उल्लेख नभए पनि आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न व्यवस्था गरेको छ । जसमध्ये स्टार्टअपको परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म बीउपुँजी कर्जा उपलब्ध गराइने भनिएको छ । त्यस्तै, जसरी अहिले विदेशी लगानी प्रवर्धन गर्नका लागि एकल बिन्दु सेवा केन्द्रको स्थापना गरिएको छ । 

त्यसैगरी बजेटमा स्टार्टअप व्यवसायको दर्ता, नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क रुपमा उपलब्ध गराउने भनिएको छ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गर्ने र स्टार्टअपका लागि १ अर्ब रूपैयाँको ‘च्यालेन्ज फन्ड’ स्थापना गर्ने घोषणा पनि गरिएको छ । 

बजेटमा स्टार्टअप व्यवसायलाई कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । सरकारले स्टार्टअपको विकास तथा विस्तारार्थ निजी क्षेत्रका तर्फबाट समेत बीउपुँजी उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ । 

कुनै उद्योग प्रतिष्ठानले बढीमा ५ वटा स्टार्टअप व्यवसायलाई प्रतिव्यवसाय १ लाख रूपैयाँसम्मको बीउपुँजी उपलब्ध गराएमा त्यो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाएको छ । अर्थात्, कुनै प्रतिष्ठानले उपलब्ध गराएको रकम अब करयोग्य हुने छैन ।

बजेटमा स्टार्टअपसम्बन्धी कार्यक्रम आए पनि स्पष्ट कार्यविधि नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ । साथै स्टार्टअपको स्पष्ट परिभाषा नहुँदा केलाई स्टार्टअप मान्ने/नमान्ने, कुनलाई स्टार्टअपको कोटामा राख्ने/नराख्ने भन्ने अन्योलता देखिन्छ । स्टार्टअपका बारेमा सरकार आफैं स्पष्ट नभएका कारण यथार्थपरक नीतिनियम बन्न नसकेको हो कि भन्ने महसुस भइरहेको छ, जसले नवउद्यमीलाई अघि बढ्न समस्या भएको छ । 

स्टार्टअपसम्बन्धी ऐन, नियमावली र कार्यविधि बनाउनुपर्ने भए पनि सरकार आफैं मूकदर्शक देखिन्छ । स्टार्टअपलाई गरिएको बेवास्ताका कारण सरकारको सहयोग, बैंकको ऋणदेखि अन्य लगानी पाउनसमेत गाह्रो भइरहेको छ । 

के हो स्टार्टअप व्यवसाय ?

नवप्रवर्तन (स्टार्टअप) व्यवसायको परिभाषा ठाउँअनुसार फरक–फरक छ । सामान्यतया नयाँ व्यवसाय, धेरै मानिसमा प्रभाव पार्ने र सम्भाव्यता भएका व्यवसाय स्टार्टअप हुन् । स्टार्टअपको शाब्दिक अर्थ ‘सुरू गर्ने’ र ‘अघि बढ्ने’ भन्ने हो– अर्थात्, स्टार्ट गर्ने र माथि जाने । स्टार्टअप व्यवसायका लागि वस्तु उत्पादन वा सेवा प्रवाहमा नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग भएको, आधुनिक प्रणालीका माध्यमबाट उत्पादन हुने व्यवसायलाई स्टार्टअप व्यवसाय भनिन्छ । 


यो परम्परागत रुपमा चल्दै आएको व्यवसायभन्दा केही नयाँ किसिमको व्यवसाय हो । त्यसैले स्टार्टअप भनेको साना तथा मझौला उद्योग (एसएमई) भन्दा पृथक् हो । एमएमई भनेको परम्परागत रुपमा चल्दै आएको व्यवसाय हो, जहाँ नयाँपन, सिर्जनशीलता हुँदैन । तर, स्टार्टअप व्यवसायमा सिर्जनात्मक र नवीनतम पक्षहरु हुन्छन्, जुन एक बिन्दुबाट सुरू भएर वृद्धि खोजिरहेको हुन्छ ।

स्टार्टअपले जहिले पनि केही समस्या समाधान गर्ने लक्ष्य राखेको हुन्छ । परम्परागत व्यवसायले समस्या समाधान गर्नेभन्दा पनि व्यवसाय गर्ने मात्र लक्ष्य राखेको हुन्छ । बजारलाई अलिकति हस्तक्षेप गर्ने र समाजलाई योगदान गर्ने कम्पनीहरु स्टार्टअप व्यवसाय हुन्, जसले जहिले पनि ठूलो समस्यालाई समाधान गर्ने लक्ष्य राखेको हुन्छ । सानो स्तरबाट सुरू भएका स्टार्टअपले ठूला स्तरमा रोजगारी सिर्जना गर्दै जान्छन् । एक जनाबाट सुरू भए पनि जब स्टार्टअप सफल हुन्छन्, तिनले बजारमा हस्तक्षेप गर्दै धेरै मान्छेलाई रोजगारी दिने क्षमता राख्छन् ।

स्टार्टअप व्यवसायहरुमा सुरूमा बीउपुँजीमा लगानी गर्ने स्वपुँजी वा ‘एन्जेल इन्भेस्ट’ मार्फत लगानी हुन्छ । दोस्रो चरणमा विस्तारको सम्भावना हेरेर ‘भेन्चर क्यापिटल’ मार्फत लगानी जुटाइन्छ । तेस्रो चरणको लगानी सेयर स्वामित्व साझेदारी गर्ने गरी ‘प्राइभेट इक्विटी’ बाट व्यवसाय विस्तार लगानी (ग्रोथ क्यापिटल) जुटाइन्छ ।

उदाहरणका लागि काठमाडौं विश्वविद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सुजित रेग्मी, पुकार आचार्य र कविश श्रेष्ठ मिलेर अनलाइनमार्फत मर्मतसम्भारसँग सम्बन्धित सेवाहरुको समस्या समाधान गर्ने ‘आइडिया’ निकाले र स्टार्टअप कम्पनी ’सजिलो मर्मत सेवा’ को सुरूवात गरे । 

उनीहरुको सजिलो मर्मत सेवा अनलाइनमार्फत मर्मतसम्भारसँग सम्बन्धित सेवाहरु जस्तैः कम्प्युटर, अप्लायन्स, कार्पेन्ट्री, इलेक्ट्रिकल, प्लम्बिङ, एयर कन्डिसनिङलगायत मर्मतसम्भार सेवा काठमाडौं उपत्यकामा उपलब्ध गराउँदै आएका छन् । उनीहरुले स्वपुँजीबाट व्यवसाय चलाइरहेका थिए । र, अब उनीहरुलाई आफ्नो व्यवसाय व्यवस्थापन तथा सञ्चालनको स्तरवृद्धि र विस्तारमा सघाउ पुु¥याउन पुँजीकोष जुटाउन आवश्यक देखियो । तीन भाइले हालसालै भेन्चर क्यापिटल संस्था ट्रु नर्थ एसोसिएट्स (टिएनए) बाट १० करोड रूपैयाँ लगानी प्रतिबद्धता र प्राविधिक सहयोग प्राप्त गरिरहेका छन् ।

नेपालमा स्टार्टअप व्यवसायको वर्तमान परिस्थितिः

राजनीतिक संक्रमण, नीतिगत अस्थिरता, पूर्वाधार अभाव र अन्य व्यावसायिक चुनौतीका कारण ठूला लगानीकर्ता हच्किइरहेका बेला कल्पनाशील नवउद्यमीहरु नौला–नौला उद्यमका खाका बोकेर  जुर्मुराउँदैछन् । 

चुनौतीकै बीच अवसर सिर्जना गर्ने खुबी भएका कल्पनाशील उद्यमीहरुले इच्छाशक्ति र मिहिनेतको बलमा आफ्ना व्यावसायिक सपनालाई साकार बनाइरहेका छन् । न पारिवारिक विरासत, न ठूलो पुँजी ! नवीनता बोकेका र स्थापित व्यवसायीको आँखामा नपरेका स–साना लगानीका उद्यम (स्टार्टअप) हरुले नजानि“दो तरिकाले हाम्रो व्यावसायिक परिदृश्यलाई बदल्दैछन् । खास गरी, विदेशबाट फर्किएका र उद्यमशील चेत भएका युवाले स्टार्टअप अभियानलाई गति दिएका छन् । घर–घरमा खाना–खाजा पु¥याउने ‘फुडमान्डु’ होस् वा मर्मतसम्भारसँग सम्बन्धित सेवाहरु दिँदै आएको ’सजिलो मर्मत सेवा’ । 

स्टार्टअप व्यवसाय सुरू वा विस्तार गर्न पुँजी जुटाइदिने संस्थाहरुको क्रमिक उदयले पछिल्ला वर्षहरुमा महत्वपूर्ण फेरबदल ल्याएको छ । व्यावसायिक सिर्जनशीलता, अठोट र लगनशीलता भएका नवउद्यमीलाई लगानी गरेर स्थापित गराउने राष्ट्रिय/अन्तर्राष्ट्रिय लगानीकर्ता  संस्थाहरु थपिइरहेका छन् ।

अनलाइन औषधि पसल ‘ई–फार्मेसी’ होस् कि,  बोलाएको ठाउँमा ट्याक्सी सर्भिस दिने सारथि; या फेरि कवाडी सामानको डिजिटल प्लेटफर्म खाली सिसी, यी नयाँ–नयाँ उद्यमले बजारमा स्थान जमाएर नेपालीहरुको दैनिकीलाई सहज पारिरहेका छन् । नेपालमा बिस्तारै सरकारी सहयोगबिनै स्टार्टअप व्यवसायको सानोतिनो लहर नै सुरू भएको छ ।

स्टार्टअप व्यवसाय सुरू वा विस्तार गर्न पुँजी जुटाइदिने संस्थाहरुको क्रमिक उदयले पछिल्ला वर्षहरुमा महत्वपूर्ण फेरबदल ल्याएको छ । व्यावसायिक सिर्जनशीलता, अठोट र लगनशीलता भएका नवउद्यमीलाई लगानी गरेर स्थापित गराउने राष्ट्रिय/अन्तर्राष्ट्रिय लगानीकर्ता  संस्थाहरु थपिइरहेका छन् । स्टार्टअप प्रोत्साहनका लागि ‘इकोसिस्टम’ विस्तार हुँदै गएको छ । स्टार्टअप व्यावसायिक आइडिया र कार्यान्वयन क्षमता भएका उदीयमान कम्पनीलाई लगानी गर्न डोल्मा इम्प्याक्ट फन्ड, टिम भेन्टेर्स, बिजनेस अक्सिजन, ट्रु नर्थ एसोसिएट्स, वान टु वाचलगायतका संस्थाले लगानी गरिरहेका छन् ।

हालसालै ढुवानी सेवा उपाय सिटी कार्गोले डोल्मा इम्प्याक्ट फन्ड दोस्रोबाट करिब १६ लाख अमेरिकी डलर लगानी जुटाएको छ । त्यसै गरी नेपालकै पहिलो र चर्चित खाद्य डेलिभरी कम्पनी फुडमान्डुले डोल्मा इम्प्याट फन्ड दोस्रोबाट करिब ४० लाख अमेरिकी डलर लगानी प्रतिबद्धता जुटाएको छ । स्टार्टअप व्यवसायमा राष्ट्रिय/अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गरेका सुखद समाचारले स्टार्टअप व्यवसायलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालको आयात प्रवृत्तिलाई निरूत्साहित गर्दै निर्यातमुखी बनाउन र युवा रोजगारी सिर्जना गर्न स्टार्टअप व्यवसाय प्रवर्धन गर्न आवश्यक छ । 

नेपालमा स्टार्टअप व्यवसायको प्रवर्धन गर्न सरकारी पक्षबाट निम्न नीतिगत हस्तक्षेपको आवश्यकता देखिन्छः

क)    स्टार्टअपलाई अन्य (साना तथा मझौला उद्योग) व्यवसायभन्दा फरक पार्न र दर्ता प्रक्रियालाई सहज बनाउन स्टार्टअपको उचित परिभाषासहित कार्यविधि जारी गर्नुपर्छ ।

ख) सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रम तत्काल कार्यान्वयन गरिनुपर्छ ।
ग) महिला उद्यमी, युवा रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्टार्टअप व्यवसायमा लगाउन ऋण, तालिम, सीप विकास र उद्यमशीलतामा विशेष अनुदान दिइनुपर्छ ।

घ) स्टार्टअप व्यवसायका लागि सुरूवाती बिन्दुहरुः कम्पनी दर्ता, विविधता र निकास नीतिहरुलाई अन्य प्रकारका व्यवसायहरुबाट अलग गरी एकल बिन्दु सेवाकेन्द्रको स्थापना गरिनुपर्छ ।

ङ)    अनुसन्धानको अभाव, सरकारी अनुदानको अभाव, जटिल सरकारी कर्मचारीतन्त्र, मार्गदर्शन र सूचनाको अभाव वा विशेष क्षेत्रमा विशिष्ट विज्ञताको अभावका कारण स्टार्टअप व्यवसाय असफल हुने भएकाले सरकारी नीतिहरुले स्टार्टअप व्यवसायलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।

च)    वैकल्पिक वित्तीय उपकरणजस्तै प्राइभेट इक्विटी÷भेन्चर क्यापिटल फन्डले पुँजीबजार विस्तार गर्न, घरेलु स्रोतसाधन परिचालन गर्न, निजी क्षेत्रमा लगानी गर्न नसकेर सञ्चित भएर रहेको रकमलाई नयाँ तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तथा लगानीको अभावमा सुरू गर्न नसकेका नयाँ तथा उत्पादनमूलक क्षेत्रका लागि रकम संकलन गर्न प्राइभेट इक्वीटी र भेन्चर फन्ड सञ्चालनको अनुमति (लाइसेन्स) यथाशीघ्र दिई नीतिगत बाधाहरु तत्काल समाधान गर्नुपर्छ ।

छ)    स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भिœयाउन नीतिगत सहजीकरण गरिनुपर्छ । 

                                                                                                        थापा,  ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक हुन्

मङ्गलबार २९ चैत २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया