काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा सरकारको राजस्व असुली लक्ष्य नजिक पुगेको छ । पुससम्मको राजस्व संकलनका लागि आज अन्तिम दिन हो । शुक्रबार ५ बजेसम्ममा ९१.८१ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।
विभागले चालू आर्थिक वर्ष ६ महिनामा २ खर्ब ४१ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमध्ये हालसम्म २ खर्ब २१ अर्ब रुपैयाँ कर उठेको विभागले जनाएको छ ।
यसैगरी पुस मसान्तसम्म ६१ अर्ब २० करोड रुपैयाँ मूल्य अभिबृद्धि कर (भ्याट) असुल गर्ने लक्ष्य राखेकोमा ५३ अर्ब २५ करोड रुपैयाँ उठेको छ । यसैगरी अन्तःशुल्क ४७ अर्ब ६३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ४७ अर्ब ४९ करोड रुपैयाँ उठेको छ ।
यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा आयकर १ खर्ब १२ अर्ब ८ करोड असुल गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ४ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ ।
पुसमा मात्रै विभागले करिब ६६ अर्ब रुपैयाँ कर असुली गरेको छ । मंसिरसम्ममा विभागले कुल १ खर्ब ५५ अर्ब रुपैयाँ कर असुल गरेको थियो ।
विभागले पुसका लागि ८९ अर्ब ९२ करोड रुपैयाँ संकलन लक्ष्य राखेको थियो । जसमध्ये आयकरबाट ६६ अर्ब, भ्याटबाट ११ अर्ब र ब्याज, घरबहाल कर, आन्तरिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क (आन्तरिक), स्वास्थ्य सेवा र शैक्षिक करबाट बाँकी कर असुल गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
घण्टैपिच्छे राजस्व संकलन बढिरहेको आन्तरिक राजस्व विभागले जनाएको छ । शुक्रबार १२ बजे भन्दा अगाडी सम्म कर तिर्ने म्याद रहेकाले यो रकम अझै बढ्न सक्ने विभागले जनाएको छ ।