×

याङ्ग्री र लार्केको छैन टुङ्गो, २ अर्ब ७० करोड खर्चेर राजधानीमा खानेपानी पाइप बिच्छ्याइँदै

images

काठमाडौं । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट राजधानीमा पानी आउने निश्चित नहुँदै काठमाडौंमा वितरणका लागि भन्दै पाइप बिच्छ्याउन सुरु भएको छ ।

याङ्ग्री र लार्के खोला वरपरका जग्गामा केही मुआब्जा वितरण बाहेक अन्य काम नहुँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइप बिच्छ्याउन सुरु गरेको हो । 

२०७८ असार र साउनमा गएको बाढीले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित आउन सकेको छैन । वर्खाका कारण मेलम्चीबाट पानी आपूर्ति बन्द गरिएको छ ।

मेलम्चीको पानी निमित काठमाडौं नआइ याङ्ग्री र लार्के ल्याउन सम्भव नहुने खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले भन्दै आएका छन् । तर, पीआईडीले याङ्ग्री र लार्के त परको कुरा मेलम्चीकै भौगर्भिक अध्ययनको रिपोर्ट नआउँदै चाबहिलदेखि सुन्दरीजलसम्म पाइप बिच्छ्याउन सुरु गरेको  छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलका अनुसार याङ्ग्री र लार्के खोलाबाट काठमाडौंमा पानी ल्याउने लक्ष्य भए पनि तयारी भएको छैन । बाढीले क्षति पुगेपछि मेलम्चीकै भविष्य अन्योलमा छ । 

एसियाली विकास बैंक (एडीबी)को ऋणमा निर्माण गरिएको मेलम्चीको भौगर्भिक अध्ययन पनि उसैले गर्दैछ । सन् २०२१ नोभेम्बरबाट अध्ययन सुरु गरेको एडीबीले अहिलेसम्म मेलम्चीमा पहिरो जानुको कारण बुझाउन सकेको छैन । जसले गर्दा क्षतिको विवरण र स्थायी पुर्ननिर्माणमा बाधा परिरहेको छ । 

मेलम्ची पूर्ण रुपले सञ्चालन भएपछि मात्रै याङ्ग्री र लार्के खोलाबाट थप पानी काठमाडौंमा ल्याउने योजना सरकारको छ । यी दुई खोलाबाट थप दैनिक ३४ करोड लिटर पानी राजधानीमा आपूर्ति गर्न सकिने प्रारम्भकि अध्ययनहरुले देखाएको छ ।

अहिलेसम्म याङ्ग्री र लार्के वरपरका जग्गामा मुआब्जा वितरण बाहेकका काम भएको छैन । आयोजना बनाउन आवश्यक लगानीको निश्चित हुन नसकेको मेलम्ची कार्यकारी निर्देशक पौडेल बताउँछन् । 

‘लागतको जुटाउन टुङ्गो छैन, कुनै सुरसार नै नभएको आयोजनाका लागि पाइप बिच्छ्याउन थालेको समाचार आइरहेका छन् ।’ मेलम्चीका कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘पाइप बिच्छ्याउने काम हाम्रो होइन मैले पनि समाचार बाटै थाहा पाएको हो ।’ 

पीआईडीले १ वर्ष पहिला नै चावबहिलदेखि सुन्दरीजलसम्मको ११ किलोमिटर दूरीमा खानेपानीको पाइप बिच्छ्याउन ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार काम सुरु गरिएको पीआईडीका निर्देशक राजेन्द्र सापकोटा बताउँछन् । 

५०० मिटर पाइप बिच्छ्याइयो 

याङ्ग्री र लार्केका लागि चाबहिलदेखि सुन्दरीजलसम्मको ११ किलोमिटर क्षेत्रमा पाइप बिच्छ्याउनु पर्छ । जसमध्ये हालसम्म ५ सय मिटरमा पाइप बिच्छ्याउने काम सकिएको निर्देशनालयले जनाएको छ । ठेक्का आह्वान १ वर्ष पहिला भए पनि ३ महिना अघिबाट पाइप बिच्छ्याउने काम सुरु भएको छ ।

पीआईडीका निर्देशक राजेन्द्र सापकोटा तत्काल याङ्ग्री र लार्के खोलाको पानी काठमाडौंमा नआए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) बनाउन सकेकमा वर्खाको समयमा बागमती कै पानी वितरण गर्नको लागि पाइप काम लाग्ने बताउँछन् ।

क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘म यो कार्यालयमा आउनुभन्दा पहिला नै ठेक्का आह्वान भएकाले धेरै जानकारी त छैन तर, वर्खाको समयमा बागमतीमै ७÷८ महिनासम्म पानी हुन्छ त्यसलाई पनि वितरण गर्ने योजनाले हुनसक्छ पाइप बिच्छ्याउन योजना अगाडि सारिएको ।’ 

नयाँ पाटीबाट पाइप बिच्छ्याउन सुरु 

अहिले गोकर्णेश्वर नगरपालिको नयाँ पाटीमा पाइप बिच्छ्याउने काम भइरहेको छ । उक्त स्थानमा पीआईडीले पहिला नै जग्गा अधिग्रहण गरी सकेको थियो । जसका कारण हाल पाइप बिच्छ्याउने कार्य निरन्तर भइरहेको छ ।  

पीआईडीले करिब ५ किलोमिटर जग्गा अधिग्रहण गरिसकेकाले उक्त स्थानमा पाइप बिच्छ्याउनको लागि कुनै पनि समस्या हुँदैन । बाँकी स्थानमा सडक विभाग र गोकर्णेश्वर नगापालिकासँग सहकार्य गर्नुपर्ने पीआईडीे जनाएको छ । 

आयोजना उपनिर्देशक एवं सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठका अनुसार पीआईडीले सडक खन्न र आवश्यक सहयोग गर्न नगरपालिका र विभागसँग छलफल गर्दै आएको छ । यद्यपि अधिग्रहण गरिएको जग्गामा काम भइरहेकाले आधिकारिक रुपमा पत्र पठाएर सडक खन्ने अनुमति नमागिएको श्रेष्ठ बताउँछन् । 

चाबहिल–सुन्दरीजलको सडक वर्खापछि खन्ने 

मुख्य सडक खनेर पाइप बिच्छ्याउने काम भने वर्खापछि मात्रै सुरु हुने भएको छ । यसअघि सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सूचना निकालेको छ । जसको कारण वर्खाको समयमा चाबहिल–सुन्दरीजल खण्डको सडकमा यात्रा गर्न भने असर पदैन । 

असोज लागेपछि सडक विभागले खानेपानी आयोजनाको लागि पाइप बिच्छ्याउन अनुमति दिएमा सडक खन्न मिल्ने छ । तर, विभागले सडक खन्ने अनुमति नदिएसम्म पाइप बिच्छ्याउने कार्य अगाडि बढ्न सक्दैन । 

चाबहिल–सुन्दरीजल क्षेत्रको ११ किलोमिटर क्षेत्रमा पाइप बिच्छ्याउन २ अर्ब ७० करोड रुपैयाँ खर्च हुनेछ । उक्त क्षेत्रमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय डायमिटरमा पाइप बिच्छ्याउन लागिएको हो । 
सो रकम पाइप किन्नेदेखि बिच्छ्याउनेसम्मको काम सम्पन्न गर्नुपर्ने हुन्छ । 

३० महिनाको म्याद 

पीआईडीलाई ३० महिनाभित्र पाइप बिच्छ्याउने काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको छ । जसमध्ये १ वर्ष समय सकिएको छ । ‘ठेक्का आह्वानदेखि अहिलेसम्म १ वर्ष समय सकिएको छ । बाँकी रहेको १७÷१८ महिनामा काम सक्नु पर्नेछ’ निर्देशक सापकोटाले भने ।

बुधबार १ असार २०७९ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया