×

सेयर बजार घटेको भन्दै दुई दर्जन कम्पनीले कारोबार खुलाउन चाहेनन् 

images

काठमाडौं । मर्जर वा प्राप्तिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २५ कम्पनीको कारोबार रोक्का गरेको छ । नेप्सेले १ वर्षदेखि ३ दर्जन बढी कम्पनीको कारोबार रोक्का गरेको थियो ।  जसमा एक दर्जक कम्पनीको कारोबार खुलिसकेको छ । मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका आधा दर्जन र मर्जरको प्रक्रियामा रहेका ५ कम्पनीले साधारण सेयर फुकुवा गरेका हुन् । 

त्यस्तै, नेप्सेले मर्जरका लागि ५ वाणिज्य बैंक, ६ लघुवित्त र १४ बिमा कम्पनीको सेयर कारोबार रोक्का  छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते बिहीबारदेखि लागू हुने गरी संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ जारी गरी रोक्का कारोबार खोल्न भनेको हो । त्यसपश्चात् ३ वाणिज्य बैंक र दुई लघुवित्त संस्थाले साधारण सेयर फुकुवा गरेर कारोबार सुरु गरेका छन् ।

अन्य २५ कम्पनीले भने रोक्का कारोबार फुकुवा गरेका छैनन् ।  लामो समयदेखि कम्पनीहरूले रोक्का कारोबार फुकुवा नगर्दा लगानीकर्ता मारमा परेका छन् । लगानीकर्ताले १ वर्षदेखि रोक्का कम्पनीको कारोबार गर्न पाएका छैनन् । नेपाल राष्ट्र बैंकले संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी कारोबार रोक्का गर्ने र खोल्ने जिम्मेवारी बोर्डलाई सुम्पिएको थियो । 

त्यसपश्चात् बोर्डले साधारण सेयर १५ दिन बढी रोक्का गर्न नपाउने गरी नयाँ निर्देशिका, २०७९ जारी गर्यो । संस्थाहरू मर्जमा जान समझदारी (एमओयू) गरेपश्चात आधारभूत सेयरधनीको कारोबार रोक्का गर्ने अन्य साधारण सेयर बढीमा १५ दिन रोक्का गर्ने निर्देशिकामा उल्लेख छ । 

निर्देशिकाअनुसार यसअघि मर्जका लागि कम्पनीहरूको रोक्का सेयर कारोबार फुकुवा गर्नुपर्नेछ । कम्पनीहरूले आधारभूत सेयर वितवरण सहितको विवरण नेप्सेमा बुझाएर साधारण सेयर फुकुवा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

निर्देशिका लागू गरिएको करिब दुई साता बित्दासमेत २५ कम्पनीले साधारण सेयर फुकुवा गर्ने छाँटकाँट देखाएका छैनन् । नेप्सेमा बैंक वित्तीय संस्थाका साथै १४ बिमा कम्पनीको कारोबार रोक्का छ । हाल कुनै बिमा कम्पनीले कारोबार फुुकुवा गरिसकेका छैनन् । 

रोक्का कारोबार खोल्न तयारीमा रहेको अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमारबहादुर खत्रीले बताए । ‘हामीले नेप्सेमा कुरा गरेका छौं, उनले भने, ‘नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गर्यो । तर, कारोबार फुकुवाको मिति तय गरेको छैन । हामी आधारभूत सेयरधनीको विवरण तयार पारी कारोबार फुकुवाको लागि चाँडै नेप्सेमा निवेदन दिन्छौं ।’

साधारण सेयर फुकुवाको प्रक्रियामा रहेको खत्रीको भनाइ छ ।  अधिकांश कम्पनीले बजार बढेको मौका छोपेर कारोबार खोल्न नेप्सेका उच्च अधिकारी बताउँछन् । ‘केही कम्पनीले अल्पकालीन स्रोतबाट मूल्य टिकाउन खाजेका हुन्छन्, ती अधिकारीले क्यापिटलसँग भने, ‘अहिले सेयर बजार तल आएको छ । बजार तल भएको अवस्थामा ती कम्पनीहरू कारोबार खोल्न चाहँदैनन् ।’

अधिकांश कम्पनीले बजार घटेको भएर कारोबार खोल्न नचाहेको ती अधिकारीको भनाइ छ । ‘निर्देशिकामा आधारभूत बाहेकको सेयर खुल्ने उल्लेख छ,’ उनले भने, ‘केही कम्पनीको आधारभूत लगानीकर्ताले चासो नदिएकाले सेयर कारोबार खुलेन ।’ सञ्चालक समितिमा आधारभूत सेयरधनीहरूको निर्णय चल्ने र उनीहरूले आफ्नो सेयर रोक्का रहेने भएपछि अन्य सेयर खोल्न चासो नदेखाएको उनको भनाइ छ । 

मर्जरका लागि गत वैशाख २८ गते मर्ज वा प्राप्तिका लागि गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भयो । कम्पनीको कारोबार रोक्का भएको ७ महिना भयो । लगानीकर्ताले सात महिना यी कम्पनीको कारोबार गर्न पाएनन् । 

कम्पनीहरूको कारोबार रोक्का हुँदा नेप्से परिसूचक २२ सयको हाराहारीमा थियो । सात महिनापछि (अहिले) नेप्से परिसूचक १९ सय बिन्दुमा झरेको छ । कारोबार रोक्का हुँदा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४५१ रुपैयाँ, युनियन लाइफको ५२१ रुपैयाँ र प्राइम लाइफको सेयर मूल्य ५६९ रुपैयाँमा रोक्का भएको हो । 

सात महिनाको अवधिमा नेप्से परिसूचक न्यून १८३१ बिन्दु र उच्च साढे २२ सय बिन्दुनजिक पुगेको थियो । कम्पनीहरूको कारोबार रोक्का मिति र आज (मंसिर ८ गते)सम्म नेप्से परिसूचक करिब ३ सय बिन्दुले घटेको छ । यस अवधिमा समग्र बिमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार रोक्का रहेका अधिकांश कम्पनीको रोक्का मितिपछि सेयरबजार घटेको छ । 

सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरन्स, नेसनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्त, डिप्रोक्स लघुवित्त र आर्दश लघुवित्त, नेपाल क्रेडिड एन्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकको कारोबार रोक्का हुँदा मितिभन्दा अहिले नेप्से परिसूचक बढेको छ भने अन्य १९ कम्पनीको भने घटेको छ । 

अधिकांश कम्पनीको कारोबार रोक्का भएपछि नेप्से घटेकाले बजार बढेको मौका छोपेर कारोबार खोल्ने जानकार बताउँछन् । 
अन्तिमपल्ट अर्थात् असोजमा नेसनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्त एमओयू गरे । त्यसपछि नेप्सेमा तिनीहरूको कारोबार रोक्का भएको छ । 

कारोबार रोक्का हुँदा नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य २ हजार र समिट लघुवित्तको ९६३ रुपैयाँमा थियो । सोही समयमा नेप्से परिसूचक १८ सय ६६ बिन्दुमा थियो । लघुवित्तको कारोबार बन्द हुँदाभन्दा अहिले नेप्से परिसूचक बढेको छ । 

हालसम्म तीन वाणिज्य र दुई लघुवित्त कम्पनीले सेयर कारोबार फुकुवाका लागि आवेदन दिएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।  ‘हाल नेप्सेमा २५ कम्पनीको कारोबार रोक्का छ,’ उनले भने, ‘नेपाल इन्भेस्टमेन्ट, मेगा बैंक, सिभिल बैंक र दुई लघुवित्तको आधारभूत सेयरधनी बाहेको सेयर फुकुवा भइसकेको छ ।’

अन्य २५ कम्पनीले कारोबार खोल्न निवेदन नदिएको पराजुलीले बताए । कतिपय कम्पनीले कारोबार खोल्ने प्रक्रिया नबुझेको पाइएको पराजुलीको भनाइ छ । ‘केही कम्पनीले नेप्सेमा फोन गरिरहेका छन्,’ उनले भने, ‘ती कम्पनीले कसरी कारोबार फुकुवा गर्ने भनेर बुझिरहेको अवस्था छ ।’

रोक्का कारोबार खोल्न कम्पनीलाई आधारभूत सेयरधनीको पहिचान गरी अन्यको सेयर फुकुवाका लागि आवेदन दिन भनेको पराजुलीको बताए । त्यसैगरी नेप्सेमा डेढ दर्जन बिमा कम्पनीको समेत कारोबार रोक्का गरिएको छ । 

हालसम्म कुनै पनि बिमा कम्पनीले कारोबार खोल्न नेप्सेमा आवेदन दिएका छैनन् । निर्देशिका सुरुवाती चरणमा हुँदा कम्पनीहरूलाई कारोबार फुकुवाका लागि फोर्स नगरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । केही समय हेर्छौं, कम्पनीहरूले साधारण सेयर फुकुवा नगरे फोर्स गर्ने र कारबाहि थाल्ने केसीले बताए । 
 
 

बिहीबार ८ मंसिर २०७९ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया