काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा रहेको ३५ प्रतिशत स्वामित्व बिक्री गर्न लागेको छ । केन्द्रीय बैङ्कले नेप्सेमा रहेको १७ लाख २९ हजार ९८९ कित्ता सेयर बिक्री गर्नका लागि संगठित संस्थाबाट खरिदका लागि प्रस्ताव आब्हान गरेको छ ।
न्युनतम मूल्य प्रतिकित्ता १ हजार ३२ रुपैयाँ तोकिएको केन्द्रीय बैङकले जनाएको छ । नेप्सेको चल अचल सम्पत्ति, दायित्व मूल्याँकन (डीडीए) का आधारमा यो मूल्य तोकिएको वित्त व्यवस्थापन विभागले जनाएको छ । बेच्न लागेको सेयरको न्युनतम मूल्यन नै १ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ हुने छ । न्युनतम भन्दा बढी दर प्रस्ताव गर्नेले पाउने छ ।
बैङक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी, सुचिकृत संगठित संस्थाले नेप्सेको सेयर खरिद गर्न पाउने भएका हुन । सेयर खरिदको प्रस्ताव पेश गर्ने अन्तिम दिन भदौ २ गते तोकिएको छ ।
गत पुस २९ मा भएको नेप्सेको ३७ औं वाषिक साधारणसभाले पुँजी बढाएर ५० करोड रुपैयाँ पुर्याएको छ । सोही निर्णयअनुसार नेप्सेले ६६.६७ प्रतिशतका दरले बोनस सेयर जारी गरेको थियो ।
नेप्सेमा सरकारको बहुमत स्वामित्व अर्थात ५८ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैङ्कको ६ प्रतिशत स्वामित्व छ । केही प्रतिशत वित्त कम्पनी र धितोपत्र व्यवसायीको छ । नेपाल राष्ट्र बैङ्क ऐनले १० प्रतिशत भन्दा बढी स्वामित्व ग्रहण गर्न नपाइने व्यवस्था गरेपछि उसले स्वामित्व बिक्री गर्न लागेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैङ्कले आफनो लगानी बिक्री गर्दै जाने नीति लिएको छ । राष्ट्र बैङ्ककले नेप्से, बीमा संस्थान र रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडलगायतमा भएको स्वामित्व बिक्री गर्न लागेको छ ।