काठमाडौं । पाकिस्तानको हबिब बैङ्क र बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेसन ग्रुप (सीडीसी) बीच हिमालयन बैङ्कको संस्थापक (प्रमोटर) सेयर खरिदबिक्री मूल्यमा सहमति भएकाे छ ।
हबिबले सीडीसीलाई प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्य अनुसार २८० रुपैयाँ दिने गरी खरिदबिक्रीको सहमति भएको हो । सेयर मूल्यमा सहमति भएपछि हिमालयन बैङ्कको चलअचल सम्पत्तिको दायित्व मूल्याँकन (डीडीए) भइरहेको छ । डीडीए प्रतिवेदन आएपछि औपचारिक रुपमा दुई बैङ्कबीच हिमालयनको सेयर किनबेच सम्झौता हुने स्रोतले बतायो ।
हबिब र सीडीसीबीच हिमालयको २० प्रतिशत स्वामित्व खरिदबिक्रीमा सहमति भइसकेको छ । हिमालयनको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता ५५२ रुपैयाँ छ ।
सहमतिअनुसार सीडीसीले हिमालयनमा रहेको हबिबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता सेयर किन्ने सहमति गरेको छ । प्रतिकित्ता २८० रुपैयाँलाई मान्दा सीडीसीले २० प्रतिशत स्वामित्व ४ अर्ब ७७ करोड १३ लाख ४३ हजार रुपैयाँमा बिक्री गर्नेछ ।
बेलायतको सीडीसीले हबिबको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो । प्रक्रिया धेरै अघि बढेकाले हबिब बाहिरिने र सीडीसी भित्रिने सहमति भइसकेको स्रोतको भनाई छ । हबिबले नेपालमा मात्र हैन अन्य मुलुकका बैङ्कमा भएको स्वामित्व समेत बिक्री गरिसकेको छ ।
याे पनि हेर्नुहाेस् हिमालयन बैङ्कमा कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशनको प्रवेश हुँदै, छलफल सहमति नजिक
यता सीडीसीले गत फागुनमा एनएमबी बैङ्कलाई १ अर्ब ५० करोड रुपैयाँ ऋण दिने सम्झौता गरेको छ । सीडीसी बेलायत सरकारको पूर्ण स्वामित्वको बैङ्क हो । सीडीसीले विभिन्न मुलुकलाई ऋण दिदै आएको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा हिमालयनले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुदनाफा गरेको छ । यसमध्ये १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिएको छ । हिमालयनको पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ ।