काठमाडौं । ‘साङ्ग्रिला डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
साङ्ग्रिला बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब साङ्ग्रिला बैङ्कका ग्राहकले उक्त बैङ्कको मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् । साथै, असार मसान्तभित्र बैङ्कका ८५ ओटै शाखाका काउन्टरबाट डिपोजिट फर्म भरेर खल्तीमा पैसा लोड गर्न सकिनेछ । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ ।
सम्झौताका बारेमा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले प्रविधिको प्रयोग गरेर मानिसका विभिन्न बैङ्किङ तथा वित्तीय समस्या समाधान गर्न खोजिएको बताए । ‘खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकमाझ खल्तीको सजिलो मोबाइल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ,’ उनले भने ।
कार्यक्रममा खल्तीका निर्देशक ध्रुव अधिकारीले साङ्ग्रिला बैङ्कसँग यो सम्झौता गर्न पाउँदा आफू उत्साहित भएको बताए । ‘अब साङ्ग्रिला बैङ्कका ग्राहकले बैङ्कबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन,’ यनले भने, ‘उहाँहरुले बैङ्कबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।’
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी तथा अन्य दैनिक खरिद गरिने वस्तु तथा सेवाको शुल्क तिर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताको सङ्ख्या ८ लाखभन्दा बढि भएको बताइएको छ ।