×

विद्युतीय अपराधमा विश्वव्यापी गिरोह, नियमन गर्न सीआईबीसँग छैन समन्वय र प्रविधि

images

काठमाडौं । अपराहन्न ३ बजे । कन्ट्री कोड बेलायत रहेको एउटा नम्बरबाट ह्वाट्सएपमा म्यासेज आयो । म्यासेजमा आफूलाई एलियस फ्र्यांक नामबाट चिनाउँदै मेरो हाल खबर सोध्न थाल्यो । 

विभिन्न अनलाइन साइट सर्फ गर्दा धेरैपटक आफ्नो इमेल एड्रेस लग–इन गरेको छु । सायद कुनै साइटले क्वेरी वा सर्वेक्षणका लागि मेरो फोन नम्बर ‘रिट्राइभ’ गरेर मसँग कुरा गर्न खोजेको होला भन्ने लाग्यो । 

उक्त व्यक्तिलाई आफूले नचिन्ने जानकारी गराउँदै सुरुमा त उसको परिचय र त्यसपछि मेरो सम्पर्क नम्बर कसरी प्राप्त गर्यो भन्ने बारेमा सोधेँ । 
उसले आफू रोमनियाको नागरिक भएको र लन्डनमा चिकित्सा पेसा गर्दै बसिरहेको बतायो । साथै मेरो प्रोफाइल फेसबुकमा देखेको तर आफू फेसबुक नियमित नचलाउने भएका कारण ह्वाट्सएपमा जोडिन आएको कुरा बतायो । 

त्यो कुराले मलाई सशंकित बनायो । कारण मैले फेसबुक साइनअप गरेको र ह्वाट्सएपमा प्रयोग गरेको नम्बर फरक थियो । विस्तारै त्यो व्यक्तिले मसँग व्यक्तिगत विषयमा कुराकानी गर्न थाल्यो । 

मलाई त्यो अनलाइन स्क्याम हो भन्ने आशंका भयो । तैपनि ऊसँग केही नजाने जसरी म्यासेजमा कुराकानी गरिरहेँ । कुराकानी भएको तेस्रो दिनपछि उसले मलाई ‘असल साथी’ को रुपमा लिएको भन्दै ‘सरप्राइज दिन’ विभिन्न उपहार पठाइदिन लागेको बतायो । उपहारमा महंगो गुचीको ह्यान्डब्याग, दुई–तीन जोर लेडिज स्यान्डल र हिल जुत्ता, गहना, टिसर्ट, आइफोन आदि सपिङ गरेको फोटो तथा भिडियो ह्वाट्सएपमा पठायो । 

कुनै अन्तर्राष्ट्रिय कुरियर कम्पनीको स्टिकर भएको तयारी प्याकेज पर्सलको समेत तस्बिर पठाउन भ्यायो । उक्त पार्सलभित्र ४० हजार पाउन्ड स्टर्लिङ पनि राखेर पठाएको छु भनी जानकारी दियो । साथै अप्ठ्यारो नमानीकन उपहार स्वीकार गर्न भन्यो । त्यसपछि भने मलाई उसले कुनै ठूलो स्क्याममा फसाउन खोजेको निश्चित भयो ।

अगाडि गएर के–के गर्ने रहेछ ? कसरी स्क्याम गर्ने रहेछ भनेर बुझ्न उसले भनेअनुसार आफ्नो फर्जी ठेगाना पनि दिएँ । यसपछि उसले अबको तीन दिनमा तिमीले मेरो उपहार आफ्नै ठेगानामा प्राप्त गर्छौ भन्यो  । 

दोस्रो दिन बिहान । भारतीय नम्बरबाट ह्वाट्सएपमा मेसेज आयो । जसमा जोन स्मिथ नाम गरेको एक जना मान्छेले आफूलाई ‘ओभरनाइट एक्सप्रेस कुरियर डेलिभरी कम्पनी वल्र्डवाइड इन्टरनेसनल’ डिप्लोमेटिक एजेन्टको नामबाट चिनायो । 

स्मिथले बेलायतबाट एलियस फ्र्यांक नामक व्यक्तिले मेरा लागि पठाएको उपहार पार्सल भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा आइपुगेको तर कस्टम ड्युटी क्लियरेन्स तथा डेलिभरी चार्जका लागि ५० हजार नेपाली रुपैयाँ उसको खातामा पठाउनु पर्ने बतायो । 
उता एलियासले पनि मेसेज गर्दै ४० हजार डलर मेरो पार्सलभित्र राखी पठाएको र अहिले ५० हजार नेपाली रुपैयाँ पठाए सबै उपहार र पैसा पाउने लोभ देखाउन थाल्यो ।

ठगीको यो शैली थाहा पाएपछि स्मिथलाई बैंक खाता विवरण पठाउन भनें । पहिले त उसले निर्मला खड्का नामबाट एसबीआई बैंकको खाता विवरण पठायो । तर,  त्यसमा मैले पैसा पठाउन नमिल्ने बताएपछि उसले पुनः गोंगबु शाखाको शान्ति चापागार्इंको नामबाट एनआईसी एसियाको खाता विवरण पठायो । 

पैसा चाँडो पठाउन भन्दै ती दुवै व्यक्ति हतारिन थाले । तर, मैले बेवास्ता गरेपछि उनीहरुले मलाई ह्वाट्सएपमा ब्लक गरेर गायब भए । 
सूचना प्रविधिमा कलम चलाइरहेको मलाई त यति सजिलैसँग मीठो कुरा र उपहारको लोभ देखाएर स्क्यामरले फसाउन सक्छन् भने सामान्य मानिसमा यो ठगीको असर कति होला ?

पछिल्लो समय यसरी सूचना प्रविधिको प्रयोग गरी विभिन्न अनलाइन प्लेटफर्मबाट ठगीमा पर्नेको संख्या उल्लेख्य रहेको भोटाहिटीस्थित साइबर ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गी बताउँछन् । 

सूचना प्रविधिको प्रयोग र पहुँच र यसबाट हुने अपराध बढेपछि चालू आर्थिक वर्षको सुरुवातदेखि साइबर ब्युरोले ‘सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध अनुसन्धान युनिट’ नै खडा गरेको छ । 

साइबर ब्युरोमा उजुरी भएका घटनाका प्रकृति र टेक्निक देखेर आफू नै आश्चर्यमा पर्ने गरेको खड्गी बताउँछन् । ‘पछिल्लो समय ह्वाट्सएपमार्फत सबैभन्दा धेरै यस्तो अपराध मौलाएको छ’ प्रहरी निरीक्षक खड्गी भन्छन्, ‘सामान्य ‘लेम्यान’ त ठगिए नै । उनीहरुको चलाखीले बौद्धिक तथा सुरक्षा क्षेत्रकै मानिसहरु पनि ठगिने गरेका छन् ।’

ब्युरोमा आएका गुनासामध्ये केही दिनअघि प्राध्यापक राजेन्द्र वाग्ले (परिवर्तित नाम) लाई अमेरिकाबाट कुनै व्यक्तिको मेल आयो । त्यो मेला यति औपचारिक र व्यावसायिक थियो कि उनले त्यसको आधिकारिकतामा कहिल्यै शंका नै गरेनन् । 

इमेलमार्फत उक्त व्यक्तिले आफू कुनै ठूलो व्यावसायिक समूहसँग सम्बध रहेको र २०२२ को जुन–जुलाईमा नेपालमा एउटा ठूलो अस्पताल निर्माणको थालनी गर्न आउन लागेको बतायो । प्राध्यापक वाग्लेको व्यक्तित्व र विज्ञतालाई अस्पताल निर्माणको सन्दर्भसँग जोडेर उनलाई पनि त्यसमा आबद्ध हुन मेलमार्फत उक्साउन थाल्यो । र, यसका लागि ३ लाख मात्र जम्मा गर्न भन्यो । लामो समयदेखि मेलमा कुराकानी भइरहेको हुँदा प्रोफेसरले पनि त्यसमा पैसा लगानी गर्न तयार भए । तर, एकैपटक ३ लाख पठाउने पैसा नभएकाले सुरुमा ६८ हजार मात्र बैंकमा जम्मा गरे । 

वित्तीय कारोबार गर्दा आफूलाई केही आशंका लागेपछि उनी साइबर ब्युरोमा पुगे । ब्युरोले सबैभन्दा पहिले बैंक रोक्का गरी उनको पैसा फिर्ता गरायो । त्यसपछि थप अनुसन्धान गर्दा त्यो अनलाइन ठगी गिरोह भएको खुल्न आयो । 

‘अनलाइनमा स्क्याम गर्ने यस्ता ठगले पनि कहिल्यै हचुवाको भरमा काम गर्दैनन्’, खड्गी भन्छन्, ‘यिनले तपाईंको तमाम सामाजिक सञ्जाल संगालेर तपाईंको रुचि, झुकाव, सम्बन्ध, पारिवारिक पृष्ठभूमि र मनोविज्ञानलाई बुझेर पासो थाप्छन् । यिनीहरुले सुरुमा तपाईंसँग अन्तरक्रिया गर्छन् । तपाईंका हरेक कमजोरी पत्ता लगाउँछन् । नजिक हुन्छन् र तपाईंबाटै तपाईंका गोप्य कुरा बाहिर ल्याएर प्रहार गर्छन् ।’

गोपाल लामा (परिवर्तित नाम) प्रतिष्ठित निजी विद्यालयका प्रधानाध्यापक हुन् । एक रात ११ बजेतिर उनलाई ह्वाट्सएपमा भारतीय नम्बरबाट कल आयो । उनले उठाए । कलमा अर्कोतिरबाट कुनै महिला मीठो आवाजमा बोलिरहेकी थिइन् । विस्तारै महिलाले व्यक्तिगत कुरा गर्दै भिडियो कलमा आउन आग्रह गरी उत्तेजनात्मक कुरा गर्न थालिन् । लामाले पनि केही सोच्नै सकेनन् । ती महिलाले आफू पनि अर्धनग्न हुँदै लामालाई पनि नग्न हुन उत्साहित गारिन् । दुवैको अस्लिल तस्बिर महिलाले स्क्रिनसट गरेर अर्को पुरुष मित्रलाई पठाइछिन् । त्यसपछि लामालाई ह्वाट्सएपमा अर्को कल आयो । जुन कलमार्फत अर्का एक जना भारतीय पुरुषले हिन्दी भाषामा महिलासँगको कुराकानी र तस्बिरको बारेमा लामालाई बताएपछि उनी त छांगाबाट खसे । त्यसपछि तारन्तार उनलाई उसले त्यही स्क्रिनसट पठाएर ब्ल्याकमेल गरी पैसा पठाउन दबाब दिन थाल्यो । 

लामाले नसुनेपछि त्यसले उक्त स्क्रिनसट लामाकी सालीलाई पठायो । आफ्नो फोटो आफन्तलाई पठाएको थाहा पाएपछि लामा साइबर ब्युरो धाए । 

‘हामीले उनलाई ती व्यक्तिबाट सञ्चारविच्छेद गर्ने सल्लाह दियौं । उनले पैसाचाहिँ पठाएका थिएनन्’ खड्गीले भने, ‘फोटोलाई त हामीले पनि डिलिट गराउन सकेनौं ।’

वाग्ले र लामालाई दुःख दिने पीडकलाई ब्युरोले पक्राउ गर्न त सकेन । तर, सम्भावित वित्तीय ठगीबाट भने दुवै जना जोगिए । 

वाग्ले र लामाजस्ता अनलाइन स्क्याम तथा ठगीको उजुरी लिएर साइबर ब्युरो आउने टन्नै छन् । चालू आर्थिक वर्षमा मात्र ब्युरोमा २ सय २३ अनलाइन ठगीका उजुरी परे । जसमध्ये १ सय ५७ ओटा उजूरीलाई ब्युरोले फछ्र्यौट गरिसकेको छ भने ६६ ओटा उजुरी अनुसन्धानको क्रममा छन् । 

यस्ता उजुरीमा सामान्य ठगीदेखि गम्भीर जघन्य प्रकृतिका ठगी अपराधहरु पनि आउने गर्छन् । 

नेपालको विद्युतीय कारोबार ऐन २०६३ मा अनलाइन ठगीलाई सामान्य सजायको व्यवस्था छ । ‘विद्युतीय कारोबार ऐनअन्तर्गत कसैलाई समात्यौं भने पनि सामान्य पुर्पक्षमै छोडिदिने चलन छ । यसले अपराधलाई झनै प्रोत्साहन दिन्छ ।’ 

विद्युतीय कारोबार ऐनअन्तर्गत पीडकलाई ५० हजार जरिवाना वा ६ महिनासम्मको कैद सजाय वा दुवै हुने व्यवस्था छ । गम्भीर प्रकृतिको मुद्धामा विद्युतीय कारोेबार अपराधमा समेत सामान्य सजायको मात्र व्यवस्था भएकाले अहिले ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ को धारा ५९ अन्तर्गत यस्ता वित्तीय अपराधका घटनामा ठगीको ऐन आकर्षण गरी सीआईबीलाई सुम्पिने गरेको खड्गी बताउँछन् । हालसम्म कतिपय घटनाको फछ्र्यौट यसैगरी भएको छ । 

तर, अनलाइनबाट हुने यस्ता अपराध ट्रान्सबोर्डरमा धेरै घट्ने गर्छन् । विशेष गरी भारत, बेलायतजस्ता विभिन्न मुलुकबाट यस्ता घटना अधिक हुने गरेका छन् । 

इन्टरनेटभित्रको डार्कवल्र्डबाट हुने यस्ता अपराधका पिडक पत्ता लगाउन सजिलो भने छैन । पछिल्लो समय ह्वाट्सएपबाट यस्ता प्रकृतिका घटना धेरै हुँदै आइरहेका छन् । सीमापारिबाट ह्वाट्सएपजस्ता प्लेटफर्ममार्फत यसरी ठूलो रकम ठगी हुँदा ब्युरो आफंै पनि निरीह हुने गरेको छ । 

यस्ता अन्जान पिडकको पहिचान र आईपी एड्रेस ट्रयाक गर्ने पहुँच तथा प्राविधिक दक्षता ब्युरोसँग हुँदैन । यस्तो स्थितिमा अन्तर्राष्ट्रिय नियमअनुसार चल्ने विश्वव्यापी अनलाइन प्लेटफर्म कम्पनीसँग सहयोग माग्दा निराशा हात लाग्ने गरेको ब्युरोको भनाइ छ । 

‘ह्वाट्सबाट कुनै अपराध भए हामीले फेसबुक ह्वाट्सएपको कार्यलयसँग सम्पर्क गर्ने हो । सिंगापुरमा भएको उसको सर्भरसँग सम्पर्क गर्दा एउटा व्यक्तिगत केसका लागि चासो नै देखाउँदैन । जब कुनै घटना घट्छ हामी मेलमार्फत ती कम्पनीसँग सहयोगका लागि पत्र लेख्छौं । हाम्रो मुलुकले अरुसँग म्युचुअल लिगल असिस्टेन्ट ट्रिटी (एमएलएटी) नगरेको हुँदा कहिले उनीहरुले नो एमएलएटी त कहिले आउट अफ जुरिस्डिक्सन भनी जवाफ दिन्छन्’ खड्गीले भने । 

देशभित्रैबाट हुने यस्ता प्रकारका अनलाइन ठगीमा पनि आईपी एड्रेस दिन तथा वित्तीय विवरण तथा लगमा इन्टरनेट सेवाप्रदायक तथा बैंक वित्तीय संस्थाले व्यक्तिगत गोपनीयताका कारण समयमै पर्याप्त जानकारी दिन नसक्दा अनुसन्धानमा अप्ठ्यारो आउने गरेको ब्युरोको अनुभव छ । यद्यपि समयमा समन्वय र जानकारी पाउँदा ब्युरोले धेरैको समस्या पनि समाधान गरिदिएको छ । 

तर, सूचना प्रविधिको माध्यमबाट हुने अपराधमा उजुरी दिन कम्पनीहरु आफंै पनि अग्रसरता नदेखाउने ब्युरो बताउँछ । 

‘फुडमान्डु र भायनेटको मामिलामा पनि त्यस्तै भयो । दुवैले कसले घटाएको घटना रहेछ भनी जान्न त चाहे । तर, उजुरी दिने बेला दुवै पछि सरे । आज सञ्चार प्रविधिको सुरक्षा त्यति संवेदनशील र प्रतिष्ठाको विषय बनेको छ’ उनी सुनाउँछन् । 

इन्टरनेटबाट हुने यस्ता वित्तिय अपराधलाई रोक्न जनचेतना मात्र एउटा विकल्प भएको साइबर सुरक्षाविज्ञ तथा पूर्व प्रहरी नायब महानिरीक्षक डा. राजिब सुब्बा बताउँछन् । 

‘वैश्विकीकरणको युगमा एउटा कम्पनीसँग कानुन र जवाफदेहिता खोजेर साध्य हुन्न । त्यो विश्वका लागि बनेको हो’ डा. सुब्बा भन्छन्, ‘हाम्रोमा अन्तर्राष्ट्रिय सन्धि पनि छैन । त्यसले गर्दा अपराधी कहाँ हुन्छ भनेर कहिल्यै खोजेर सक्दैनौं । भाइबरबाट अपराध भएको खन्डमा त्यो सम्भव । कारण, भाइबरको सर्भर नेपालमै छ । फेसबुकबाट हुँदा नजिकै सिंगापुरमा सर्भर छ । त्यहाँ सहयोग माग्नुपर्छ ।’

जहाँसुकै बसेर अपराध गर्दा पनि सजाय नपाउने हुनाले यस्ता अपराधलाई ‘नन एट्रिब्युटेबल क्राइम’ पनि भनिन्छ ।

साइबर अपराध सोसल इन्जिनियरिङको पाटो हुँदा यसमा जो पनि फस्ने सुब्बा बताउँछन् । आफ्नै केही साथीहरु पनि यसमा फसेको उनले सुनाए । डिजिटल प्रविधि जति व्यापक र अत्याधुनिक हुँदै जाँदैछ यसको असर पनि त्यत्तिकै भयावह हुँदैैछ । 

विश्वमा धेरै मानिस दैनिकजसो साइबर आक्रमण तथा विद्युतीय ठगीमा फस्ने गरका छन् । यसैले अन्तर्राष्ट्रिय कम्पनीको मुख ताकेर साध्य नहुने उनको तर्क छ । 

केही आतंककारी घटनाबाहेक सबैमा कम्पनीले समन्वय गर्दैन ।

सुब्बाका अनुसार यस्ता अपराधलाई रोक्ने एउटै उपाय भनेको व्यापक रुपमा जनचेतना वृद्धि नै हो । तर, यसलाई एउटा साइबर ब्युरोले मात्र गर्न सक्दैन । अतः यसबारे चेतना अभिवृद्धि गर्न सिंगो सरकार नै लाग्नुपर्छ । सानै उमेरदेखि यस्ता अपराधबारे जनचेतना फैलाउन पाठ्यक्रममा सम्बन्धित कुराहरु राख्नुपर्छ । बाहिर पनि साइबर अपराध त हुन्छन् । तर, त्यता सानैदेखि अनलाइनमा कसरी सुरक्षित बस्ने भनेर सिकाइएको हुन्छ । 

‘जनचेतनाको पाटोमा नेपाल एकदमै कमजोर छ ।  वित्तिय अपराधविरुद्धका कानुन देश भित्रका लागि गर्न सकिन्छ । तर, अहिले फैलिरहेका यी अपराध, ठगी त सीमा वारपार भइसकेका छन् । यसमा न कुनै कानुन लाद्न सकिन्छ । न अपराधी खोजेरै सकिन्छ । जघन्य अपराध वा आतंककारी घटनामा कम्पनीले पनि समन्वय गर्ला । नत्र राजिब सुब्बा फेसबुक ह्याक भयो र एक करोड चोरी भयो भन्दा कसैले केही गर्न सक्नेवाला छैन ।’

मङ्गलबार २८ मंसिर २०७८ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया