काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेसँगै यहाँ रहेका अमेरिकी नागरिकहरु धमाधम स्वदेश फर्कन थालेका छन् । वैशाख २९ गते अमेरिकाले ट्राभल एड्भाइजरी जारी गर्दै तत्कालै नेपालमा रहेका आफ्ना नागरिकहरुलाई फर्कन अनुरोध गरेसँगै उनीहरु फर्किन थालेका हुन् । अमेरिकाले तत्कालका लागि नेपाल भ्रमणमासमेत निषेध गरेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले विज्ञप्ति जारी गरेर नागरिकहरुलाई उद्धारका लागि काठमाडौंस्थित अमेरिकी दूतावासलाई चार्टर्ड उडानको व्यवस्था गर्न निर्देशन दिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले २५ तारिखसम्म विभिन्न समयमा कतार र टर्किस एयरलाइन्सको उडानका लागि दूतावासले अनुमति मागेको जानकारी दिए ।
प्राधिकरणको अनुमतिसँगै आइतबारबाटै अमेरिकी नागरिकहरु आफ्नो मुलुकमा फर्कन सुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक प्रतापबाबु तिवारीले आइतबार २ सय ५६ जना नागरिकहरु कतार एयरवेजमार्फत अमेरिका फर्किएको बताए ।
यस्तै सोमबार राति पनि सोही हाराहारीमा टर्किस एयरलाइन्समार्फत जाने तयारी गरेका छन् । आइतबार गएका मध्ये धेरै नेपाली नागरिकहरु पनि थिए । डिभी परेर अमेरिकामा बस्दै आएका नेपाली फर्किएको हुन सक्ने उनको भनाइ छ ।
सोमबारको उडानका लागि पनि टर्किस एयरलाइन्स नेपालमा आइसकेको छ । कतिको संख्यामा अमेरिकनहरु फर्किन्छन् भन्ने एकिन डाटा भने प्राधिकरणसँग छैन ।
दूतावासले आफ्नो मुलुक फर्कन चाहनेहरुले फाराम भर्न अनुरोध गरेको छ । त्यही आधारमा २५ तारिखसम्मका लागि दुईवटा उडानका लागि अनुमति मागेको प्राधिकरणको भनाई छ । यसमा अझै संख्या बढ्न सक्ने आकंलन गरिएको छ ।
पछिल्लो समय नेपालमा कोभिडको संक्रमणका साथै मृतकको संख्या पनि ह्वात्तै बढेको र उपचारको राम्रो प्रबन्ध नभएको भन्दै यहाँ रहेका धेरै अमेरिकी नागरिकहरुले आफ्नो मुलुकमा फर्कन चाहिरहेका थिए ।
सरकारले जेठभरि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उनीहरु त्यतिकै बसिरहेको बेला दूतावासको पहलमा लैजाने भएपछि राहतको महसुस गरेका छन् । अमेरिका जान चाहने नागरिकका लागि पीसीआर परीक्षण अनिवार्य रहेको र त्यसको जिम्मा आफैंले लिनुपर्ने छ।
यसैबीच सरकारले नेपालमा रहेका भारतीय नागरिकहरुलाई साउदी अरबमा लैजानका लागि १० वटा उडानका लागि अनुमति दिएको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरी अनुमति दिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
१८ मे (जेठ ४ गते) बाट भारतीय नागरिकलाई साउदी लैजान सुरु गर्नेछन् । काठमाडौंमा निषेधाज्ञाअघि आएर यतै रोकिएका भारतीयका लागि यो सुविधा दिइएको बताइएको छ ।