काठमाडौं । महानगरीय अपराध महाशाखाले बैङ्किङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैङ्किङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ ।
महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैङ्किङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिनुभयो । महाशाखाले बैङ्किङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।
यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ । बैङ्किङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो । जसमा १११ रहेका छन् ।
साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन् । रासस