विराटनगर । भारतको बरौनीबाट इन्धन ल्याइरहेको नेपाल आयल निगम विराटनगर डिपोले खर्च कम लाग्ने भन्दै अहिले सिलिगुढीबाट इन्धन ल्याउन सुरु गरेको छ । भारतको बरौनीबाट इन्धन ल्याउँदा महँगो खर्च हुने र बाटोमा ट्यांकर चालकले गर्ने बदमासी र चोरीका घटनाहरु धेरै भएकाले सिलिगुढीबाट ल्याउन थालेको निगमले जनाएको छ ।
बरौनीबाट आयात कटौती गरेको छ । बरौनीबाट ल्याउनुभन्दा पश्चिम बंगालको सिलिगुढीबाट ढुवानी गर्दा दुरी छोटो हुने र त्यसबाट निगमको ढुवानी खर्च जोगिने भएकाले निगमले भारतको सिलिगुढीबाट डिजेल, पेट्रोल र मटितेलको आयात गर्न थालेको हो ।
बरौनीबाट दैनिक २५ गाडी डिजल र १० देखि १५ गाडी पेट्रोल ल्याउने गरेकोमा असार १८ गतेदेखि बरौनीबाट आयात बन्द गरी सिलिगुढीका लागि मात्र पिडिओ जारी गर्न थालेको थियो ।
ट्यांकर व्यवसायीलाई समस्या
भारतको सिलिगुढीबाट आयात गर्दा अहिले कम ट्यांकर लोड हुने भएकोले ढिलो पालो पर्ने समस्या ढुवानी व्यवसायीहरुलाई परेको छ । बरौनीमा बढी ट्याकर ढुवानी हुन्थ्यो । ट्यांकर पार्किङको पर्याप्त सुविधा नहुँदा काँकडभिट्टामै पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुले बताएका छन् ।
कम इन्धन आपूर्ति भइरहेकाले आवश्यकताअनुसार इन्धन आयात नहुँदा निगमलाई पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो परेको व्यवसायीहरुले बताएका छन् ।
अहिले सिलिगुढीबाट दैनिक सरदर १५ ट्यांकर डिजेल आइरहेको छ । सिलिगुढीस्थित भारतीय आयल कर्पोरेशनले बरौनीले गरेको क्यालिब्रेसन परीक्षणलाई नमान्दा समस्या आएको भए पनि निगमले समन्वय गरिदिएका कारण आन्तरिक चेकजाँचका आधारमा अहिलेसम्म लोड दिइरहेको ढुवानी व्यवसायी धु्रव सिग्देलले जानकारी दिए ।
सिलिगुढीले एड्भाइस् जारी गरेको टेलिफोन नआउन्जेल काँकडभिट्टामै गाडी राख्नुपर्ने समस्या ढुवानी व्यवसायीहरुले झेल्नु परेको सिग्देलले बताए । निगमले भने यसलाई खर्च कटौतीको रुपमा लिएको छ । नजिकैबाट ढुवानी गर्दा वार्षिक रुपमा करोडौं रुपैयाँ खर्च कटौती हुने भएकाले सकेसम्म सिलिगुढीबाटै ढुवानी गर्ने पक्षमा निगम रहेको जनाइएको छ ।
बरौनीबाट भन्दा सिलिगुढीबाट आयात गर्दा झण्डै ५ सय किलोमिटर दूरी छोटो हुन्छ । अर्कोतर्फ सिलिगुढीबाट इन्धन आयात गर्दा बीच बाटोमा ट्यांकर चालकहरुले गर्ने बदमासी र चोरी जस्ता समस्या पनि कम हुने भएकोले निगमले सिलिगुढीबाट ढुवानी गर्ने विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।
नजिकको दुरीबाट ढुवानी गर्दा फाइदा भएपनि आवश्यकता अनुसार इन्धन आयात नहुँदा बजारमा अभाव सिर्जना हुनसक्ने तर्फ सचेत हुँदै निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयले यसै साताबाट हप्तामा २० देखि २५ गाडी इन्धन बरौनीबाट ल्याउन थालेको छ ।