काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाडौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
‘मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भैरहेको अवस्थामा दिनहुँ व्यापार घाटा चुलिँदै गएको विदितै छ । मुलुकको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । चुलिँदै गइरहेको व्यापार घाटा न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापलाई तीव्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्त्वपूर्ण हुनेमा दुई मत छैन । यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्रसहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको हो,’ चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिने एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । ‘झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं,’ श्रेष्ठले भने ।
‘निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ,’ चेम्बर अफ कमर्शका मेला समिति संयोजक राष्ट्रभूषण चाकुबजीले भने ।
यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।
विगत वर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।
‘यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेला को व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ,’ मेलाको व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले भने ।
मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जसमा ९० ओटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरुमा उत्पादित सामग्री एक्स्पोमा रहने छन् ।