काठमाडौं । कर्नरिङ गरेर वर्षौंदेखि प्रतिफल दिन नसकेका कम्पनीको मूल्यमा उछाल आएपछि नियामक निकाय धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेपछि लगानीकर्ता बैंकतिर फर्किएका छन् ।
सीमित समूहले वर्षौंदेखि प्रतिफल दिन नसक्ने कम्पनी, इपीएस नेगेटिभ भएका कम्पनी, नेटवर्थ नेगेटिभ भएका कम्पनीको मूल्य दैनिक रूपमा सर्किट लागेपछि बोर्डले ६० भन्दा बढी कम्पनीमा छानबिन सुरु गरेको छ ।
बोर्डले त्यस्ता कम्पनीको सम्पूर्ण विवरण नेपाल स्टक एक्सेचञ्ज (नेप्से)सँग लिइसकेको छ । धितोपत्र बोर्डले कारबाही गर्नु अघि लगानीकर्ताले जलविद्युत् तथा फाइनान्सको सेयर बेचेर वाणिज्य बैंकमा लगानी गरेपछि वाणिज्य बैंकको सेयरमा हरियाली छाएको छ ।
विगत केही दिनदेखि शून्य आम्दानी गरेका कम्पनीको सेयर मूल्यमा चमक आएपछि ठूला लगानीकर्ताले नियामक निकायले हेर्नुपर्ने आवाज उठाइरहेका थिए । साना र सोझा लगानीकर्तालाई सेयर कर्नरिङ गरेर फसाउने र यसले दीर्घकालमा सेयर बजारप्रति नकारात्मक भावना पैदा हुन सक्ने ठूला लगानीकर्ताको बुझाइ छ ।
आफूलाई मन लागेको कम्पनीको मूल्यमा उछाल ल्याउने, एक चरण मूल्य बढाएपछि आफू बाहिरिने र साना लगानीकर्तालाई फसाउने काम भइरहेको थियो ।
वर्षौंदेखि २० देखि ३० प्रतिशतसम्म प्रतिफल दिएका वाणिज्य बैंकको भन्दा वित्तीय विवरण नकारात्मक भएका फाइनान्स कम्पनी र जलविद्युत् कम्पनी मूल्य बढी हुन थाले पछि बोर्डले अनुसन्धान सुरु गरेको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.३२ अंकले बढेर ३०२४.४२ बिन्दूमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दू हो । त्यसैगरी, कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यद्यपि, आइतबार कारोबार रकमले नयाँ कीर्तिमान बनाएको थियो ।