मङ्गलबार, कात्तिक २ २०७८ ०४:२७ AM

×

ब्याजदर हेरफेरमा १३ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको छानबिन

images

काठमाडौं । संस्थागत निक्षेपमा १३ वटा वाणिज्य बैंकले ३ महिना नपुग्दै ब्याजदर हेरफेर गरेको विषयमा राष्ट्र बैंकले छानबिन थालेको छ । बोलकबोल (बिडिङ्ग) संस्थागत निक्षेपमा ३/३ महिनामा ब्याज परिवर्तन गर्न नमिल्ने राष्ट्र बैंकको नियम भए पनि १३ वटा बैंकले पछिल्लो पटक संस्थागत निक्षेपमा ब्याजदर हेरफेर गरेको सार्वजनिक गरेपछि राष्ट्र बैंकले छानबिन थालेको हो । 

राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई २०७८ साउनदेखि २०७८ असोज ४ गतेसम्मको विश्लेषण गरी सोसँग सम्बन्धित ‘वर्कसिट’ माग गरी छानबिन गर्न यसअघि नै बैंकहरुलाई पत्राचार गरिसकेको छ । राष्ट्र बैंकले त्यसमध्ये १३ बैंकको ब्याजदर हेरफेरको तथ्याँक राख्दै यसमा मासिक निक्षेपमा मात्र ब्याजदर हेरफेर हो या बोलकबोल संस्थागत निक्षेप हेरफेर हो सोको अध्ययन गरेको जनाएको छ । 

केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ को बुँदा १५ मा हरेक तीन/तीन महिनामा बोलकबोल संस्थागत निक्षेपमा ब्याजदर हेरफेर गर्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंकका अनुसार एनएमबी, सेञ्चुरी कमर्सियल, सिटिजन्स्, सिभिल, ग्लोबल आइएमई, हिमालयन, कुमारी, नबिल, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), नेपाल बंगलादेश, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंकले संस्थागत निक्षेपमा ब्याजदर हेरफेर गरेका छन् । यो ब्याजदर बोलकबोलमा हो या होइन भनेर राष्ट्र बैंकले सम्बन्धित बैंकसँग थप डकुमेन्ट मागेको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंकहरुले पछिल्लो पटक संस्थागत निक्षेपमा गरेको ब्याजदर हेरफेरको विषयमा राष्ट्र बैंकले वर्कसिट मगाएर नै छानविन गरेको बताए । ‘यसमा बोलकबोलका लागि प्रकाशित ब्याजदर ३ महिना नपुग्दै हेरफेर भएको पाइए सम्बन्धित बैंकलाई कारवाही हुन्छ,’ उनले भने । 

केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार एनएमबीको फागुन, चैत र बैशाखमा ८ प्रतिशत ब्याजदर कायम भएको थियो । एनएमबीले जेठमा पनि ८ प्रतिशत नै ब्याजदर निर्धारण गरेकोमा असारबाट ब्याजदर परिवर्तन गरेको छ ।

एनएमबीले असारमा ७.८० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । जबकी जेठमा एनएमबीले ८ प्रतिशत ब्याजदर निर्धारण गरेपछि साउनसम्म एउटै ब्याजदर कायम हुनुपर्छ । यहाँ असारमा ७.८०, साउनमा ७.८० र भदौमा पनि ७.८० बनाएको छ । असोजमा भने ९.५२ प्रतिशत ब्याजदर तोकेको छ । 

त्यसैगरी, सेञ्चुरीको असार र साउनमा ८ प्रतिशत ब्याजदर तोकिएको छ । भदौमा ७.५० र असोजमा ९.२५ प्रतिशत पुर्याएको छ । 
सिटिजन्सले असारमा ७.५५, साउनमा ८.१५, भदौमा ८ र असोजमा ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिभिल बैंकको असारमा ७.५१, साउनमा ७.७५, भदौमा ८.०५ र असोजमा ८.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

त्यसैगरी, ग्लोबल आईएमई बैंकको असारमा ८.१, साउनमा ७.१, भदौमा ७.१ र असोजमा ९.५० प्रतिशत ब्याज पुर्याएको छ । हिमालयन बैंकको असारमा ७.७५, साउनमा ७, भदौमा ६.५० र असोजमा ९.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । 

कुमारी बैंकको असारमा ७, साउनमा ८.१५, भदौमा ७.५० र असोजमा ८.१५ प्रतिशत ब्याज निर्धारण गरेको केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

नबिल बैंकको असारमा ६.५१, साउनमा ६.५१, भदौमा ८.०१ र असोजमा ९.२६ प्रतिशत पुगेको छ । एनसीसीको असारमा ७.५०, साउनमा ८, भदौमा ८.२६, असोजमा ९.२६ प्रतिशत छ । नेपाल बंगलादेश बैंकको असारमा ७.७५, साउनमा ७.५०, भदौमा ७.५० र असोजमा ८.७६ प्रतिशत पुगेको छ । प्रभु बैंकको असारमा ७ प्रतिशत, साउनमा ७, भदौमा ८.२५ र असोजमा ८.२५ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको असारमा ७.१०, साउनमा ७.१०, भदौमा ७.५० र असोजमा ८.०६ प्रतिशत पुगेको छ । सनराइज बैंकको असारमा ७, साउनमा ७.५७, भदौमा ७.५७ र असोजमा १०.०७ प्रतिशत पुगेको छ । 


 

बिहीबार ७ असोज २०७८ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया