काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क लगाएको छ । महानगरअन्र्तगत विभिन्न सहरी क्षेत्र र मध्य क्षेत्रका सार्वजनिक सडक तथा बाटोमा दुइ पाङ्ग्रे, चार पाङ्ग्रे र चार पाङ्ग्रेभन्दा बढिका सवारीका लागि फरक फरक शुल्क लगाएको हो ।
महानगरपालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको हो ।
जसअन्र्तगत, क्षेत्र नम्वर १ अन्र्तगत न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरीक्षेत्र(त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर) मध्य भागका सार्वजनिक बाटो लगायतका स्थानहरुमा दुइ पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २५ रुपैया र चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा ८० रुपैयाँ शुल्क लगाइएको हो ।
त्यस्तै, क्षेत्र नम्वर १ बाहेक अन्य क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएको पार्किङ स्थानमा दुइ पाङ्ग्रे सवारीका लागि १५ रुपैयाँ, चार पाङ्ग्रेका लागि ४० रुपैयाँ र चार पाङ्ग्रे भन्दा बढिका सवारीका लागि १०० रुपैयाँ शुल्क असुल गर्ने भएको छ । निजी क्षेत्रबाट निजी घर, जग्गामा महानगरपालिकाबाट अनुमति लिइ व्यवसाय दर्ता गरी शसुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।
एकै स्थानमा धेरै सवारी पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई भने व्यवसायमा लाग्ने करमा ५ बर्षसम्म सतप्रतिशत छुट प्रदान गरिएको छ । महानगरले आफै वा निजीक्षेत्रको सहयोगमा आधुनिक पार्किङ स्थलको व्यवस्था गर्नेछ । सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेध क्षेत्र महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्ने जनाइएको छ ।
अनाधिकृत स्थलमा पार्किङ गर्ने सवारी साधनका लागि महानगरले पटके जरिवाना गर्नेछ । जसमा मोटरसाइकलतर्फ १०००, तिन पाङ्ग्रे सवारी साधनमा २०००( १००० सीसी सम्मका लागि २५००, १००० सीसीदेखि १५०० सीसीसम्मका लागि ५०००, १५०० सीसी देखि २२०० सीसी सम्मका लागि ७००० र २२०० देखि माथिका सीसीका सवारीका लागि १००००) रुपैयाँ जरिवाना असुल गर्ने जनाइएको ।