×

खोटेहाङ गाउँपालिकाद्वारा  ५५ करोड ४३ लाख बजेट प्रस्तुत

images

खोटाङ  । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि  ५५ करोड ४३ लाख ९३ हजार १२० रूपैयाँ बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालूतर्फ  १० करोड ६ लाख ५५ हजार ५६० रूपैयाँ, पुँजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० रूपैयाँ बजेट प्रस्तुत गरेको हो । 

सशर्त अनुदानमा  २८ करोड १ सय रूपैयाँ, विशेष अनुदानमा २ करोड ५० लाख रूपैयाँ, समपूरक अनुदानमा १ करोड ७० लाख रूपैयाँ बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन्।

यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज नगर–गाउँसभा गर्ने जनाएको छ । केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका प्रमुख समिर राईले बताए। 

जिल्लाका अन्य सात स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छ । 

अर्थ मन्त्रालयबाट आव २०७९/८० का लागि जिल्लाका १० स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी ३ अर्ब ६२ करोड १ लाख रूपैयाँ बजेट उपलब्ध गराएको हो । 

जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले  ६५ करोड १५ लाख रूपैयाँ र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले  २४ करोड २४ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले  ४९ करोड ६ लाख रूपैयाँ, ऐसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख रूपैयाँ, केपिलासगढी गाउँपालिकाले  २५ करोड ८६ लाख रूपैयाँ, खोटेहाङ गाउँपालिकाले ४३ करोड १ लाख रूपैयाँ बजेट पाएका छन् । 

यस्तै जन्तेढुङ्गा गाउँपालिकाले  २९ करोड ९५ लाख रूपैयाँ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  ३७ करोड ९२ लाख रूपैयाँ, साकेला गाउँपालिकाले  २५ करोड ६० लाख रूपैयाँ र रावाबेंसी गाउँपालिकाले  २८ करोड ७३ लाख रूपैयाँ बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि ३ अर्ब ५७ करोड ६४ लाख रूपैयाँ बजेट उपलब्ध गराएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि ६ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित संघीय सांसदको कमजोरी रहेको जिल्लावासीको आरोप छ ।

बिहीबार ९ असार २०७९ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया