बाँके । राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताए। उनकाअनुसार, शनिबार बिहानदेखि नदीको बहाव बढेको हो । आवागमन बन्द हुँदा वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम नेपालगञ्ज जाने यात्रु समस्यामा परेका छन् ।
आवागमन बन्द हुँदा बिरामी, अशक्तलाई बढी समस्या हुने गरेको छ । भम्का र अमुवागाउँमा स्वास्थ्य संस्था नभएकाले नदीमा पानीको बहाव नघट्दासम्म उपचार पाउनबाट समेत सर्वसाधारण वञ्चित भएको खुनाको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट हुनसक्ने जोखिमको अनुमान गर्दै स्थानीय प्रहरी, रेडक्रसलगायत निकाय पूर्वतयारीमा जुटेको बताए ।
उनले भम्का र अमुवागाउँका बासिन्दा वर्षौँदेखि राप्ती नदीमा आउने बाढीबाट पीडित हुँदै आएकाले पुल निर्माणको प्रक्रिया अघि बढाइएको बताए । पुलको ठेक्का भइसकेकाले छिट्टै भम्का र अमुवागाउँका बासिन्दाको दुःख अन्त्य हुने उल्लेख गरे ।
राप्तीमा पानीको बहाव बढ्दो
राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’ पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो । शनिबार दिउँसो ३ः३० बजे नदीको सतहले ‘खतराको विन्दु’ पार गरेको हो । राप्ती नदीको कुुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका संयोजक गौरी बुढाथोकीले रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार, राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् ।
भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् । रासस