काठमाडौं । निरन्तरको गिरावटलाई पच्छ्याउँदै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८०० बिन्दुबाट तल लागेको छ । बुलिस बजार भनेर चर्चा भइरहे पनि बजार भने निरन्तर खच्किँदो छ ।
खासगरी, साउन अन्तिममा आएको मौद्रिक नीतिले लिएका नीतिहरुका कारण बजार ओरालो लागेको हो । सुरुवाती चरणमा केन्द्रीय बैंकको नीतिले ब्याजदर, तरलता र सेयर धितो कर्जामा खासै असर नगर्ने आँकलन गरेर सेयर बजार उचाले पनि अन्ततः केन्द्रीय बैंकका नीतिले बजारलाई नकारात्मक प्रभाव पारेको छ ।
सुरुवातमा ब्याजदर बढ्दैन, तरलता अभाव हुँदैन भनेर हल्ला चलाइयो । मौद्रिक नीति पछि जारी निर्देशनमा सेयर धितो कर्जा सीमाको व्यवस्थालाई कस्दै व्यक्ति वा संस्थाको सट्टा एक ग्राहक कर्जामा रुपान्तरण गरेपछि त्यसको सीधा असर सेयर बजारमा परेको हो । भदौ २ गते ३१९८.६ बिन्दूमा रोकिएको नेप्से सूचक त्यसयता एकाध समयमा बढे पनि निरन्तर घट्दो छ ।
खासगरी, केन्द्रीय बैंकले कर्जा पुँजी निक्षेप अनुपातलाई हटाएर कर्जा निक्षेप अनुपात कायम गरेपछि तरलतामा दबाब परेको छ । अर्कोतिर केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत नै ब्याजदर बढ्ने अस्त्र प्रयोग गरेका कारण ब्याजदर बढ्न सुरु भइसकेको छ । बैंकहरुले निक्षेपमा व्याजदर बढाउन थालिसकेका छन् । तर, कर्जाको ब्याजदर बढ्ने भने केही समय लाग्ने छ । निक्षेपको ब्याजदर बढेसँगै आधारदर बढ्छ । बैंकहरुको आधारदर बढेपछि स्वतः कर्जाको ब्याजदर बढ्छ ।
भदौ २ पछि घटेको बजारले अझै घट्ने संकेतहरु देखाइरहेको छ । बिहीबार १ः४० सम्म बजार घटेर २७९६.३४ मा झरेको छ । बिहीबार मात्रै ९३ अंकले बजार सूचक ओरालो लागेको हो । यतिबेलासम्म ६ अर्ब रूपैयाँभन्दा बढीकाे काराेबार भइसकेकाे छ । जबकी मंगलबार र बुधबार पूरा काराेबार नै ५ अर्ब हाराहारी थियाे । लगानीकर्ताकाे मनाेबल खच्किँदाे छ । यसैलाइ देखाए ठूला लगानीर्ता सरकार र नियामकमाथि दबाब सिर्जना गर्न खाेजिरहेकाे छ । त्यसकाे असर बजार अझ झर्ने अाँकनल गर्न सकिन्छ । बजारले २७८० बिन्दुमा टेवा पाएन भने २६०० छुन सक्छ ।
यसदिन नियमित कारोबार रहेको मनकामना स्मार्ट लघुवित्त र युनिलिभर नेपालको बाहेक १८३ कम्पनीको सेयर मूल्य घटेको छ । यद्यपि, डिबेञ्जरहरुको मूल्यमा भने आज सुधार देखिएको छ ।
याे पनि हेर्नुहाेस्
ब्याजदर वृद्धि र अर्थमन्त्रीसँगको वार्ता हौवाले सेयर बजार पेनिक, ‘स्टप लस’को मोडमा लगानीकर्ता