आइतबार​, असोज १० २०७८ ०९:४३ PM

×

सीई ग्रुप विराटनगरमा, २२ कठ्ठामा ‘कोलोनी’ निर्माण गर्दै, ६० करोड लगानी

images

विराटनगर । निर्माण, हाउजिङ, रियलस्टेट र जलविद्युत् आयोजना निर्माण गर्दै आएको सीई ग्रुपले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि लगानी विस्तार गरेको छ । ग्रुपले ‘टेरोटेरियल कन्सेप्ट’ अनुसार विराटनगरमा सीई कोलोनी निर्माण गर्न लागेको हो ।

विराटनगर महानगरपालिका ७ सरस्वती टोलमा सीई कोलोनी निर्माण गर्न लागिएको ग्रुपले जनाएको छ ।  २२ कठ्ठा जमिनमा निर्माण हुने लागेको कोलोनीको लागत ६० करोड रुपैयाँ रहने सीईका वरिष्ठ कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । 

१६ वर्षअघि धरानको गणेशमान चोकमा १५ वटा एकल घर बनाएको ग्रुपले अहिले विराटनगरमा कोलोनीनै निर्माण गर्न थालेको उनले जानकारी दिए । १७ वर्षपछि प्रदेश १ को विराटनगरमा सामूहिक रूपमा एकल आवासीय घर निर्माण गर्ने उद्देश्यले आएको हो । घर बुकिङ भयो अर्थात थप माग आयो भने अर्को परियोजना पनि विराटनगरमा छिट्टै सुरु गर्ने भट्टराईले जानकारी दिए । 

‘धरानमा सामुदायिक रूपमा एकल आवासीय घर मानिसले रुचाएनन्’, उनले भने, ‘त्यही भएर तत्काल अरू कार्यक्रम तथा निर्माण कार्य सञ्चालन गर्न सकेनौं, अब मानिसले विस्तारै बुझ्दै छन् । रुचाउन पनि थालेका छन् । मानिसको माग जति बढ्यो हामी त्यति काम गर्ने हो, १६ वर्षपछि विराटनगरमा गरिएको यो कामले सफलता मिल्ने विश्वास छ ।’

कोलोनी परियोजनाको काम वैशाखदेखि सुरु हुने भनिए पनि कोरोनाका कारण प्रभावित भएको थियो । भदौदेखि नियमित काम सुरु भएको उनको भनाइ छ । कोलिनी निर्माण कार्य २०८० को दसैंसम्म सकिने कार्यक्रम संयोजक भट्टराईले बताए । 

अहिलेसम्म ४ वटा घर बुकिङ भइसकेको छ । ‘घर किन्दा सुरुमा ३० लाख बुझाउनु पर्नेछ’, उनले भने, ‘बाँकी ९ वटा किस्तामा लिने र अन्तिम किस्ता बुझाएपछि घर पास गरिदिन्छौं र लालपुर्जा घरधनीलाई दिन्छौं ।’

एउटा घर ९ धुरदेखि १३ धुरसम्ममा निर्माण हुनेछ । घरको न्यूनतम मूल्य २ करोड २० लाखदेखि २ करोड ७० लाख रुपैयाँसम्म पर्ने उनले क्यापिटल नेपाललाई जानकारी दिए । 

उनका अनुसार तीन लेबलका घरहरू हुनेछन् । ए लेबलको घरको कुल भवनको क्षेत्रफल २१ सय वर्गफिट हुनेछ । यो लेबलका घर २० वटा रहनेछन् । त्यसैगरी बी लेबलको घरको भवनको क्षेत्रफल २३ सय वर्गफिट हुनेछ । यो किसिमको घर ५ वटा निर्माण हुनेछ ।

त्यस्तै अर्को ग्राहकको चाहनाअनुसार बनाइनेछ । ग्राहकले जुन डिजाइन भन्छन्, त्यहीअनुसार बनाउने भट्टराईले जानकारी दिए । यस्तो घर २ वटा मात्र रहेको उनले बताए । 

सीई कोलोनीका विशेषता

ग्रुपले निर्माण गर्न लागेको सीई कोलोनीमा २७ वटा एकल आवासीय घर हुनेछ । घर अढाईतले हुनेछ । सुरक्षा, ढल, पानी, बिजुली, बाटो लगायतका सबै सुविधाहरू रहनेछन् । घरहरू राष्ट्रिय भवन आचार संहिताअनुसार निर्माण हुनेछ । भूकम्प प्रतिरोधी घरहरू निर्माण हुनेछ । 

एउटा घरमा ४ वटा सुत्ने कोठा हुनेछ । ३ वटा ट्वाइलेट हुनेछ । एउटा एटेज कोठा हुनेछ भने एउटा भान्सा कोठा हुनेछ । बैठक कोठा पनि रहनेछ । पूजा कोठा घरको सबैभन्दा माथि रहनेछ । 

कोलोनीभित्र फूलबारी पनि हुनेछ । बच्चाका लागि खेल्ने खुला ठाउँ पनि रहने कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए । सामुदायिक अफिस पनि हुनेछ । मेन गेट हुनेछ । सुरक्षाकर्मी रहनेछन् । कसैलाई घर छाडेर हिँड्नुपर्याे भने त्यहाँ सुरक्षाकर्मीले सुरक्षा दिने छन् ।

कोलोनीमा रहने घर परिवारलाई सामूहिकताका बारेमा सिकाइनेछ । घरहरू निर्माण भएर मानिसहरूले किनिसकेपछि ६ महिना कम्पनीका कर्मचारीहरु रहनेछन् । जसले समुदाय कसरी चलाउने भनेर सिकाउनेछन् । समुदायलाई दक्ष बनाएर कोलोनी घरधनीलाई जिम्मा लगाउने पनि उनले बताए । 

सबै एकैनासको घर हुने र तला नथप्ने हुँदा कसैलाई केही असर नगर्ने किसिमको हुन्छ । बत्ती, एसी, फ्रिजलगायतका सामान राख्दा कति बिजुलीको भोल्टेज चाहिन्छ त्यो सबै इलेक्ट्रिक इन्जिनियरले बनाएको हुने भएकाले समस्या नहुने उनको भनाइ छ ।

सबै किसिमले गुणस्तरीय सुविधासहितको घर कोलोनीमा रहने उनले जानकारी दिए । ग्राहकलाई कुनै समस्या नहोस् भनेर विचार गरेर नै घरहरू निर्माण गरिनेछ । 

टेरोटेरियल कन्सेप्टमा सीई

काठमाडौंमा मात्र केन्द्रित सीई ग्रुपले लगानीलाई ७ वटै प्रदेशमा पुर्याउने तयारी थालेको छ । यो कन्सेप्टअनुसार ग्रुपले विराटनगरमा सीई कोलोनी भनेर सुरु गरेको अध्यक्ष विजय राजभण्डारीले बताए । उनका अनुसार हाउजिङका लागि प्रदेश नम्बर २ मा ३ वटा प्रस्तावहरू आएका छन् ।

गण्डकीको पोखरामा २ वटा परियोजना अघि बढाएको उनले जानकारी दिए । यस्तै गण्डकी प्रदेशको राजधानी पोखरामा लेटभ्यू अपार्टमेन्ट ल्याएका छ । पहिलेको फेवा प्रिन्स होटललाई प्राप्ति (एक्वायर) गरेर साझेदारीमा अघि बढाएका राजभण्डारीले बताए । 

ग्रुपले हाउजिङ, अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्ससहितको ‘मिक्सयुज्ड’ प्रोजेक्ट ल्याएको छ । लुम्बिनीमा हब लुम्बिनी छ । तिलोत्तमा गाउँपालिकामा माया कम्प्लेक्स ल्याउने तयारीमा सीई ग्रुप छ । कर्णाली र सुदूरपश्चिमबाट अफर आए पनि अहिले त्यहाँ जाने सोच नरहेको उनले जानकारी दिए ।

बुधबार ३० भदौ २०७८ ०६:४७ AM मा प्रकाशित

प्रतिक्रिया