काठमाडौं । प्रयोगमा आएको विद्युतीय भुक्तानीले हाम्रो कारोबारको समग्र प्रणालीलाई एकदमै सहज बनाइदिएको छ । तर, यसमा बाँकी रहेका प्राविधिक कमिकमजोरीका कारण प्रयोगकर्ताहरुले अझै दैनिक जसो मर्का खेपिरहेका छन् ।
पछिल्लो समय राष्ट्र बैंकका एक पूर्वकर्मचारी राजनविक्रम थापालाई पनि यस्तै एउटा समस्या आइलाग्यो । उनले आफ्नो मोबाइल बैंकिङ एपबाट फोन पे प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानीको प्रयास गरेका थिए ।
तब दुई पटक प्रयास गर्दा उनको खाताबाट दुवै पटक पैसा काटिए पनि पठाएको व्यक्तिको खातामा कारोबार गरे बापतको रकम आए नआएको केही विवरण देखिएन । पछि आफूले सम्बन्धित संस्थामा सम्पर्क गरी गुनासो गरेपछि रकम खातामा फिर्ता आएको उनले बताए ।
कीर्तिपुरमा कपडा व्यवसाय गर्दै आइरहेका किरण खड्काले पनि फोन पे सार्वजनिक भएलगत्तै क्युआर सेवा लिन थाले । क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो हुने देखेपछि सुरुमा त उनी उत्साहित थिए । पछि क्युआरका कारण धेरै कारोबार बिग्रिन थाल्यो ।
‘एकजनाले कपडा किनेर क्युआर कोड स्क्यान गरी मेरो खातामा पैसा पठायो । उसको खातामा काटेको देखियो आउँछ होला भनी म ढुक्क परेँ तर त्यो पैसा आएन,’ किरण भन्छन् । यसरी विद्युतीय भुक्तानी प्रणालीबाट कारोबार गर्दा आफू धेरैपटक ठगिएको उनको गुनासो छ ।
एकपटक एकजना ग्राहकले सामान खरिद गरी दोहोर्याएर पैसा पठाउँदा पनि आफ्नो खातामा नआएको घर पुगेपछि दोहोर्याएर नै रकम आफ्नो खातामा जम्मा भएको उनले सुनाए ।
यसरी आर्थिक कारोबार जस्तो संवेदनशील कुरामा प्रविधिमाथि ढुक्क पर्न नसक्ने अवस्था आएपछि हाल उनले फोन पेको कोड बार स्ट्याण्ड नै आफ्नो पसलबाट हटाएका छन् । उनीबाहेक कीर्तिपुरमा धेरै पसलहरुले अहिले क्युआर कोड बार स्ट्याण्ड हटाउन थालेका छन् ।
कारोबारमा देखिने यस्तो समस्या सामान्य बन्न थालेपछि आजित भएर आफूहरुले यति लाभदायिक सेवा हटाउन बाध्य भएको उनीहरु बताउँछन् ।
‘यस्तो समस्या सधैं भइरहन्छ, कहिले पैसा एकदमै ढिलो आउने जाने हुन्छ, कहिले तीन चार दिनपछि आफूले पठाएको पैसा आफ्नै खातामा रिभर्स भएर आउने गर्छ । सम्पर्क गरेर सोध्यो भने हामी हेर्छौं भनेर पठाइदिन्छ नत्र त पैसा यतिकै अड्किरहने समस्या पनि भोगेका छौं,’ किरण भन्छन् ।
भुक्तानी सेवा प्रदायकहरुसँग यस समस्याका बारेमा प्रश्न गर्दा प्रविधिगत त्रूटि भनेर सामान्यीकरण गरिदिन्छन । कतिपय सेवाप्रदायकहरु स्लो इन्टरनेटलाई पनि कारक मान्ने गर्छन् ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल कहिलेकाहीँ भुक्तानीमा समस्या देखिने गरेको स्वीकार गर्छन । उनले यसमा सुधारका लागि प्रयास भइरहेको बताए । प्रविधि भएकाले कहिलेकाहीँ समस्या आउने गरेको उनको भनाई छ ।
अर्थतन्त्रको सबैभन्दा तल्लो र महत्वपूर्ण ईकाई रहेका असंगठित खुद्रा व्यापारीहरु यसरी विद्युतीय भुक्तानी सेवाबाट हतोत्साहित हुनु प्रणाली परिदृश्यका लागि चिन्ताजनक विषय भएको जानकारहरु बताउँछन् ।
फिन टेक एपका निर्माणकर्ता कम्पनी स्विफ्ट टेक्नोलोजीका प्रमुख तथा प्राविधिक रघुनाथ भण्डारी भने एपमा समस्या नभई बैंक तथा अन्य सेवाप्रदायकहरुको कस्टमर केयर डिभिजनहरुको हेल्चक्राइका कारण यी समस्याहरु आउने बताउँछन् ।