काठमाडौं । सेयर बजारले विस्तारै आफ्नो रफ्तार समाउन थालेको छ । आइतबार कारोबार र बजार सूचकले बजारमा नयाँ रेकर्ड बनाएको थियो । सोमबार पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको छ ।
केही समयसम्म बजारमा करेक्सन आएको थियो । तर, राजनीतिक खिचातानी सकिएपछि बजारले पनि आफ्नो लय समातेको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ । केही समयको करेक्सन र साइडवेजपछि बजारले आइतबारबाट फेरि नयाँ उचाइको सुरुवात गरेको हो । अब विस्तारै नयाँ रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा आइपुगेको छ । ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको छ । यस दिन हाइड्रोपावर र अन्य समूहमा बढी चमक आएको छ । १३ मध्ये १० वटा समूहको सूचक वृद्धि भएका छन् ।
आइतबार कारोबार १० अर्ब ४० करोड रुपैयाँभन्दा बढी भएको थियो । कारोबार रकम बढ्नुले आगामी दिन अझै बजार बढ्ने देखिन्छ ।
सिजनको आगमनसँगै बजारले नयाँ उचाईहरु तय गर्न थालेको हो । बजार सामान्य अवस्थामा रहेकै बेलामा पनि जेठदेखि भदौसम्म बजारमा चमक आउने विगतको पनि परम्परा हो ।
अहिले त त्यसै पनि बजार बुल रनमा छ । बुलिस प्रवृत्तिको बजार भएका बेला सिजनमा अझै बढी चमक आउनुलाई स्वभाविक मान्न सकिन्छ । आगामी दिनहरु पुँजी बजारका लागि थप सुखद् हुने अनुमान विश्लेषण गरिएको छ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आएको छ । औसतमा कम्पनीहरुले राम्रो नाफा कमाएका छन् । बैंकहरुको पनि नाफा वृद्धि भएको छ । बिमा तथा माइक्रोफाइनान्सहरुको रिपोर्ट पनि उत्साहप्रद छ । यस्तै, बैंक ब्याजदर पनि सस्तो छ । वित्तीय प्रणालीमा सहज तरलताको अवस्था छ । यस्तै, जेठ लागेसँगै सेयर बजारमा सिजन सुरु भएको छ ।
यी परिदृश्यहरुका आधारमा सेयर बजारले आगामी दिनहरुमा अझै सकारात्मक लय समाउने अपेक्षा गरिएको छ । अर्थमन्त्रीले कोरोना प्रभावितलाई मुख्य राहत पुग्ने गरी बजेट ल्याउने बताएका छन् । यसबाट पनि वित्तीय क्षेत्र सुधारमा राहत पुग्ने अपेक्षा गरिएको छ । त्यसो त सेयर बजारको चाल र प्रवृत्ति सधैं एउटै हुँदैन ।
यसले विभिन्न चरणमा फरक–फरक किसिमका प्रवृत्तिहरु देखाउने गर्दछ । यसर्थ, दीर्घकालीन लगानीकर्तालाई यी चरण र प्रवृत्तिबाट खासै नकारात्मक असर गर्दैन ।
तर, अल्पकालीन लगानीकर्ताले भने तत्कालको चाल र गति अध्ययन गरेरै खरिदबिक्रीको निर्णय लिने गर्छन् । लगानीकर्ताले कम्पनीको खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य, आम्दानी अनुपात र व्यवसाय विस्तारको सम्भावना लगायतलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनु उचित हुने अनुभवीहरुको सुझाव रहने गरेको छ । साथै, बजार कहिलेकाँही लामो समयसम्म नबढ्ने वा घट्नसमेत सक्ने भएकाले सोहीअनुसार तयारी गर्न सक्नुपर्छ ।