काठमाडौं । यो आर्थिक वर्ष सम्पन्न नभएका ८ जलविद्युत् आयोजनाले आउँदो असोजसम्म बिजुली उत्पादन गर्ने भएका छन् । यो वर्ष सम्पन्न हुने भनिएका कुलेखानी तेस्रोलगायत निजी क्षेत्रका गरी ८ ओटा आयोजनाबाट १०२ मेगावाट बिजुली आगामी असोजसम्म थप हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
सबै आयोजनाले निर्माण सकेर साउनभित्र परीक्षण विद्युत् उत्पादन सुरु गर्ने प्रतिवद्धता जनाएको अधिकारीले जानकारी दिए । उनका अनुसार असारसम्म सम्पन्न हुनुपर्ने आयोजनामा प्राविधिक कारणले केही ढिलाइ हुन गएको हो ।
विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानीको काम अन्तिम चरणमा पुगेको र साउनदेखि परीक्षण रुपमा विद्युत उत्पादन गर्ने भएको छ । यस्तै निजी क्षेत्रबाट निर्माण भएको २२ मेगावाटको तल्लो हेवाखोला आयोजना संरचनागत कारणले ढिलाइ भएकाले साउनदेखि नै परीक्षण उत्पादन थाल्ने जानकारी गराएको छ ।
साउनभित्र परीक्षण उत्पादन गर्नेमा २० मेगावाटको तल्लो मोदी, १ मेगावाटको तल्लो छोटेखोला, २५ मेगावाटको कावेली बी १, ९.९ मेगावाटको इवाखोला, ३.२ मेगावाटको गेलुनखोला, र ७ मेगावाटको माथिल्लो मार्दी जलविद्युत् आयोजना छन् । निजी क्षेत्रबाट ८८ र प्राधिकरणको १४ मेगावाट रहेका छन् ।
चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट ९ जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा १०८ मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली र बाँकी ४८ मेगावाट निजी क्षेत्रबाट थप भएको हो ।
निजी क्षेत्रबाट ८.८ मेगावाटको रुदी खोला 'ए', २२ मेगावाटको वाग्मती साना जलविद्युत आयोजना, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला, ९६ किलोवाटको विष्णु प्रिया सोलार फार्म, १० किलोवाटको मिदिमखोला र ३.३ मेगावाटको कापीगाड जलविद्युत् आयोजना सम्पन्न भएको प्राधिकरणका अधिकारीले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा २८५ मेगावाट बिजुली थप उत्पादन गर्ने लक्ष्य लिएकोमा धेरै कम मात्र थप भएको छ । लक्ष्यमा रहेका अधिकाँश निजी क्षेत्रका आयोजना सम्पन्न नभएपछि पुरा नभएको अधिकारीले बताए ।