×

एनसेलको व्यापारमा निरन्तर गिरावट, चार वर्षमा आम्दानी १९ अर्ब घट्यो 

images

काठमाडौं । बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको व्यापार निरन्तर खस्किँदै गएको छ । सन् २०१८ मा झन्डै ६० अर्ब रुपैयाँबराबर कारोबार गरेको एनसेलले २०२१ मा आइपुग्दा ४० अर्बमा चित्त बुझाएको छ। चार वर्षमा एनसेलको आम्दानी १९ अर्ब  घटेको उसको वित्तीय विवरणमा उल्लेख छ । 

२०२१ मा एनसेलले ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख, २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

आम्दानीको ग्राफ निरन्तर ओरालो लागेका बेला एनसेलले लगानीकर्तालाई सतप्रतिशत लाभांश दिँदै आएको जनाएको छ । जनरल सेलुलर मोबाइल (जिएसएम) सेवा प्रदान गर्दै आएको एनसेलको २०२१ मा आम्दानी ५६ प्रतिशत र २०२० मा ६४ प्रतिशत घटेको छ । इन्टरनेट ब्रोडब्यान्ड हिस्सा बढ्दै गएपछि भ्वाइसबाट हुने आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । 

पछिल्ला वर्ष एनसेलमात्र नभई सरकारी स्वामित्वको नेपाल टेलिकमको पनि आम्दानी घट्दै गएको छ । यद्यपि, गत आर्थिक वर्ष टेलिकमको नाफा बढेको छ । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुपको छ । बाँकी २० प्रतिशत नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालि रहेको छ । 

२०१६ अप्रिलदेखि आजियाटाले एनसेलको स्वामित्व लिएको हो । एनसेल आजियाटाको २८ अर्ब ६४ करोड ५० लाख रुपैयाँ ऋण छ । 
कम्पनीले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार तयारीका लागि उक्त ऋण लिएको हो । कम्पनीको ऋणको रेटिङ इक्रा नेपाल लिमिटेडले गरेको छ । 

स्पाइस नेपाल प्राइभेटको नाममा सन् २००१ मा स्थापना भएको हो । सन् २००५ मा मेरो मोबाइल ब्राण्डमा जीएसएम सेवा सुरु गरेको हो । सन् २००८ मा युरोपियन ब्राण्ड टेलिसोनेराले ८० प्रतिशत स्वामित्व किनेपछि एनसेल ब्राण्डबाट सेवा दिएको थियो ।

सन् २०१७ मा मेलेसियाली कम्पनीले बहुमत सेयर खरिद गरेको हो । सन् २०२० अगस्टमा सन् एनसेल आजियाटा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । 

बुधबार १ भदौ २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया