×

रामकुमारीको ९ महिनाः विवाद र चर्चासँगै सहरी मन्त्रालयमा नीतिगत तहमा सुधारको प्रयास 

images

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सचिव तथा युवा नेतृ एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्री करिब ९ महिना सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर असार १२ गते बिदा भएकी छिन् ।

२०७८ असोज २२ गते पहिलो पटक मन्त्री बनेकी झाँक्री युवा नेतृसँगै स्पष्ट वक्ता र निडर व्यक्तिको रूपमा परिचित छिन् । 

तर, आइतबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै गर्दा भने उनले आँसु झारेर बिदा भइन् । मन्त्री पदमा रहँदा केही विषयमा विवादित त केहीमा चर्चित पात्रका रूपमा देखा परेकी झाँक्रीले नीतिगत कुरामा सुधार गर्ने प्रयास गरिन् । यद्यपि ८ महिना २० दिनको कार्यकालमा उनले नियम कानुनलाई पूर्णता दिन भने पाएकी छैनन् । 

पूर्वमन्त्री झाँक्रीले गत असोजमा मन्त्री भएपछि माघमा १०० दिनको उपलब्धि सार्वजनिक गरेकी थिइन् । उनले १०० दिनको उपलब्धि घोषण गर्दै गर्दा आफू फिल्डमा देखिनेभन्दा पेपरमा बढी केन्द्रित भएर काम गरेको बताएकी थिइन् ।

हाल उनले सहरी विकास नीति मन्त्रिपरिषद् तथा संसदमा पेस गर्ने अवस्थामा पुर्याएकी छन् । त्यस्तै युटिलीटी कोरिडोरको छुट्टै ऐनका लागि ड्राफ्ट तयार गरेकी छन् । साथै बागमती सभ्यता संरक्षण ऐन निर्माणको लागि कानुन तथा न्याय मन्त्रालयमा पठाएकी थिइन् भने सहरी विकास पूर्वाधार विकास निगम ऐन कानुन मन्त्रालयबाट स्वीकृत भइ अर्थ मन्त्रालयमा पुगेको छ । 

त्यसबाहेक मन्त्रालयको जिम्मेवारी सम्हालेको सुरुमा उनी केही आलोचित त केही भनाइको कारण चर्चितसमेत बन्न पुगिन् । गत पुसमा उनी पिर्के सलामी खाएको विषयले आलोचित बनेकी थिइन् । आफू मन्त्री बन्नु अघि पिर्के सलामीको विरोध गर्दै आएकी झाँक्रीले सहरी विकासमन्त्री बनेपछि गृह जिल्ला गुल्मीमा पिर्के सलामी खाएको विषयले उनको आलोचनासमेत भएको थियो । 

त्यस्तै इन्जिनियरहरुले ढलको बिर्को राम्रोसँग नबनाएको भन्दै भाषण गर्दा पनि उनी आलोचनासँगै चर्चाको पात्र बनेकी थिइन् । उनले गत पुसमै ढलको बिर्को राम्रोसँग नबनाउँदा स्कुटर तथा अन्य साना सवारी साधनमा हिँड्नेलाई समस्या भएको बताएकी थिइन् ।  

त्यसबाहेक धोबीखोला कोरिडोरको नियमित अनुगमनमा निस्किएर काममा सक्रियता देखाएकि थिइन् भने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हाल निर्माणको अन्तिम चरणमा पुगेको नुवाकोटस्थित बन्चरेडाँडा ल्यायडफिल साइड सञ्चालनमा आएको छ । 

आइतबार मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्रालयका निमित्त सचिव पदमराज मैनालीले पनि पूर्वमन्त्री झाँक्रीलाई जुझारु मन्त्रीको रूपमा लिएका छन् । 
 

आइतबार​ १२ असार २०७९ ०९:५४ PM मा प्रकाशित

प्रतिक्रिया