आइतबार​, असोज १० २०७८ ०९:१६ PM

×

म्यानपावर छोडेर कृषिमा लागेका थपलियाको ‘मिट मेकर्स’, भन्छन् -यो क्षेत्रमा लाग्न ढिला भएछ

images

काठमाडौं । राजधानीमा ताजा तरकारी र आफ्नै फार्ममा उत्पादन भएको कालिज, लोकल कुखुरा, कालो कुखुराको मासु खुवाउने उद्देश्यका साथ कालोपुलमा ‘मिट मेकर्स’ सञ्चालनमा आएको छ ।

म्यानपावर व्यवसाय संकटमा परेपछि वैकल्पिक व्यवसायको रुपमा कृषि फार्म सञ्चालन गर्दै आएका गोविन्द थपलियाले काठमाडौंमा  ‘मिट मेकर्स’ सञ्चालनमा ल्याएका हुन् । 

व्यवसायी थपलियाले काभ्रेपलाञ्चोकको तिनपिप्ले नजिकै रहेको ग्रामिण कृषि फार्मममा उत्पादन भएको कालिज, लोकल कुखुरा, टर्की, कालो कुखुरा, ब्रोइलर कुखुराको ताजा मासु र हरियो तरकारीहरु काठमाडौंमा उपलब्ध गराउने उद्देश्यका साथ एक महिनाअघि (असार) बाट कालोपुलमा ‘मिट मेकर्स’ सञ्चालनमा ल्याएका हुन् ।

वैशाखमै सञ्चालन गर्ने उद्धेश्यका साथ करिब १ करोड रुपैयाँ लागतमा तयारी गरिएको भए पनि कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाको कारण सञ्चालनका लागि ढिलाई भएको सञ्चालक थपलियाको भनाइ छ ।

कोसी इन्टरनेसनल सर्भिसेज प्रालि सञ्चालन गर्दै आएका थपलियाले मलेसियाको रोजगारी बन्द भएसँगै कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । एउटै मात्र पेशामा आबद्ध हुँदा समस्या पर्ने देखेपछि रोजाईमा कृषि परेको उनी बताउँछन् ।

करिब २० करोड रुपैयाँ लागतमा कृषि फार्म सञ्चालन गरेका थपलियाले काठमाडौं उपत्यकाबासीलाई सस्तो र ताजा मासु,तरकारी पस्कने उद्धेश्यका साथ ‘मिट मेकर्स’ सञ्चालनमा ल्याएको बताउछन् । थपलियाले ५४ रोपनी जमिनमा विभिन्न संरचना निर्माण गरी पशुपन्छी पालिरहेका छन । उनको तरकारी खेती भने एक सय रोपनीभन्दा बढी जमिनमा फैलिएको छ ।

बजारमा प्रतिस्पर्धा गर्नुभन्दा फ्रेस तरकारी र मासु खुवाउने उद्धेश्यका साथ ‘मिट मेकर्स’ सञ्चालन भइरहेको उनको भनाई छ । ‘मिट मेकर्स’ लाई विस्तार गरी यसै वर्ष काठमाडौं उपत्यका भित्र ३ वटा आउटलेट सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । कोरोना भाइरसको असरलाई मध्यनजर गरि अवस्था सामान्य भएमा यसै वर्ष भित्र ललितपुरको पाटन र टोखाको ग्राण्डी क्षेत्रमा आउटलेट सञ्चालन हुने उनको भनाई छ ।

कोभिड-१९ लाई मध्यनजर गरी ‘मिट मेकर्स’ले अनलाइन डेलिभरीसमेत सुरु गरेको छ । काठमाडौं उपत्यका भित्र १ हजार भन्दा माथिको मूल्यमा मासु वा तरकारी अर्डर गर्नेहरुलाई निःशुल्क होमडेलिभरी गरिरहेको समेत उनले बताए ।

पछिल्लो समय मासु र तरकारीको माग बढिरहेको बताए । रासयनिक मल प्रयोग नगरी उत्पादन गरेको तरकारी र ताजा मासु पाइने भएकोले पनि धेरैको रोजाईमा ‘मिट मेकर्स’ पर्न थालेको उनको भनाइ छ ।

अहिले ‘मिट मेकर्स’मा उनको फार्मबाट र अपुग भएको अवस्थामा त्यस्तै प्रकृतिका फार्मबाट तरकारी र मासुरुहरु उपलब्ध गराउदै आएको बताइएको छ । 

कृषि कर्ममा लागेका थपलियाले महामारी र संकटको बेला सबैभन्दा भरपर्दो व्यवसाय यो क्षेत्र भएको बताउछन् । कृषिलाई व्यवसायिक बनाउँदै आधुनीकरणमा लागेका थपलिया भन्छन्,‘यो क्षेत्रमा लाग्न ढिला भएछ ।’
 

बिहीबार १४ साउन २०७८ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया